सोचे जस्तो छैन व्यापार: सीमावर्ती भारतीय बजारमा नेपालीको भीड

0
99

बिर्तामोड।

लामो समयदेखि थलिएको व्यवसाय दशैंको बेला सुध्रिएला भन्ने धेरै झापाली व्यवसायीको अपेक्षा थियो । तर, दशै लागीसक्दा समेत झापाको बजार खासै चल्न सकेका छैनन् ।

यसअघि तीजमा समेत राम्रो व्यवसाय गर्न नसकेका झापाली व्यवसायीले सोह्रश्राद्ध सकिएपछि पनि दशैको व्यापार नभएको गुनासो गरे । तर, सीमावर्ती भारतीय बजारमा भने किनमेल गर्न जाने नेपालीको भीडभाड देख्न सकिन्छ । यहाँका अधिकांश नागरिक दशैंको सामग्री खरिदका लागि सीमवर्ती बजार पानीट्याङ्की, नक्सलवाडी, गलगलिया, दिघलबैंक लगायत जाने गरेका छन् भने केही शिलगढीसम्म पुग्ने गरेका छन् ।

दुई पैसा सस्तोमा सामान पाइने भन्दै झापा, इलाम र मोरङका बासिन्दाले किनमेलका लागि भारतीय बजार नै रोज्ने गरेका छन् । यस समयमा भारतमा उत्पादित खाद्यान्न, लत्ताकपडासहित दैनिक उपभोग्य सामग्री नेपाल अत्यधिक भित्रिने गरेको छ । झापाका मुख्य बजारहरु बिर्तामोड, धुलाबारी, दमक, सुरुङ्गा, शिवसताक्षी, भद्रपुर र काँकरभिट्टा अहिले प्रायः सुनसान छन् । तर, भारतीय बजार खचाखच हुने गरेका छन् ।

नेपालीले भारतीय बजारमा खरिद गरेको सामग्री नेपाल प्रवेश गराउँदा भारतीय प्रहरीले अवरोध गर्ने गरेपनि नेपालीको रोजाई भारतीय बजारमा नै पर्ने गरेको छ । चाडवाडका समयमा वर्षभरि विक्री हुन नसकेका उपभोग्य वस्तु र लत्ताकपडा जसरी पनि बिक्री गर्ने भारतीय व्यवसायीको क्रियाकलापले सीमापारिका बजारमा नेपालीको घुइँचो लाग्नुको मुख्य कारण रहेको बताइएको छ ।

नेपालतिरको तुलनामा सीमावर्ती बजारमा कतिपय सामान सस्तो पाइने भएकाले पनि अधिकांश त्यहीँ पुग्दछन् । त्यसो त बिगतका वर्षमा भन्दा अहिले आर्थिकमन्दीका कारण बजारमा आर्थिक कारोबार घटेको कतिपय व्यापारीहरुको भनाइ छ । बजारमा आर्थिक मन्दी भएपछि साविक मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा दशैंको समयमा पनि कारोबार खासै नबढेको बताइन्छ ।

त्यस्तै भारतको पानीट्याङ्की झापालीका लागि प्रमुख बजार भएको छ । झापाका बजारमा भन्दा पानीट्याङ्कीमा सस्तो पाइने भएकाले झापाली उपभोक्ता पानीट्याङ्कीमा केन्द्रीत बनेका हुन् ।

चाडवाडको समयमा पनि सोचे अनुसारको व्यापार नभएपछि अहिले झापाली व्यवसायी चिन्तित बनेका छन् । तर, भारतीय बजार पानीट्याङ्कीमा भने नेपाली उपभोक्ताको घुइँचो नै लाग्ने गरेको छ । जसका कारण त्यहाँका व्यापारीलाई अहिले सामान बेच्न भ्याइ–नभ्याई छ । खुल्ला सीमाना र सहज रुपमै भारतीय बजारबाट सामग्री आयात गर्न सकिने भएकाले नेपाली उपभोक्ता सामान खरिदका लागि भारत केन्द्रीत भएका हुन् ।

सटहीमा मालामाल

भारतीय बजारमा सामग्री खरिदका लागि कतिपयले यतै भारतीय रुपैयाँ साटेर लाने गरेका छन् ।

तर, कतिपयले भारतीय बजारमा नेपाली रुपैयाँ दिएर सामग्री खरिद गर्छन् ।

भारतमा भारु साट्दा ठगिने डरले काँकरभिट्टामा खुलेका सटही काउण्टरमा भारतीय रुपैयाँ साट्दा सटही काउण्टरमा कारोवार बढेको हो ।

जसका कारण उनीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरेको छ । सटही काउण्टरले आफू खुशी सटही मूल्य लिँदा भारतीय रुपैयाँ सटही गर्ने प्रत्यक्ष मारमा पर्ने गरेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here