अर्जुनधाराका जनप्रतिनिधिलाई सुझाव

0
9

स्थानीय निकायको निर्वाचन २०७९ सम्पन्न भएको पनि दुई वर्ष पूरा भएर तीन वर्ष लागि सक्यो । तथापि स्थानीय सरकारले जनचाहना अनुसार धेरै स्थानीय तहहरुमा कामहरु नभइरहेको अवस्था कायमै छ । अधिकांश जनप्रतिनिधिहरुमा स्थानीय स्तरमा योजनाहरु कसरी निर्माण गर्ने, के–कस्ता योजना बनाउने, स्थानीय तहमा के–कस्ता कार्यक्रमहरु आवश्यक छन् ? ती कार्यक्रमहरु कार्यान्वयन गरिरहँदा त्यसबाट प्राप्त अल्पकालिन, मध्यकालिन र दीर्घकालिन नकारात्मक र सकारात्मक असरहरु के कस्ता छन् ?

जस्ता सवालको जवाफदेही योग्य जनप्रतिनिधिहरुको पनि अभाव महशुस हुन थालेको छ । हाल कतिपय स्थानीय तहमा भइरहेका कामहरु आवश्यकताको वर्गीकरणका आधारमा नभई पहुँच र सामथ्र्यका आधारमा र आफ्ना कार्यकर्ताको भरणपोषणका निमित्त हुने गरेको पाइन्छ । जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय निकायका योजनाहरु जस्तै गरिबी निवारण, वन संरक्षण, वातावरण संरक्षण, सांस्कृतिक संरक्षण, बजार व्यावस्थापन, कृषि, स्वास्थ्य, शिक्षा,र विज्ञान प्रविधिसँग सम्बन्धित कार्यक्रमहरुले प्राथमिकता नपाउँदा जनप्रतिनिधिहरु प्रति जनविश्वास कम हुँदै गएको महशुस हुन थालेको छ ।
अब हरेक सचेत नागरिक जसले आफ्नो नगरलाई एक सफल र समृद्घताको निमित्त हुटहुटी बोक्नु भएको छ, यस्ता व्यक्तिहरुले संखघोस गर्नुपर्ने बेला आएको छ । परिवर्तनको चाहनालाई आत्मासाथ गर्दै चुनौतिभित्रबाट सम्भावनाको खोजी गरी एक समृद्घ र सफल नगर भावी पुस्तालाई हस्तान्तरण गर्न सकेदेखि उनीहरुले पनि हामीबाट केही गर्नुपर्छ हाम्रो ठाउँमा हामीले नै गर्नुपर्ने रहेछ भन्ने कुरा सिक्ने थिए कि ? तसर्थ, नगरभित्रका हरेक सचेत नागरिकले यस विषयमा गम्भीरतापूर्वक सोच्ने बेला आएको छ ।

झापा जिल्लाको एकमात्र धार्मिक एवम् ऐतिहासिक पर्यटकीय नगरी अर्जुनधारा, जो पूर्वको पशुपतिनाथ नामले समेत परिचित्, अर्जुनधारा नगरपालिका जो सम्भावना नै सम्भावना बोकेको नगर हो । तर, पनि यहाँको विकास र समृद्घिका सपनाहरु हालसम्म पनि प्रायः अधुरा नै छन् । यी सपनाहरुलाई अग्रगति प्रदान गर्न कोषेढुंगा सावित हुने अपेक्षा राखिएको छ ।

१) अर्जुनधारालाई शैक्षिक हवको रुपमा विकास गर्न यस क्षेत्रभित्रका विद्यार्थीहरुलाई अर्जुनधाराभित्रै अध्ययन गर्न प्रेरित गर्ने गरी शैक्षिक योजनाहरु तयार गर्ने । साथै समयानुकुलका प्राविधिक विषय अध्ययनको निमित्त प्राविधिक शिक्षालयहरुको व्यवस्था गर्ने ।

२) अर्जुनधारा अन्तर्गतका कृषकहरुलाई जीविकोपार्जनमुखी कृषि प्रणालीबाट व्यावसायमुखी कृषि प्रणालीमा स्तरोन्नति गर्र्दै देशमा विद्यमान वेरोजगारी र वैदेशिक रोजगारीप्रतिको मोहलाई न्यूनिकरण गर्न कृषि सम्बन्धी तालिम सहुलियत दरमा कृषि ऋण तथा अनुदानको उचित व्यवस्थापन गरी युवाशक्तिलाई व्यावसायिक बनाउने योजना तर्जुमा गर्ने ।

३) अजुनधारा अन्तर्गत बसोबास गरिरहेका पिछडा वर्गमा पर्ने जातजातिहरुको पहिचान गरी उनीहरुको संस्कार, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणका निमित्त अध्ययन गरी निजहरुको जीवनस्तर उकास्न सफल हुने किसिमका योजनाहरु बनाइ कार्यान्वयन गर्ने ।

४) अर्जुनधारा अन्तर्गतका प्राकृतिक सम्पदाहरु जस्तैः जल, जमीन, जंगल, जडिबुटी, र जीवजन्तुहरुको संरक्षणको निमित्त सम्बन्धित विषयविज्ञसँग आवश्यक परामर्श लिई एक बृहत्तर गुरुयोजना निर्माण गर्ने ।
५) अर्जुनधारा नगरपालिकाभित्रका उद्योगहरुमा काम गर्ने कर्मचारी, श्रमिक (मजदुर)हरुको कामको समय र उनीहरुले पाउने पारिश्रमिक नेपाल सरकारले समय–समयमा तोकेको मापदण्ड अनुसार भए–नभएको अनुगमन, मूल्याङ्कन गरी मापदण्ड विपरीत कार्य भए गरेको पाइएमा नीतिगत कारवाहीको व्यावस्था मिलाउने ।

६) अति विपन्न वर्गको हितलाई ध्यानमा राखी जीविकोपार्जनमुखी तालिम, आवश्यक संशाधन तथा उपकरणहरुको उचित व्यवस्थापनका निमित्त स्थानीय सरकारले प्रभावकारी कार्ययोजना तर्जुमा गरी गरिबी निवारणका लागि आवश्यक सहयोग गर्ने ।

७) अर्जुनधारा क्षेत्रभित्रका बजारमा गुणस्तरहीन सामग्रीको बिक्री–वितरणवाट जनजीवनमा पर्न सक्ने नकारात्मक असरलाई न्यूनिकरण गर्न गुणस्तर परीक्षण, बजार अनुगमन जस्ता क्रियाकलापको निमित्त आवश्यक योजना बनाइ कार्यान्वयन गर्ने ।

८) नदीजन्य सामग्रीहरुको ढुवानीको निमित्त नदी किनारामा नै करिडोर निर्माण गरी सोही करिडोरबाट मात्र ढुवानी गर्ने व्यवस्था मिलाउन आवश्यक योजना बनाई कार्यान्वयन गर्ने ।

९) अर्जुनधारा नगरपालिका प्रवेश गर्ने मुख्यद्वारहरु जस्तैः बिर्तामोड, चारपाने, बुधबारे, लक्ष्मीपुर, सुखानी लगायतका स्थानहरुमा अर्जुनधाराको स्पष्ट पहिचान झल्कने दृश्य सामग्रीसहितका होर्डिङ् बोर्डको व्यावस्थापन गर्ने ।

१०) अर्जुनधारा नगरपालिकाको पहिचानको निमित्त अर्जुनधाराभित्रका मोबाइलमा फोन गर्दा वा अर्जुनधाराभित्रका मोबाइलबाट फोन जाँदा फोन रिसिभ गर्नासाथ नमस्ते अर्जुनधारा यहाँहरुलाई अर्जुनधारामा स्वागत छ भन्ने वाक्यांश सुन्न पाउनको निमित्त दूरसञ्चार कार्यालयसँग आवश्यक परामर्श गरी व्यवस्था मिलाउने ।

अर्जुनधारा नगरपालिकाले योजनाहरु निर्माण गर्दा सयौं, हजारौं वर्षपछिसम्मका पुस्ताहरुको पनि फाइदा र बेफाइदाहरुका बारेमा सोचेर योजनाहरु निर्माण गर्नेछ भन्ने लागेको थियो । तर, यस्तो हुन नसकेको यदाकदा झल्को आउन थालेको छ । यसका विविध उदाहरणहरु देखिन थालेका छन् । जसमध्ये भूमिगत सिँचाई पनि एक हो । यसका दीर्घकालिन नकारात्मक असरहरु ज्यादै छन् । जहाँ सतह सिँचाइलाई सहज तरिकाबाट प्रयोग गर्न सकिन्छ, सामान्य लगानीमा नै स्थाई सिँचाइको व्यवस्थापन गर्न सकिन्छ भने भूमिगत सिँचाई किन ? अहिलेसम्म जे भयो जस्तो भयो चलेर आयो तर अब आशा गरौं योजनाहरु निर्माण गर्दा योजनाहरु वर्गीकृत हुने छन् ।

अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाहरु निर्माण हुनेछन् । कार्ययोजनाहरु निर्माण गर्दा विषय विज्ञहरुसँग लामो छलफल हुनेछ । त्यसका नकारात्मक र सकारात्मक परिणामको बारेमा योजना निर्माणकर्ताहरु स्पस्ट हुनुहुनेछ । योजनाहरु प्राथमिकिकरण गरिनेछ र प्राथमिकताका आधारमा अगाडि बढ्ने छन् । आफ्नो कार्यकालमा सम्पन्न हुन नसकेका योजनाहरु जो आफूले शुरु गरेर सम्पन्न हुन लामो समय लाग्ने दीर्घकालीन योजनाहरु आगामी दिनहरुमा पनि सहजरुपमा सञ्चालन हुने छन् । त्यतिखेर हाम्रा भावी पिँढीले पनि गर्वका साथ भन्ने छन्– ‘वाह ! हाम्रा अग्रजहरुले हामीलाई यस्ता कार्यहरु गरिदिएर जानुभएछ । हाम्रा लगि यस्ता सामग्रीहरुको संरक्षण गरिदिनुभएछ । धन्य छन् हाम्रा अग्रजहरु ! जसका कारण आज हाम्रो शिर सगरमाथा झैंं उच्च छ’ भन्ने पूर्ण आशा राखेका छौं । जय अर्जुनधारा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here