चाडपर्वलाई सुरक्षित बनाउने उद्देश्यले झापासहित देशभर सुरक्षा सम्बन्धी विशेष योजना बनाइएको छ । कोशी प्रदेशमा यस अनुसारको योजना तयार भइसकेको कोशी प्रदेशका बरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताएका छन् । चाडपर्वका समय हुनसक्ने चोरी, पकेटमारी, ठगी, लुटपाट, कुटपिट, सवारी दुर्घटना, कालोबजारी, खाद्यवस्तुको कृत्रिम अभाव, गुणस्तरहीन वस्तुको खरिदबिक्री तथा पटाका आयात, बिक्रीवितरण जस्ता अपराधजन्य कार्यहरु न्यूनीकरण तथा नियन्त्रण गर्न प्रदेशभरिका लागि सुरक्षाकर्मी खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चाडपर्वलाई सुरक्षित बनाउने उद्देश्यसहितको विशेष कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख दाहालले यस्तो जानकारी दिएका थिए ।
नेपालीको ठूलो पर्व दशैं शुरु भइसकेको छ । अनेक, दुःख, पीडाका बीच पनि हर्षोल्लासपूर्वक मनाउने सबैको इच्छा हुन्छ, त्यसका लागि बजारमा किनमेल गर्नेहरुको पनि भीडभाड हुन्छ । अन्य समयको तुलनामा मानिसको चहलपहल बढी हुने भएकाले यस्तो बेला अनियमितता बढ्ने र सुरक्षा चुनौती पनि थपिने गरेको छ । आमउपभोक्ता गुणस्तरहीन वस्तुबाट ठगिने र अनपेक्षित मूल्यवृद्धिको मारमा पनि पर्न सक्छन् । त्यही अवस्थालाई मध्यनजर गर्दै प्रहरी प्रशासनले प्रत्येक वर्ष विभिन्न योजना कार्यान्वयन गर्ने गरेको छ । त्यसका लागि यात्रु सहायता कक्षदेखि सादा पोशाकका प्रहरी परिचालन गर्ने गर्ने गरिएको छ ।
मानिसहरुको चहलपहलसँगै वृद्धि हुने आपराधिक क्रियाकलाप र विकृति रोक्न झापामा पनि विशेष तयारी भएको छ । जिल्ला समन्वय समिति, पालिकाका प्रतिनिधि, विपद् व्यवस्थापन कार्यालयका प्रमुख, रेडक्रस सोसाइटी लगायत सरोकारवाला निकायको उपस्थितिमा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जनाएका छन् । सुरक्षा व्यवस्थाको कार्यान्वयन सुरक्षा निकायले गर्ने गरी बाह्र सयभन्दा बढी प्रहरी परिचालन गरिने बताइएको छ । सम्भावित अपराध न्यूनीकरण गर्दै चाडपर्वलाई सुरक्षित, विकृतिरहीत, सभ्य र सुसंस्कृत ढंगले पर्व मनाउनु सबैको कर्तव्य नै हो । आमउपभोक्ता नठगियुन भन्नेतर्फ भने स्थानीय सरकार बढी सजग हुनुपर्छ । त्यसका लागि बजारको अनुगमन तदारुकतापूर्वक गरिनु पर्दछ ।
हाम्रा चाडपर्वहरु सामाजिक सद्भावका पर्याय हुन् । त्यसमा पनि दशैं, तिहार जस्ता पर्वहरु बहुसंख्यक नेपालीको साझा पर्व हुन् । यो पर्व अतिवृष्टिका कारण नेपालीको मन विदीर्ण भएको छ । सयौंको मृत्यु भएको छ, सयौं घरबारविहीन भएका छन्, अझै कति बेपत्ता छन् । यस्तोमा सबैले सबैलाई हातेमालो गरेर दुःखमा पनि सद्भावपूर्ण सहयोग गर्न देवी भगवतीले प्रेरणा प्रदान गरुन् । अत्यन्त पीडामा रहेका नेपालीलाई सुरक्षित रुपले पर्व मनाउने वातावरण तयार होस् ।