तेरो नाम जुरेछ काल, कसले राखेछ यो लोकमा
रम्छस् धेर तँ दुष्ट मानिसहरु पारी बढो शोकमा
माया शून्य कठोर छुद्र दिलको कप्टी घमण्डी अझै
लान्छस् मात्र कि लान्छ वीर छ कि क्वै तेरो महाकाल भै ।
ब्रह्माले अघि सृष्टिमा मनुजको आयुष्य पूरा सय
गर्थे भोग रमेर ढुक्क मनले तेरो नमानी भय
कैलेबाट अघोर काल यसरी नानी र आमा हरी
पाइस् यो अधिकार को सित कहाँ ? रोजेर लाने गरी ।
सारा वस्तु चलायमान् जगतका चल्छन् नियममा बसी
मात्रै काल तँ मिच्तछस् विधिहरु लान्छस् नि पाता कसी
तेरा रुप अनेक नाम कति हो ? अल्सर र क्यान्सर पनि
कोरोना कहिले हठात् हृदयमा हान्छस् तँ कालै बनी ।
दुर्घटना निहुँमा छ लानु कहिले जोजो सफा स्वस्थ्य छन्
कैले बन्दुकले लडाइँ निहुँमा विद्यालयै ध्वस्त छन्
पृथ्वी कम्प हुँदा पुरेर घरले लान्छस् दूधे बालक
वर्षाका निहुँमा रचेर पहिरो लान्छस् भुरा पालक ।
मान्छे लागि रहेछ जोड बलले जित्ने तँलाइ भनी
आविष्कार अनेक औषधहरु छेक्ने तँलाइ पनि
जैले मानिसका तँ काल बसमा पर्लास् कुनै वर्षमा
इच्छा मृत्यु भएर मानिस सबै मर्लान् सयौं वर्षमा ।
बिर्तामोड– ५, झापा