सबै धर्म र सस्ंकृतिको आ–आफ्नै महत्व र विशेषताहरु छ । हाम्रो देशमा विभिन्न किसिमका चाडपर्व मनाउने गरिन्छ । त्यसमध्ये एक हो– जितिया पर्व । सनातन धर्ममा तीज र जितिया पर्वको उच्च स्थान छ । तीज पर्व जहाँ श्रीमान्को दिर्घायू र मंगलको लागि लिने चलन छ, त्यही जितिया पर्व छोराहरुको सु–स्वास्थ्य र दिर्घायू जीवनको लागि लिने चलन छ । जितिया पर्वलाई जिउतिया र जिवितपुत्रिका पनि भनिन्छ ।
सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । यो पर्व महिलाहरुको सांस्कृतिक भूमिका र महत्वलाई उजागार गर्ने काम गरेको छ । यो पर्व पितृ पक्षमा मनाइने पर्व पनि हुँदा महिलाहरुले आफ्नो पितृलाई नैवेद चढाउने पनि गर्छन् । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यका लागि नभई नितान्त मातृ वातशल्यको एउटा अद्भुत उदाहरण पनि हो । जितिया पर्वको शुवात कसरी भयो यसको पछाडि पौराणिक कथा यस्तो छ– द्वापर युगमा महाभारतको बेला द्रोर्णाचार्यका पुत्र अश्वस्थामा। अश्वस्थामाबाट पाण्डव पुत्रहरु मारिँदा पुत्र वियोगले व्याकुल भएकी द्रोपदि आफ्ना सखीहरुसहित धौम्य ऋषि कहाँ पुगिन र आफ्नो सन्तान वियोगको पीडा सुनाइन द्रोपदिको पुत्र वियोगमा ऋषि धौम्यले सत्य युगमा भगवान् विष्णुको तपस्या गरी वरदान पाएका सत्यवादी पुरुष जितवानको पूजा आरधाना गर्नाले सन्तानको सु–स्वास्थ्य एवम् दिर्घायू हुने सल्लाह दिए बमोजिम त्यस बेलादेखि जितवानको पूजा गर्ने चलन शुरु भयो ।
युद्धकालमा द्रोर्णाचार्यको मृत्यु भयो, त्यसबेला उनका पुत्र अश्वस्थामा क्रोधित भएर ब्रम्हास्त्र चलाएका थिए । त्यस ब्रम्हास्त्रका कारण अभिमन्युकी पत्नि उत्तराको कोखमा सास लिइरहेको गर्भास्थ शिशुको मृत्यु भएको थियो । तर, भगवान श्री कृष्णले आफ्नो माया र आशीर्वादले उत्तराको गर्भाश्थ शिशुलाई फेरि जीवनदान दिएर जिवित गरी दिएका थिए भनिन्छ जब शिशुको जन्म भयो तब उनको नाम जिवितपुत्रिका राखेका थिए । यसपछि महिलाहरुले आफ्नो सन्तानको लामो आयु र प्राण रक्षाको निमित्त जितिया पर्व राख्न शुरुको गरेको बुझिन्छ ।
जितिया व्रत विशेषगरी नेपालको तराई मधेशका साथै देशभरि बसोबास गर्ने थारु समुदाय, मगही, मैथली, भोजपुरी, अवधि, मधेशीका साथै अन्य जातजातिकाले पनि मनाउने गर्छन् । यो पर्व नेपालसँगै भारतको उत्तर भारत, विहार, झारखण्ड, पश्चिम बंगालको साथै यस मुलका महिला विश्वको जुनसुकै ठाउँमा बस्दा त्यही यो पर्व धुमधामसँग मनाउने गर्छन् । सन्तानको दिर्घ जीवन, सन्तान प्राप्ती तथा पारिवारिक सुख शान्तिका निमित्त यो व्रत महिलाहरुले लिन्छन् । तराई मधेशमा लोकप्रिय रहेको जितिया पर्व हरेक वर्ष अश्विन कृष्ण पक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाउने प्रचलन छ ।
सप्तमीको नहाय खायदेखि यो व्रतको शुरुवात हुन्छ, नहाय खायको अघिल्लो दिन माछ मडुवा भनेर सम्बोधन गर्ने पनि गरिन्छ । शाकाहारीले भने गम्हरी एक प्रकारको धानको खिर भात खाने चलन छ । यसदिन नुनीको साग, कन्दा झिग्नि पनि खाने चलन छ र कोदोको पिठोको रोटी अनिवार्य रुपमा खानु पर्दछ । विधि अनुसार बिहान काग कराउनुभन्दा पहिले नै व्रतालु महिलाले ओढगन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनु पर्छ । व्रतको अघिल्लो दिनमै व्रतालु जलसायमा स्नान गरी घिरौलाको पातमा पिना र तोरीको तेल चढाउनु पर्छ । देवतालाई चढाएको तेलबाट नै आ–आफ्नो शाखा सन्तानलाई पनि तेल लगाउनुपर्छ ।
अष्टमीको दिन जितिया (जिवितपुत्रिका)को माटो वा गाईको गोबरले मूर्ति बनाएर पूजा गरिन्छ, साथै चिल र स्यालको मूर्ति बनाएर पूजा गर्नुपर्छ । पूजा सामग्रीमा विशेषगरी रक्षा धागो, रातो सिन्दुरको टिका, पान ल्वाङ, नभाचिएको चामलको अक्षता काक्रो, भिजेको चना, पान, घिरौलाको पात, श्रृंगारको सामग्रीले विधिपूर्वक कथा सुनेर गीत गाएर पूजा गर्छन् । यस दिन व्रतालु महिलाले कुनै वस्तुलाई काट्नु, भाच्नु हुँदैन । उपवासको बेला व्रतालुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने पनि व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खर जितिया पनि भनिन्छ । यस पर्वको एउटा भनाइ यस प्रकार छ :
जितिया पावून बड भारी
घिया पुताके ढोकि सुतौल्नि
अपने खयलनि भरि थारी
जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार बस्नु पर्दछ । पानीसम्म नखाई निराहार व्रत बस्नु जितियाको पर्वलाई कठिन व्रतको रुपमा चिनिने गरिन्छ । काहीँ यो व्रत ३०, ३२, ३६ घण्टासम्मको पनि हुन्छ । थारु समुदायमा जितिया पर्वलाई विजय अर्थात् जितको रुपमा लिँदै चितवन नवलपरासीका महिलाहरुले तीन दिनसम्म मनाउने चलन छ । भगवान विष्णु, शिव र सूर्यको पूजाआजाका साथै पारम्पारिक नाचगानको साथ मनाउने चलन छ ।
जितियाको कथा :
यस जितिया पर्वको धेरै कथा छ । तर, लोकपिय्र कथा यस्तो छ । प्राचिन समयमा शालिकबहान नाम गरेको एक महाप्रतापी तथा महाधार्मिक राजा थिए । उनकी मसवासी नामकी छोरी थिइन् । उनी हुर्किदै गइन र उमेर पुगेपछि राजाले विवाहको कुरा चलाए, तर राजकुमारीले आफू विवाह नगर्ने बताइन् । छोरीको कुरा सुनेर राजा आश्चर्य चकित भएर उनलाई धेरै सम्झाए, तर मसवासीले मानिनन् । अन्ततः राजाले मसवासीको इच्छा अनुसार राजमहल बाहिर कुटी बनाइदिए तत्पश्चात राजकुमारी त्यही कुटीमा बसेर साधक जीवन बिताउन थालिन् । उनी हरेक दिन सूर्योदयअघि नै नदीमा गई नदीमा नुवाई–धुवाई गरी पूजाआजामा व्यस्त हुन थालिन् ।
संयोगले उनी एकदिन ढिला उठिन् र नदीमा नुवाई आश्र्रम फर्किदा सूर्य उदाइसकेको रहेछ, सूर्यको प्रकाश उनको शरीरमा प्रवेश ग¥यो । सूर्यको तेज प्रभावले उनी गर्भवती भइन् । अविवाहित साधवी छोरी गर्भवती भएको कुराले राजा र जनता चकित परे र रिसले आगो भए, मसवासीले यस कुरामा आफ्नो कुनै दोष नभएको बताइन् । तर, उनको कुरा कसैले सुन्न र बुझ्न सकेनन् । अन्ततः उनी एउटा छोराको आमा बन्न पुगिन् । उनको छोरा सानैदेखि सबै कुरामा अब्बल थिए, त्यही भएर उनको छोराको नाम जितुवा राखियो । जितुवाको साथीहरु उनको क्षमता देखेर डाहा गर्थे । मनमनै अर्नेवा (बुवा नभएका )भनेर जितुवालाई गिज्याउने गर्दथे ।
साथीहरुसँग खेल्दा बुवाको नामको आवश्यकता प¥यो र नाम नहुँदा उनी समस्यामा परे त्यसपछि उनले यो कुरा आमालाई सुनाए धेरै बिन्ति पछि आमाले जितुवालाई बुवाको नाम सूर्य भनेपछि उसले खेलबाट उन्मुक्ति पाए । तर, जितुवालाई आफ्नो बुवा सूर्य भएकोमा विश्वास भएन अन्ततः उनी सूर्यलाई भेट्न यात्रामा निस्किए, उता सूर्यले विचार गरे म कहाँ आएपछि त मेरो तापले जितुवा डढेर भष्म हुन्छ । त्यसकारण सूर्यदेव स्वयम् मनुष्य रुप धारण गरी जितुवालाई दर्शन दिए र सम्झाएर घर फर्काए । यसै क्रममा सूर्यले जितुवालाई आशीर्वाद दिए अबदेखि लोकका कुनै पनि विवाहित महिलाहरुले निष्ठापूर्ण भावभक्तिले जितमहानको पूजा अर्थात् जितिया व्रत गरेमा उनको सन्तान दीर्घायू हुने छन् ।
अर्को कथा भविष्य पुराणमा वर्णन गरे अनुसार कनकावति नगरको मध्य भागस्थित नर्मदा नदीको डिलमा एउटा पाकरीको रुख थियो, सो रुखको फेदमा एउटा स्यालनी र हाँगामा चिल बस्थे । दुबैबीचमा घनिष्ट मित्रता थियो । एकदिन जितिया पर्व मनाउने व्रतालु महिलाहरु नर्मदा नदीमा स्नान गरी सोही रुखमुनि बसेर पर्वको कथा सुनाएका थिए । पर्वको महत्वको सम्बन्धमा सुनेर स्यालनी र चिलले जितिया पर्व मनाउने योजना बनाएर दुबै जना उपवासमा बस्ने निर्णय गरे ।
सोही रात नर्मदा नदीको डिलमा एक व्यपारस्को छोराको दाह संस्कार गरियो । राति स्यालनीलाई मृतकको मासु खाने इच्छा जागो । चिललाई थाहा नदिइ स्यालनी मासु खाएर केही लुकाएर पनि राखी । यो घट्ना चिलले हेरिरहेको थियो, चिल र स्यालनीको मृत्यु भएपछि दुबैको भाष्कर नामक ब्राम्हणको घरमा चिलको शिलावति र स्यालनिको कर्पुरावतिको रुपमा जन्म भयो । जेठी शिलावतिको धनवानको घरमा र कर्पुरावतिको राजपरिवारमा विवाह भयो, जेठी शिलावतिका सात छोरा भए तर कान्छी कर्पुरावतिको छोरा जन्मिँदा पनि क्रमिक रुपमा मृत्युवरण गर्दै गए र सोही कारण दुबै कर्पुरावति र जेठी शिलावतिबीचमा सम्बन्ध चिसिँदै गयो ।
केही समयपश्चात जेठी शिलावतिले पूर्नजन्मको घट्ना कर्पुरावतिलाई सुनाउँदै व्रत भङ्ग गरेका कारणले गर्दा उनका छोराहरु जिवित नरहेको जानकारी गराइन् पछि फेरि उही जितिया व्रत बसेपछि उनीहरुको जीवनमा बहार आयो । यही कारण यो पर्व मन वचन कर्मले बाचुञ्जेलसम्म पर्व खण्डित नहुने गरी नियम निष्ठाको साथमा मनाउन पर्दछ । यस पर्वमा प्रकृतिमा स्थित विभिन्न जनावार चराचुरुंगीको विशेष महत्व छ । गाई, परेवा, काग, हाँस, बाघ, मुसो लगायतको पूजा गरिन्छ । घर परिवार र आफ्नो सन्तानप्रति महिलाहरुको प्रेम, त्याग र समपर्णलाई पनि दर्शाउँछ ।