अँध्यारोमा उज्यालो खोजिरहेका प्रकाश

0
3

धन्यवाद ! विद्या चापागाँई लगायत हेर्ने कथा टीमलाई । झण्डै ३०–३५ वर्षदेखि परिवारसँग र आफैंसँग हराएर गुमनाम जीवन बाँचिरहेका प्रकाश तामाङको बारेमा भिडियो सार्वजनिक गरी दिनुभयो र सबैलाई जानकारी गराइ दिनुभयो । अथक प्रयास र दृढताका साथ तयार पारिएको यो ‘कथा’ केबल कथा मात्र नभएर एउटा सत्कर्मको ठूलो उदाहरण पनि हो । म हृदयदेखि प्रशंसा गर्न चाहन्छु यो कार्यको लागि । अत्यन्त खुशीको कुरा हो प्रकाशलाई उनको परिवारसँग पुनर्मिलन गराई दिनुभयो ।

प्रकाश र उनको परिवारमा मात्र यो खुशी सीमित रहेन कि म र म जस्तै जति पनि व्यक्तिहरुले यो कथा हेर्नुभएको छ सबैमा खुशी छाएको छ । सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूले पनि यो कथा हेरेर आफ्नो प्रतिक्रिया र नागरिकता प्राप्तीका लागि आवश्यक निर्देशन दिइसक्नुभएको छ । जुन कुरा उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । पूर्व मन्त्री माननीय सुदन किराँतीले पनि आवश्यक सहयोग गर्नेबारे प्रकाशको बुबासँग फोन संवाद गर्नुभएको कुरा सामाजिक सञ्जालमा आइरहेको छ । यसका साथै विभिन्न पेसामा आवद्ध भोजपुरका युवाहरु संगठित भएर उनलाई घरबास र जीविकोपार्जनका लागि आवश्यक सहयोग गर्नलाई अभियान शुरु गर्ने भन्दै पत्रकार राजेश राईले सक्रियताका साथ समन्वय गरिरहनु भएको छ ।

उता बेलायतमा कर्मथलो बनाएर काम गरिरहनुभएकी समाजसेवी ईशा गुरुङ लगायत बेलायतमै कर्म गरिरहनु भएका अन्य नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरुले पनि सहयोग गर्ने इच्छा जाहेर गरिरहनुभएको छ । आशा छ प्रकाशको कथा हेरेर आँशु झारेका हामी सबैले चाँडै नै भोलिका दिनका उनको प्रगति देखेर खुशीको आँशु झार्न पाउने छौं । मैले पनि दोह¥याई–दोह¥याई हेरँे हेर्ने कथा । अत्यन्त भावुक भएँ र उनको पीडा र भावनामा आफैंलाई अन्तरघुलन गरेर होला, झरिरह्यो आँखाको डीलबाट पीडा र भावनाका थोपाहरु… तप्प तप्प । प्रकाश अब एउटा व्यक्ति र परिवारको मात्र प्रकाश नभएर सबैले चिन्ने र सबैको सरोकारको पात्र भएका छन् । यसर्थ पनि भन्न सकिन्छ, उनले अब पक्कै खुशीका दिनहरु बाँच्न पाउने छन् । तर, यो घटनाले एउटा गम्भीर प्रश्न खडा गरेको छ । उनले भने अनुसार उनी गलैंचा कारखानामा काम गर्दा बाल श्रमिक हटाउने क्रममा उनी पनि बाहिरिए ।

प्रकाशको बालश्रम त हट्यो तर उनी कहाँ गए ? कसैले खोजी गरे कि गरेनन् ? के उनलाई गलैंचा कारखानाबाट हटाइनुको विकल्प अर्को अन्जान ठाउँमा श्रमिक बनाइनु हो ? यसमा सरकार र सम्बन्धित सरोकारवालाले सोच्नु पर्छ कि पर्दैन ? बाल श्रमिक राखिनु हुन्न, बाल श्रममा लगाउनु हुन्न, त्यसमा कुनै दुईमत छैन । तर, कुनै पनि बाल श्रमिकलाई बाल श्रमबाट निकालेपछि उसलाई पारिवारिक पुनर्मिलन, शिक्षा–दीक्षाको लागि सहयोग गर्ने कि जतासुकै जाओस्को स्थिति आउन दिने ? अनुगमन गर्नु पर्दैन ? यदि प्रकाश सोही गलैंचा कारखानामा काम गरिरहेको भए उनी परिवारसँगै सम्पर्कमा हुन्थे । छ महिना या वर्ष दिनमा परिवारसँग भेट हुन्थ्यो होला । परिवारका कोही सदस्य काठमाडौं आएको बेलाउनलाई भेट्न पाउँथे । यतिका वर्ष जसरी उनी गुमनाम भएर जीवन बाँचिरहेका थिए, त्यो अवस्था त हुँदैन थियो कि ? उमेर बढेसँगै सीप र क्षमताविकास भएपछि आफैं स्वरोजगार भएर अझ भनौं, आफैं सञ्चालक भएर अरुलाई पनि रोजगार दिएर कुनै गलैंचा कारखाना पो सञ्चालन गरिरहेका हुन्थे कि ? मैले चिनेका केही व्यक्तिहरु पहिला त्यसैगरी काम गर्थे (तर उनीहरु बाल श्रमिक होइनन्, वयस्क हुन्), पछि आफैं सञ्चालक भएर कारखाना चलाए । यो कुनै कपोकल्पित र भ्रामक विचार होइन र म कुनै पनि हालतमा बाल श्रमको पक्षपोषण गरिरहेको पनि छैन । मेरो एउटै प्रश्न– कुनै विकल्प र योजना बिना प्रकाशलाई कहाँबाट कहाँ पुर्याइयो ? यसको जिम्मेवारी कसले लिने ? प्रकाश त एक प्रतिनिधी पात्र हुन् । आज पनि धेरै प्रकाशहरु अँध्यारोमा प्रकाश (ज्योति) खोजिरहेका होलान् । हराइरहेका ती प्रकाशहरुलाई पनि खोजिनु पर्छ कि ?

अहिले, सरकारलाई सहयोग गर्न धेरै संघ–संस्थाहरुले पनि बालश्रम न्यूनीकरणका लागि काम गरिरहेका छन् । नेपाल सरकारले ‘बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५÷२०८५)’ तयार गरेर काम गरिरहेको छ । यो सुखद् पक्ष हो । नेपालको संविधानले पनि बाल अधिकारको सुनिश्चितताको परिकल्पना गरेको छ । नेपालमा ‘वि.सं. २०८२ सम्ममा सबै प्रकारका बालश्रम निवारण गर्ने’ गुरुयोजनाको लक्ष्य रहेको छ । अर्को एक वर्षमा साँच्चिकै सबै प्रकारका बालश्रम निवारण हुन्छ त ? अहिले हामी कहाँ छौं ? कहाँ पुग्यौं ? पक्कै पनि सरकारले समीक्षा गरिरहेकै हुनुपर्छ ।

घरेलु बालश्रम, बालभरिया, कृषि बालश्रम, बुनाई बालश्रम, यातायात क्षेत्रको बालश्रम, छिमेकी देशमा पु¥याइएका बालश्रम, माग्ने काम गरिरहेका बालश्रम लगायत विभिन्न १७ किसिमका बालश्रम उल्लेख गरिएको छ उक्त गुरुयोजनामा । अब गुरुयोजनाको लक्ष्य प्राप्तीको लागि भन्दै फेरि एक वर्षपछि ती सबै क्षेत्रहरुबाट बालश्रमिकहरुलाई हटाएर लक्ष्य प्राप्त गर्यौं भन्दै उद्घोष त गरिएला, तर अरु धेरै प्रकाशहरु पुनः अँध्यारो र अनकन्टार बाटोतिर नजाउन् । यसतर्फ सरकार र सम्बन्धित सरोकारवालाहरुको ध्यान जरुर गएको हुनुपर्छ ।

दीगो विकास लक्ष्य (सन् २०१६÷२०३०)को आठौं लक्ष्यको सातौं बुँदामा ‘बाध्यकारी श्रम, आधुनिक दासत्व र मानव तस्करी उन्मूलन गर्न तत्कालिक र प्रभावकारी उपायहरु अपनाउने र बाल सैनिकहरुको प्रयोग र भर्ति लगायत सबै प्रकारका बालश्रमलाई सन् २०२५ सम्ममा निषेधित एवम् निर्मुल गर्ने’ लक्ष्य निर्धारण गरिएको छ । यो उत्साहप्रद र खुशीको कुरा हो । तर, वैकल्पिक योजना र अनुगमनको अभाव भयो भने फेरि पनि धेरै प्रकाशहरु अँध्यारोमा हराउन सक्छन् । त्यो अवस्था सृजना हुनुहुन्न ।

प्रकाशको विगत बालश्रमसँग जोडिएकोले यो प्रसँग उल्लेख गरेको हुँ । प्रकाश जस्तै आज धेरै धनबहादुरहरु धन कमाउन परदेशमा पसिना बगाइरहेका छन्, श्रम बेचिरहेका छन्, उनीहरुको बारेमा पनि सरकारले सोच्नु पर्छ । सरकार बनाउने र भत्काउने खेलमा समय व्यतित गर्ने राजनीतिक दलहरुले अब देश बनाउन लाग्नुपर्छ । अँध्यारोमा बाँचिरहेका प्रकाशहरुको जीवनमा अब साँच्चिकै प्रकाश (ज्योति) ल्याउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here