असुरक्षित बन्दै नेपाली चेली

0
9

धेरै नेपाली विद्यार्थीको अध्ययनको मूल गन्तव्य रहेको अमेरिका छोरीहरुका लागि असुरक्षित बन्दै गएको छ । एकपछि अर्को त्यहाँ रहेका नेपाली चेलीको हत्याको घटनाले अमेरिका पठाएका र पठाउन लागेका अभिभावकहरुलाई सोच्न र निर्णय गर्न पनि असहज भएको हुनुपर्छ । अमेरिकामा श्रीमानसँग बस्दै आएकी एक चेलीको हत्या भएको एक महिना नबित्दै अर्की चेलीको पनि हत्या भएको घटनाले सम्पूर्ण नेपालीलाई नै स्तब्ध बनाएको छ । गत सोमबार अमेरिकाका ह्युस्टनमा अर्पाटमेन्टमा बस्दै आएकी मूना पाण्डे नाम गरेकी भोजपुर स्थायी घर भएकी मूना त्यहाँ नर्सिङ विषयमा अध्ययनरत् थिइन् । अपार्टमेन्टमा उनी माथि गोली प्रहार गरिएको थियो । उनीमाथि गोली प्रहार गर्ने व्यक्ति बबी सिंह साह रहेको अनुसन्धानबाट खुलेको छ । हत्यारा साहलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालमा भविष्य नदेखेर लाखौं युवा विदेश पलायन भइरहेका छन् । विदेशमा शिक्षासँगै रोजगारीको अवसर पनि सुनिश्चित हुने आशामा कक्षा १२ पूरा गर्ने बित्तिकै विदेश जान हतारिनुका पछि हाम्रो देशको राजनीति, शिक्षा प्रणाली र अव्यवस्था पनि मुख्य कारण रहेका छन् । शिक्षालयदेखि विश्वविद्यालयसम्मै राजनीतिको खेल मैदान बनाउने परम्परा र शिक्षा प्रणाली त्यसैबाट प्रभावित हुने कारणले निर्धारित समयमा अध्ययन पूरा नहुने भएकाले पनि विद्यार्थी उच्च शिक्षाका लागि अमेरिका, अष्टे«लिया लगायतका सपना देख्न थाल्छन् । आफू अघिका विद्यार्थीले त्यहाँ प्राप्त गरेको सेवासुविधाबाट समेत विदेशलाई अध्ययनको गन्तव्य बनाउन खोज्नु आजका युवाको बाध्यता नै भएको हुनसक्छ ।
त्यस्तै सुन्दर सपना बोकेर सुरक्षित भनिने अमेरिका पुगेकी, त्यहीँ आफ्ना श्रीमानसँग बस्दै आएकी ममता काफ्ले हराएको एक महिना भइसकेको छ । काभ्रेकी ममताले चार वर्षअघि कञ्चनपुरका नरेश भट्टसँग विवाह गरेकी थिइन् । एक नाबालिकाकी आमा समेत भइसकेकी उनको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि उनका पतिले त्यसबारे केही खुलाएका छैनन् । तर, उनको शंकास्पद व्यवहारका कारण र उनैले हत्या गरेर शव लुकाएको आरोपमा अमेरिकन प्रहरीको हिरासतमा छन् । हराएको एक महिना बित्न लाग्दा पनि उनको सास वा लास देख्न नपाएको त्यहाँको नेपाली समाज र सिंगो नेपाल शोकमा छन् नै त्यो भन्दा बढी ममताकी आमा र माइती पक्ष ठूलो पीडामा पनि छन् ।
त्यसो त नेपाली चेलीहरु देशभित्रै पनि सुरक्षित छैनन् । दिनहुँ प्रकाशित र सार्वजनिक भइरहने बलात्कार हिंसा र त्यहाँका घटनाले नेपाली समाज कता जाँदैछ ? सवाल खडा भएको छ । रोजगारीको खोजीमा खाडी मुलुक पुगेका नेपाली चेलीको त्यस्तै दुर्दशा रहेको छ, बन्धक बनाइएको, यौन शोषणमा परेको घटना पनि सामान्य जस्तै लाग्न थालेको अवस्थाले सरकारको भूमिका र उपस्थिति माथि पनि प्रश्न हुने गरेको छ । दौत्य सम्बन्ध रहेका देशहरुमा गएका, पठाइएका युवाहरुको पीडा, गुनासो त्यहाँस्थित दूतावासले सुन्दै नसुन्ने गरेको गुनासो पनि त्यत्तिकै छ । अनि पनि निरुपाय युवा शिक्षा र रोजगारी सँगै पाइने लोभले प्रत्येक दिन दुई हजारको हाराहारीमा विदेशिने गरेका छन् । त्यसैले राज्यले कि उनीहरुको सुरक्षा गर्नुपर्छ कि त स्वदेशमै अवसर र सुविधा उपलब्ध गराउनु पर्छ । अन्यथा यो पीडाको अन्त्य हुने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here