शिवसताक्षीमा रन २०८१ हुने

0
10

झिलझिले ।

शिवसताक्षीमा पर्यावरण तथा पर्यटन प्रवद्र्धन गर्न ‘प्रथम शिवसताक्षी रन २०८१’ प्रतियोगिता हुने भएको छ ।

पर्यावरण तथा पर्यटन प्रवद्र्धनका लागि काम गर्दै आएको सामाजिक संस्था फेस नेपालको कार्यालय झिलझिलेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिइएको हो । कार्यक्रममा फेस नेपालका अध्यक्ष कविराज चाम्लिङ राईले रनको सम्पूर्ण तयारीमा संस्था लागेको बताए ।

उनले प्रथम ऐतिहासिक शिवसताक्षी रन २०८१ रहेकोले सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छन् । अध्यक्ष राईले दौडमा झापा, मोरंग, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका एक हजारभन्दा बढी धावकहरु सहभागी हुने बताए । उनका अनुसार जुनियरतर्फ तीन सय, खुल्लातर्फ पाँच सय र भेट्रानतर्फ दुई सय धावकहरु रहने बताए । जसअनुसार एकै दिनभित्र जुनियर, भेट्रान धावकहरुको झिलझिलेदेखि सतासीधामको दिगम्बेश्वर मन्दिरसम्म पाँच किलोमिटरको दौड हुनेछ भने खुल्लातर्फ कन्काई नदीको पुलदेखि सतासीधामको दिगम्बेश्वर मन्दिरसम्म १० किलोमिटरको दौड रहने छ ।

पछिल्लो समय जलवायु परिवर्तनले भूगोल आक्रान्त भइरहेको बेला पर्यावरणलाई सन्तुलनमा ल्याउन फेस नेपालले लामो समयदेखि अभियान सञ्चालन गर्दै झापाका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा मौसम अनुसारको फुल्ने विभिन्न प्रजातिको वृक्षरोपण गर्दै आइरहेको छ ।

फेस नेपालका महासचिव सन्तोषकुमार थेगिमका अनुसार दौडमा सहभागी विजेताहरुलाई खुल्लातर्फ प्रथम हुनेलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने दोस्रो, तेस्रो र सान्त्वना स्थान विजेतालाई क्रमशः १० हजार, सात हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गर्नेछन् ।

त्यसैगरी भेट्रान धावकतर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । जुनियर धावकतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई पाँच हजार, तीन हजार र दुई हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेलकुदले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई उजागर गर्दै खेलकुदमा लागे मात्र लागूऔषध दुव्र्यसनबाट बच्ने सम्भावनालाई मध्यनजर गर्दै पर्यावरणसँगै दुव्र्यसनलाई समेत न्यूनीकरण गर्ने खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आउने फेस नेपालका उपाध्यक्ष मोहन तामाङले बताए ।

विगत दुई वर्षदेखि धार्मिक तथा पर्यटकीय स्थल सतासीधाम जाने सडकको आसपासमा गरिएको वृक्षरोपण र संरक्षण गर्ने ध्येयका साथ यो कार्यक्रम गर्न लागिएको हो । जसअनुसार फेस नेपालले सात हजारभन्दा बढी विभिन्न मौसममा फुल्ने विरेन्द्र फूल, ज्याकाराण्डा, गोल्डमोर, रातो निलो गुलाबी कल्की, आँप, लिची, कटहर, रुद्राक्ष, लहरे वर–पिपल लगायतका बिरुवाहरु रोपण गरिसकेको छ । उक्त फूलहरु संरक्षण गरिएर फुलेमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्न सक्ने फेस नेपालका सदस्य विजु मुखियाले बताए ।

दौडको सम्पूर्ण तयारीको लागि फेस नेपाल लागिपरेको र प्रत्येक धावकहरुलाई पर्यावरण तथा पर्यटन प्रवद्र्धन प्रथम शिवसताक्षी रन–२०८१ लेखिएको टिसर्ट वितरण गरिने अध्यक्ष कविराज राईको भनाइ रहेको छ । सोही अवसरमा समाजसेवी दुर्गा नेम्बाङलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here