कक्षा १२ को मौका परीक्षामा अङ्ग्रेजीमा धेरै अनुत्तीर्ण

0
106
भक्तपुर,
 राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को मौका परीक्षामा सबैभन्दा बढी अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको आज सार्वजनिक नतिजाअनुसार ५७ हजार ६ सय ९० जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएकामा १७ हजार नौ सय ४२ जना अनुत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
यस्तै, लेखा विषयमा २४ हजारले परीक्षा दिएकामा आठ हजार तीन सय १५ विद्यार्थी अनुत्तीर्ण भएका छन् । मौका परीक्षामा सहभागी भएर पनि ३७ हजार १७ जनाले नतिजा सुधार गर्न नसकेको बोर्डले जनाएको छ ।
कुल एक लाख २२ हजार एक सय ७१ जनाले परीक्षा दिएकामा ८६ हजार दुई सय ४६ जना अर्थात् ७० दशमलव ६० प्रतिशत उत्तीर्ण भएकामध्ये अनिवार्य गणितमा ४५, फिजिक्समा दुई, लेखामा १०, ऐच्छिक गणितमा एक, कम्प्युटर साइन्समा दुई र केमेस्ट्रीमा एकजना गरी कूल ६१ जनाले मात्रै ‘ए प्लस’ ल्याएका छन् ।
बोर्डका अनुसार ‘ए प्लस’ ल्याउने ६१, ‘ए’ ल्याउने ७५१, ‘बी प्लस’ ल्याउने दुई हजार नौ सय ८६, ‘बी’ मात्रै ल्याउने ११ हजार ४९, ‘सी प्लस’ ल्याउने २३ हजार ६ सय ८८ र ‘सी ग्रेड’ ल्याउने ४३ हजार सात सय चार, ‘डी’ ल्याउने ३९ हजार नौ सय ३२ जना छन् ।
मौका परीक्षामा पनि फेल भएकाहरूले भने आगामी नियमित परीक्षामा सहभागी हुनुपर्नेछ । मौका परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुले भने यसै शैक्षिक सत्रमा भर्ना भएर स्नातक तहमा अध्ययन गर्न पाउने छन् ।
परीक्षामा दुईजनाको नतिजा रद्द गर्नाका साथै तीनजनाको परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिनुभयो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहे १५ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here