काठमाडौँ।
पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ ।
पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । उहाँ २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
उहाँलाई संविधानविद् तथा लोकतान्त्रिक राजनीतिका अभियन्ताका रूपमा चिनिन्छ । उहाँले २०४८ सालको आमचुनावमा काठमाण्डौ क्षेत्र नम्बर २ बाट जितेपछि सभामुख हुनुभएको थियो ।
२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि बनेको संसदमा सभामुख बनेका ढुंगानाले पदको मर्यादा र गरिमाअनुसार काम गरेको चर्चा हुन्छ ।
ढुंगाना २०७४ सालको आमचुनावमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भएर पराजित हुनुभएको थियो ।