नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि सय दिन पूरा गरेको छ । एमाले नेतृत्वमा बनेको सरकार र प्रधानमन्त्री केपी ओलीले सय दिनमा गरेका कामको विवरण सञ्चारमाध्यम मार्फत सार्वजनिक पनि गरेका छन् । यही सरकारले सय दिनमा परिवर्तनका, आशा र भरोसाका केही काम गर्न नसकेको भन्दै विपक्षीहरुले आलोचना गरेका छन् । सरकारको शुरुको एक सय दिनको अवधिलाई ‘मधुमास’ भन्ने गरिएको छ । अर्थात् यो समय सरकारलाई बिना अवरोध आफ्ना नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्न दिइन्छ । विपक्षमा रहेका दल वा दलहरु यो समयमा कुनै पनि प्रकारको हस्तक्षेप गर्दैनन् ।
सरकारको सय दिनका सम्बन्धमा विभिन्न चर्चा, परिचर्चा र टिप्पणी हुनु अस्वभाविक भने होइन । तर, आवधिक निर्वाचनपछि गठन भएको सरकारको सय दिन मात्रै सामान्यतः समीक्षाको विषय बन्नुपर्ने हो । प्रतिपक्षले समेत सरकारलाई निविध्न आफ्ना कार्यक्रम लागू गर्न दिने यो मधुमासको समयले सरकारको संकल्प, दृढता र क्षमताको सन्देश दिन्छ । त्यही सन्देश र संकेतले नागरिकलाई समेत आशा वा निराशावादी बनाउँछ । वर्तमान सरकार अस्थिरताका बीच पटक–पटक परिवर्तन भएर बनिएको सरकार हो । निर्वाचनको दुई वर्षकै अवधिमा बद्लिएको र नयाँ बनेको गठबन्धन देश र जनताको पक्षमा भन्दा दलीय र व्यक्तिगत स्वार्थ अनुकूलतामा भएको आरोप पनि लागेको छ ।
राजनीतिक स्थायित्व, संविधान, संशोधन र विकासलाई प्राथमिकता दिने सहमतिका साथ गठन भएको सरकारले सामान्य र नियमित ढंगले नै मधुमास बिताएको छ । गएको असार १७ गते भएको सहमति अनुसार असार ३० गते गठन भएको सरकारले यो अवधिमा देशमा सुशासन कायम गर्नुपर्ने थियो, घोषित प्राथमिकता अनुसार नै विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने थियो र अन्य दललाई समेत संविधान संशोधनका लागि सहभागी गराउनुपथ्र्यो । झण्डै दुईतिहाई बहुमतको जगमा बनिएको ओली नेतृत्वको सरकारले विपक्षसँग संवाद मात्रै भए पनि गर्नुपर्ने थियो ।
सरकारले मौद्रिक नीति मार्फत सहजीकरण र लगानीमैत्री वातावरण सृजना गर्नेतर्फ भने केही अग्रसरता देखाएको छ । यसका लागि निजी क्षेत्रसँग परामर्श गरेको छ, राजश्व संकलनमा केही सुधार भएको छ भने दूग्ध किसान, निर्माण व्यवसायी र उखु किसानको बक्यौता भुक्तानी दिन शुरु भएको छ । यसले थोरै भए पनि किसान र निर्माण व्यवसायीलाई राहत मिलेको छ । यही समयमा आएको प्राकृतिक विपद्ले नागरिकलाई ठूलो पीडा दियो, ठूलो मानवीय तथा आर्थिक क्षति भयो । यस बाहेक पनि थुपै्र घटनाबाट आलोचित वर्तमान प्रधानमन्त्री र सरकारले अझै पनि जनतामा आमूल परिवर्तनको अनुभूति हुने आयोजना अघि बढाउन सक्छ । त्यसले मात्रै सरकारको सफलताको आधार तयार गर्छ ।