नमूना सामुदायिक वनको २५ औं वार्षिक साधारण सभा

0
23

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ र ११स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको २५औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

स्थानीय भूवनेश्वर शिव पाञ्चायन मन्दिरको सभाहलमा समूहका अध्यक्ष जागिरमान राईको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
सभामा समूहका सचिव मोहन चौलागाईंले संस्थाको गत आर्थिक वर्ष ०८०/०८१को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका सदस्य सन्तोष पौडेलले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा लक्ष्मीधाप माछा पोखरी निर्माण तथा ढुङ्गाजाली साथै पोखरीको आउटलेट निर्माण, बिहीबारे बजार क्षेत्रमा दूग्धजन्य बजारीकरण बिक्री केन्द्र भवन निर्माण, बिहीबारे बजारमा दुई कोठे शौचालय तथा लक्ष्मीधाप पूर्व तार घेराबारासहित दुई कोठे शौचालय निर्माण, नमूना सिमसार पर्यापर्यटन प्रबद्र्धन कार्ययोजना–२०८१ निर्माण, समूह अन्र्तगतको विभिन्न क्षेत्रमा वृक्षारोपण, मानव विकास केन्द्र झापा र स्थानीय सुखानी शहीद स्मृति प्रतिष्ठानको सहयोगमा महिलाहरुको लागि सिलाई बुनाई तालिमलगायत रहेका छन् ।

गत आर्थिक वर्षमा ५१ लाख ५० हजार छ सय २१ रुपैयाँ ७५ पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्ष ०८१/०८२को लागि अनुमानित ४८ लाख ६३ हजार पाँच सय रुपैयाँ बराबरको बजेट वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गरेको छ । जसअनुसार गरिबी न्यूनिकरण तथा महिला विकासतर्फ १७ लाख दुई हजार दुई सय २५ रुपैयाँ, वन विकासतर्फ १२ लाख १५ हजार आठ सय ७५ रुपैयाँ, सामाजिक विकासतर्फ १२ लाख १५ हजार आठ सय ७५ रुपैयाँ र प्रशासनिक खर्चतर्फ सात लाख २९ हजार पाँच सय २५ रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी कार्यक्रममा समूहका संस्थापक अध्यक्ष सुदुवा चौधरीसहित सात जना पूर्व अध्यक्षहरुलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा पूर्व अध्यक्षहरु भैरवबहादुर खड्का, यामबहादुर इङनाम, छविलाल भट्टराई(मरणोपरान्त), ज्ञानुराम प्रसाईं(मरणोपरान्त), प्रकाश नेपाल र भानुभक्त श्रेष्ठ रहेका छन् ।

समूहकी सदस्य टंककुमारी संग्रौलाले समूहसँग सम्बन्धित कविता प्रस्तुत गरेको सभामा वडाध्यक्ष भीष्म मिश्र, कनकाई सब डिभिजन वन कार्यालयका कार्यवाहक प्रमुख सुरेशकुमार खनाल, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र प्रसाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए । समूहकी उपाध्यक्ष टीकामाया मैनाली गौतमले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव चौलागाईंले गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here