लेनिन, अप्रिल थेसिस र अक्टुबर क्रान्ति

0
43

अक्टुबर क्रान्तिको रूपमा सन् १९१७ को अक्टुबर २५ मा संसार हल्लाउने परिघटना भएको थियो रुसमा । त्यो क्रान्तिको सबल नेतृत्व गरेका थिए भ्लादिमिर इलिच उल्यानोभ लेनिनले । लेनिन एक रूसी क्रान्तिकारी, राजनीतिक सिद्धान्तकार र बोल्सेभिक पार्टीका नेता थिए । अक्टोबर क्रान्तिले जारशाहीको समूल नष्ट गर्दै रुसी अस्थायी सरकारलाई पराजित ग¥यो र विश्वको पहिलो समाजवादी राज्यका रूपमा सोभियत सङ्घ स्थापना ग¥यो । सन् १८७० अप्रिल २२ मा जन्मेका लेनिन माक्र्सवादी सिद्धान्तबाट गहिरो रूपमा प्रभावित थिए, जसलाई उनले रूसको परिस्थितिमा अनुकूल बनाए । उनले पूँजीवादी व्यवस्थालाई परास्त गर्न मजदुर वर्ग (सर्वहारा वर्ग)को नेतृत्व गर्न माक्र्सवादी सिद्धान्तद्वारा निर्देशित क्रान्तिकारी पार्टी आवश्यक रहेको तर्क गरे । बोल्सेभिकहरूको नेतृत्व लेनिनको बलियो इच्छाशक्ति, क्रान्तिकारी जोश र रणनीतिक दूरदर्शिताले चिनिन्थ्यो ।

विश्वमा पहिलो समाजवादी क्रान्तिको एक सय सात वर्ष पूरा भएको छ । विश्वमा पहिलोपटक सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा बोल्शेभिक पार्टीले समाजवादी क्रान्ति गरेको थियो । रुसी समाजवादी क्रान्तिपछि नै विश्वभर समाजवादी क्रान्तिको लहर नै चलेको थियो । लगभग २०औं शताब्दीको तीन चौथाइ समयसम्म नै विश्वभर समाजवादी, जनवादी एवम् राष्ट्रिय मुक्ति आन्दोलनका आँधी बेहरीहरू चले । ती सबै आन्दोलनमा रुसी समाजवादी क्रान्तिको छाप र प्रभाव रह्यो । क्रान्तिको विजय हुनाको मुख्य कारण त्यसको अगुवा मजदुर वर्ग थियो । यस वर्गले सिपाहीको पोशाक लाएका– ‘शान्ति रोटी र स्वतन्त्रता’को माग गर्ने लाखौं किसानहरूको आन्दोलनलाई नेतृत्व दियो । सर्वहारा वर्गको एकछत्र नेतृत्वले नै क्रान्तिको सफलतालाई निश्चित पा¥यो । क्रान्तिको शुरुको समयमा लेनिनले लेखेका थिए– ‘सर्वहारावर्गले क्रान्ति ग¥यो । सर्वहारा वर्गले बहादुरी देखायो, त्यसले आफ्नो रगत बगायो । त्यसले व्यापक श्रमजीवी र गरीब जनसाधारणलाई आफूसँगै बगाएर लग्यो ।’

पहिलो क्रान्तिले अर्थात् १९०५ को क्रान्तिले दोस्रो क्रान्ति, अर्थात् १९१७ को क्रान्तिको छिटो सफलताको लागि बाटो तयार पारेको थियो । लेनिनले लेखेका थिए– ‘१९०५÷०७ का तीन वर्षमा भएका ठूला–ठूला वर्ग सङ्ग्रामहरू र रसियाली सर्वहारा वर्गद्वारा प्रदर्शित क्रान्तिकारी तागतको अभावमा दोस्रो क्रान्ति सम्भवतः यति छिटो हुन सक्ने थिएन । छिटो कुन अर्थमा भने यसको प्रारम्भिक चरण केही दिनभित्रै पूरा भयो ।’ क्रान्तिका प्रारम्भिक दिनहरूमा नै सोभियतहरुको जन्म भयो । विजयी क्रान्ति मजदुर र सैनिक प्रतिनिधिहरूका सोभियतहरूको समर्थनमा आधारित थियो । विद्रोह गर्न मजदुर र सिपाहीहरूले मजदुर र सैनिक प्रतिनिधिहरूको सोभियत गठन गरे । १९०५ को क्रान्तिले के देखाएको थियो भने सोभियतहरु सशस्त्र विद्रोहका साधन हुन् र साथै एउटा नयाँ, क्रान्तिकारी सत्ताका बीज हुन् । मजदुर जनताको मनमा सोभियतको विचार जिउँदै थियो, र जारशाही खतम हुने बित्तिकै तिनीहरूले यस विचारलाई व्यवहारमा उतारे । तर, फरक कति थियो भने १९०५ मा मजदुर प्रतिनिधिहरूको सोभियत मात्र बनाइएको थियो र अब फरवरी १९१७ मा बोल्शेभिकहरूको अग्रसरतामा मजदुर र सैनिक प्रतिनिधिहरूका सोभियतहरूको जन्म भयो ।

यता बोल्शेभिकहरू सडकमा जनसङ्घर्षको प्रत्यक्ष नेतृत्व गर्दै थिए, उता सम्झौतावादी पार्टीहरू अर्थात् मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरू सोभियतमा ठाउँ कब्जा गरेर त्यहाँ बहुमत बनाउँदै थिए । उनीहरूलाई यस काममा आंशिक सफलता पनि मिल्यो । त्यसको कारण के हो भने बोल्शेविक पार्टीका अधिकांश नेताहरू जेलमा वा निर्वासनमा थिए । लेनिन विदेशमा थिए, स्टालिन र स्वर्दलोभ साइबेरियामा निर्वासित थिए । तर, मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरू पेट्रोग्राडको सडकमा स्वतन्त्रतापूर्वक घुम्दै थिए । शासनमा नतिजा स्वरूप पेट्रोग्राड सोभियत र त्यसको कार्यकारिणी समितिका अगुवाहरू, सम्झौतावादी पार्टीहरूका प्रतिनिधिहरू अर्थात् मेन्शेभिक र समाजवादी–क्रान्तिकारीहरू थिए । मस्को र अन्य कतिपय शहरमा पनि यस्तै स्थिति थियो ।

भ्लादिमिर लेनिनले अप्रिल १९१७ मा निर्वासनबाट रूस फर्केपछि जारी गरेका निर्देशनहरूको एक श्रृङ्खला थियो अप्रिल थेसिस । ती थेसीसहरूले रूसी क्रान्तिको लागि उनको दृष्टिकोणलाई रूपरेखा दिए र बोल्सेभिक पार्टीको लागि रणनीतिक मार्गचित्र अर्थात् रोडम्याप प्रदान गरे । अप्रिल थेसिसमा लिपिबद्ध मार्गचित्रले नै समग्र सोभियत सङ्घको भविष्य निर्माणका लागि काम गरेको थियो । उनको पहिलो जोड युद्धको अन्त्यमा थियो । लेनिनले पहिलो विश्वयुद्धमा रुसको संलग्नता तत्काल अन्त्य गर्न आह्वान गरे, जुन रुसी जनतामा असन्तुष्टिको प्रमुख मुद्दा थियो । लेनिनले अप्रिल थेसिसमा सबै शक्ति सोभियतहरूलाई सुम्पन आव्हान गरेका थिए । लेनिनले राजनीतिक शक्ति अस्थायी सरकारबाट श्रमिक परिषद् (सोभियतहरू)मा हस्तान्तरण गरिनुपर्छ भनी तर्क गरे, जुन त्यतिबेला रूसभरि उदय भइरहेको थियो । उनले सोभियत सङ्घले मजदुर वर्गको वास्तविक हितको प्रतिनिधित्व गर्ने विश्वास गरे । लेनिनले आफ्नो प्रस्तावमा केरेन्स्की नेतृत्वका अस्थायी सरकारको विरोध गरेका छन् ।

लेनिनले फेब्रुअरी क्रान्तिपछि बनेको अस्थायी सरकारलाई अस्वीकार गरे, जसलाई उनले अपर्याप्त रूपमा कट्टरपन्थी र वास्तविक परिवर्तन ल्याउन असमर्थ ठाने । यसले पूँजीपति वर्गको हितमा मात्रै काम गर्ने उनको तर्क थियो । अप्रिल थेसिसमा उनले भूमि र उद्योगको राष्ट्रियकरणको प्रस्ताव गरेका थिए । लेनिनले समाजवादी अर्थतन्त्र ल्याउने लक्ष्य राख्दै भूमिको राष्ट्रियकरण र उद्योगहरूमा राज्यको नियन्त्रण स्थापना गर्न आह्वान गरेका थिए । त्यसैगरी, लेनिनले सामाजिक क्रान्तिको आह्वान गरेका थिए । उनले पूँजीवादलाई परास्त गर्न र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न समाजवादी क्रान्तिको आवश्यकतालाई जोड दिएका थिए । हुन त अप्रिल थेसिस त्यतिबेला विवादास्पद थियो, बोल्सेभिक पार्टीभित्रका धेरैमा पनि । यद्यपि, तिनीहरू पछि बोल्सेभिक रणनीतिको आधार बन्नेछन् जसले पछि १९१७ को अक्टोबर क्रान्तिको नेतृत्व गर्न सफल भएका थिए ।

लेनिनले अस्थायी सरकारबाट सत्ता कब्जा गर्न बोल्सेभिक पार्टीको नेतृत्व गरे । यो घटनाले रुसमा कम्युनिस्ट शासनको शुरुवात ग¥यो । अक्टुबर क्रान्तिपछि नयाँ आर्थिक नीति लागू गरे । रूसी गृहयुद्ध पछि, लेनिनले १९२१ मा नेप अर्थात् नयाँ र योजनाबद्ध आर्थिक विकास प्रणालीमा जोड दिए । जसले अस्थायी रूपमा केही निजी उद्यमहरूलाई रूसी अर्थतन्त्रलाई पुनर्जीवित गर्न अनुमति दिएको थियो, जबकि त्यतिबेलासम्म पनि प्रमुख उद्योगहरूमा राज्यको नियन्त्रण कायम राखेको थियो । लेनिने माक्र्सवादी सिद्धान्तलाई आफ्नो भूमिमा सफलतापूर्वक प्रयोग गरे र केही सावैभौम सिद्धान्त पनि प्रतिवादन गरे, जसलाई लेनिनवाद पनि भनिन्छ । लेनिनवाद लेनिनले माक्र्सका विचारहरूलाई रुसको सामाजिक–राजनीतिक परिप्रेक्षसँग मिल्दोजुल्दो बनाउँदा र र मजदुर वर्गको तर्फबाट पूर्णकालीन कार्यकर्तासहितको क्रान्तिकारीहरूको अग्रगामी पार्टीले क्रान्तिको नेतृत्व गर्नुपर्छ भन्ने तर्क दिए । यो अनुकूलनलाई लेनिनवाद भनेर चिनिन थाल्यो र यसले विश्वव्यापी कम्युनिस्ट आन्दोलनलाई ठूलो प्रभाव पा¥यो र आजपर्यन्त लेनिनका विचारहरूले संसार प्रभावित छ ।

रुसी गृहयुद्ध र साम्यवादी क्रान्ति पछि, रुस बोल्सेभिक समर्थक र बोल्सेभिक विरोधीबीचको क्रूर गृहयुद्ध (१९१७(१९२१)मा फँस्यो । बोल्सेभिकहरूले जिते, तर युद्धले ठूलो पीडा निम्त्यायो । लेनिनले यस समयमा युद्ध साम्यवाद लागू गरे, जसले अर्थतन्त्रलाई केन्द्रीकृत ग¥यो, सेना र सहरहरूमा आपूर्ति गर्न किसानहरूबाट अन्न मागियो । लेनिनको विचार र कार्यले सोभियत सङ्घलाई आकार दियो र २०औं शताब्दीको धेरैजसो विश्वव्यापी राजनीतिलाई प्रभाव पा¥यो । लेनिनले आफ्नो कार्यकालमा व्यावहारिक रूपमा विभिन्न राजनीतिक र सामाजिक मुद्दाहरूलाई सम्बोधन गरेकोमा उनको प्रशंसा र आलोचना दुबै भएको छ । उनको कामको क्रान्तिकारी दृष्टिकोणको लागि प्रशंसा गरिएको छ र शक्ति कायम राख्न प्रयोग गरिएको अधिनायकवादी विधिहरूको लागि आलोचना गरिएको छ । उनको दृष्टिकोण समाजवाद र समतामूलक समाजको विकासमा केन्द्रित थियो ।

उनी विश्वक्रान्तिका एक प्रमुख नायक, सर्वोच्च व्यक्तित्व र विशिष्ट नेता थिए, जसले विश्वको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका थिए । विश्वको राजनीतिक परिदृश्यमा लेनिन एक सादगी, इमान्दार र सर्वहारा वर्गप्रति प्रतिबद्ध नेता थिए र उनको नेतृत्वको सर्वत्र र सधैँ प्रशंसा गरिएको छ, उनको विरासतलाई धेरैले सम्मान गरिरहेका छन् । लेनिनको वैचारिक प्रभाव र रुसको मात्र होइन विश्वको राजनीतिक विकासमा उनको योगदानलाई आज पनि धेरैले स्मरण गर्ने गरेका छन् । सन् १९२० को शुरुवातमा लेनिनलाई मस्ष्तिष्कघातको शृङ्खला लागेपछि उनको स्वास्थ्य बिग्रियो । सोभियत रूस र विश्वव्यापी कम्युनिष्ट आन्दोलनमा ठूलो विरासत छोडेर २१ जनवरी १९२४ मा लेनिन संसारबाट विदा भए ।

एउटा नयाँ ऐतिहासिक युगको सूत्रपात गर्ने महान रुसी क्रान्तिका योग्य, सक्षम तथा कुशल सञ्चालक र इतिहासमा पहिलो सोभियत राज्य, समाजवादी राज्यका निर्माताको रूपमा परिचित, अपूर्व योग्यता, बुद्धि तथा प्रतिभा भएका, आत्मत्यागको अलौकिक क्षमता, अदम्य साहस, कठोर श्रम गर्ने सामथ्र्य भएका, जनताको तागतप्रति अपार विश्वास गर्ने, सत्यजतिकै सरलता, इमान्दारिता आदि गुणसम्पन्न लेनिन लामो समय बाँच्न सकेनन् । आफ्नो राजनीतिक जीवनको शुरुका वर्षदेखि नै लेनिन क्रान्तिकारी माक्र्सवादका दृढ तथा सुसंगत समर्थक रहेका थिए । रुसमा क्रान्तिकारी माक्र्सवादलाई मजदुर आन्दोलनमा स्थापित गर्न र त्यसलाई मजदुर आन्दोलनसित एकजुट पार्ने प्रक्रियामा लेनिनले नेतृत्वकारी भूमिका खेले ।

माक्र्सवादको क्रान्तिकारी सारतत्वबाट भएका विभिन्न खालका विचलनका बिरुद्ध उदाहरणार्थ, अर्थवाद, सुधारवाद, संशोधनवाद, विर्सजनवाद, रुढीवाद, ‘वामपन्थी’ अवसरवाद, आदिको बिरुद्ध सिद्धान्तको आधारबाट अविचल र सम्झौताहीन ढङ्गले उनले सङ्घर्ष चलाए । आफ्ना सारा सैद्धान्तिक, व्यवहारिक र साङ्गठनिक क्रियाकलापमा उनले माक्र्सवादलाई सुधारवाद र संशोधनवादको दलदलमा भासिनबाट र साथै जडसूत्रको सङ्ग्रहमा फेरिनबाट जोगाएर त्यसका क्रान्तिकारी सिद्धान्तहरूको संरक्षण गरे । त्यसका साथै उक्त संघर्षको क्रममा उनले माक्र्सवादका अभिन्न घटक रहेका तीन वटै क्षेत्र दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई विकसित तथा समृद्ध पारे र त्यसरी माक्र्सवादलाई नयाँ चरणमा, लेनिनवादी चरणमा उठाए । लेनिनवाद १९औं शताब्दीको आखिरीमा २०औं शताब्दीको शुरुदेखि प्रादुर्भाव भएको एक नयाँ ऐतिहासिक अवधिको, साम्राज्यवाद र सर्वहारा क्रान्तिहरुको युगको माक्र्सवाद हो ।

विश्व क्रान्तिको अग्रगतिको पक्षमा र माक्र्सवादको सैद्धान्तिक भण्डारको समृद्धिकरणमा लेनिनका योगदानहरु विशाल, विस्तृत र महत्वपूर्ण छन् । उनका सैद्धान्तिक कृतिहरु विचारका समृद्ध खानी हुन् र ती मानवजातिको मुक्ति सङ्घर्षको बाटोलाई आलोकित गर्ने ज्योति हुन् । मानव जातिको मुक्ति लक्ष्यमा समर्पित उनका जीवन र क्रियाकलाप सुखी तथा समृद्ध भविष्यको लागि, वर्गहीन, कम्युनिष्ट समाजको लागि लडिरहेका आम श्रमिक जनताका लागि प्रेरणा र हौसलाका अजस्र स्रोत हुन् । बहुआयामिक, मेधावी व्यक्तित्वका धनी लेनिनको सम्मानमा महान् रुसी कवि भ्लादिमिर मायाकोभ्स्कीले लेखेका छन्– लेनिन थिए, लेनिन छन् र लेनिन रहने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here