झापा ।
नेपाल प्रहरीले ६९ औँ प्रहरी दिवस आज विविध कार्यक्रमका साथ मनाएको छ । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय झापामा झापा प्रहरीले विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्दै प्रहरी दिवस मनाएको हो ।
अमर प्रहरीप्रति श्रद्धाञ्जली, अमर प्रहरीका आश्रित परिवारहरूलाई सम्मान, उत्कृष्ट कर्मचारीलाई पुरस्कृत, रक्तदान, विभिन्न खेलकुदमा विजयी खेलाडीहरुलाई पुरस्कार प्रदानसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहुने व्यक्तिहरुलाई सम्मान गर्दै प्रहरी दिवस मनाएको हो ।
यसवर्षको उत्कृष्ट प्रहरी कर्मचारीकरुपमा प्रहरी निरीक्षक सन्तोष राई र प्रहरी सहायक हवाल्दार उत्तम कटवालाई पुरस्कृत गरियो । कार्यक्रमका अध्यक्ष जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले पुरस्कार प्रदान गरेका थिए ।
बिसंं २०१२ साल असोज ३० गते अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण र समाजमा शान्ति सुरक्षा व्यवस्था गर्ने जस्ता गहन जिम्मेवारी बहन गर्ने उद्धेश्यले प्रहरी ऐन, २०१२ जारी भए पश्चात विधिवतरुपमा नेपाल प्रहरीको स्थापना भएको दिनलाई स्मरण गदैं प्रहरी दिवस मनाईने गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।
सोही अवसरमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई दोसल्ला पहिर्याएर सम्मान पत्र, कदर पत्र प्रदान प्रदान गरिएको थियो । झापा जिल्ला प्रहरी श्रीमती संघका अध्यक्ष इन्दा थापाले सवैलाई दोसल्ला पहिर्याएर सम्मान गरेकी थिइन् ।
पाथीभरा जवान शिक्षालय पाडाजुँगी झापाका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेश उप्रेतीले ८५ वर्ष माथिका ज्येष्ठ पूर्व प्रहरी कर्मचारी हिक्मतबहादुर लामालाई दोसल्ला पहिर्याएर सम्मान पत्र प्रदान गरे ।
यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट प्राप्त कदर पत्र कन्काई नगरपालिका—३ का स्वर्गीय पुर्णबहादुर लिम्बूका छोरा पूर्वप्रहरी सहायक निरीक्षक अमरबहादुर लिम्बूलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले प्रदान गरे। लिम्बूले प्रहरी चौकी थेचुम्बु ताप्लेजुङको भवन निर्माणका लागि निः शुल्क जग्गा प्रदान गरेका थिए ।
कार्यक्रममा ६९ औँ प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय झापाले आयोजना गरेको ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल तथा पुरस्कार प्रदान गरे। ब्याडमिन्टतर्फ प्रथम प्रहरी जवान नुदन राई प्रहरी जवान बिजय थुलुङ तथा भलिबलतर्फका विजयी खेलाडी प्रहरी हवाल्दार आयुस राई, प्रहरी जवानहरु नुदन राई, राजकुमार सुनुवार, तेन्जेवा भोटे, रामकृष्ण बाठामगर, सुरेश विकलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बास्तोलाले प्रमाण पत्र, मेडल तथा पुरस्कार प्रदान गरे ।
कार्यक्रममा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्तिनाथ पौडेललाई नेपाल प्रहरीले सम्मान गरेको छ । सामुदायिक सेवा केन्द्र चन्द्रगढी झापाका सचिव खड्गबहादुर बुढाथोकी, साना हात नेपालका अध्यक्ष विक्रम वाग्ले, मानव अधिकारका लागि एकल महिलाका जिल्ला समितिका अध्यक्ष रेखा अधिकारी, इष्ट होराइजन अग्रेजी माविका प्रिन्सिपल सन्दिप राई, वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओली लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सोही दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटि झापा शाखाको प्राविधि सहयोगमा रक्तदान कार्यक्रम समेत भएको थियो । रक्तदानमा १५ जनाले रगत दिइएका थिए । संकलित रगत नेपाल रेडक्रस सोसाईटि झापा शाखालाई हस्तान्तरण गरियो ।
कार्यक्रममा प्रजिअ बास्तोला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति झापाकातर्फबाट मदनगोपाल सुब्बालगायतले बोलेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले स्वागतसहित संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवंरबाट प्रहरी दिवसका अवसरमा दिएको शुभकामना सन्देश बाचन गरेका थिए ।
कार्यक्रमका अध्यक्ष जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले धन्यवाद ज्ञापनसहित प्रहरीको काम कर्तव्य र अधिकारकाका विषयमा स्पष्ट पारेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले गरेकी थिइन् ।