देशको अस्मितामाथि खेलवाड नगर

0
24

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नै मानव तस्करीमा तानिएका छन् । कानून मन्त्री लीलावल्लभ अधिकारी आफै कानूनी प्रबन्धबिरुद्ध अन्य चार जनालाई लिएर जापान पुगेका थिए । तर, त्यहाँको अध्यागमन विभागले उनीहरुको कागज जाँचबुझ गर्दा नक्कली भेटिएपछि विमानस्थलबाटै फर्काइएका थिए । आवश्यक प्रक्रिया पूरा नगरेको मात्र होइन जापान पुगेका प्रदेशमन्त्री अधिकारीको आलोचना हुन थालेपछि राजीनामा दिन बाध्यता बन्यो । यद्यपि उनले यसलाई नैतिकतासँग जोडेका छन् ।

जापानबाट डिपोर्ट भएका अधिकारीसँगै दावा सेर्पा, जनक राई र कञ्चन देवकोटालाई नेपाल प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ ग¥यो । अनुसन्धानका क्रममा उनीहरु नक्कली कागजात बनाएर जापानमै लुक्ने उद्देश्यले गएको खुलेपछि मन्त्री अधिकारी मानव तस्करीमा समेत जोडिन पुगेका हुन् । प्रहरीले पक्राउ परेकाहरुका बयानका आधारमा किर्ते कागज तयार गर्ने अन्य तीन जनालाई समेत पक्राउ गरेको छ । उनीहरुले मन्त्रीसँगै जापान पुगेकाहरुबाट तीस लाख रुपैयाँभन्दा बढी लिएर नक्कली कागजात बनाइदिएको खुलेको छ । पक्राउ परेका छ जना अहिले हिरासतमा छन् भने प्रदेश मन्त्रालयबाट नक्कली कागजात बनाउन र सँगै लिएर जाने अधिकारी भने पक्राउ परेका छैनन् ।

कानूनकै जानकार मन्त्री अधिकारी एमालेबाट निर्वाचित प्रदेश सांसद हुन्। अहिले एमाले नेतृत्वको संघ सरकार छ र प्रदेशमा पनि एमालेकै नेतृत्व छ । यही बेला अधिकारी मानव तस्करीको गम्भीर प्रकरणमा तानिएका छन्। यसले उनको, उनी सम्बद्ध दल र राष्ट्रकै छविमाथि प्रश्न उब्जाएको छ । प्रदेश मन्त्रीको जिम्मेवारीमा रहेको व्यक्ति गलत व्यक्तिको संगतमा देखिनु चिन्ताको मात्र हाइन लज्जाको विषय पनि हो । जापानमा हुने एक कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी हुन उनी यही कात्तिक १३ गते उडेका थिए । हाम्रो प्रदेश मन्त्रीलाई त्यहाँको अध्यागमनले विमानस्थलमै दुई दिन राखेर केरकार गर्दै अवाञ्छित व्यक्ति भनेर फिर्ता पठाउनु प्रदेश मात्र होइन देश र समग्र जातिकै अपमान र बेइज्जत हो ।

हुन त नेपाली राजनीतिमा सुख, सम्पत्ति, ऐश्वर्य र स्वार्थका लागि मूल्य–मान्यता, नैतिकता, आदर्श र मर्यादाको हेक्का हुन छाडेको छ । पदमा पुगेका बेला जे सुकै गर्न अग्रसर हाम्रा नेता गणकै कारण पटक–पटक नेपालीको मान मर्दन भइरहेकै छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरणका दोषी नै सत्ताको केन्द्रमा रहेको भनेर आलोचना भइरहेकै छ। यसबाहेक भ्रष्टाचार र अख्तियार दुरुपयोगका थुप्रै प्रकरणमा तिनै अगुवाहरूको संलग्नता देखिएकै छ । यसले आफ्नो स्वार्थ पूरा गर्न जस्तोसुकै बेइमानी गर्ने अपराध हुर्काउन सहयोग पु¥याएको छ । त्यसैले देश र जातिको गौरव र पूर्खाको योगदानको अवमूल्यन गर्ने जोही कोही दण्डको भागिदार हुनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here