सुरुङ्गा ।
झापाको मध्यभाग भएर बहने कनकाई नदीको पश्चिम किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखाको सौन्दर्य बढ्दै गएको छ ।
झापा क्षेत्र नं. ४ का सङ्घीय सांसद एलपी साँवा लिम्बू र शिवसताक्षी नगरपालिकाको विशेष चासोका कारण दोमुखाको सौन्दर्यकरणको प्रक्रिया अघि बढेको हो । दोमुखा यतिबेला बेहुलीझैँ सिँगारिएको छ । चुरे पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । दोमुखामा यतिबेला आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न उक्त स्थललाई तीन सय वटा विभिन्न रङका छाताले बेहुलीझैँ सिँगारिएको छ । पर्यटकमाझ दोमुखाको प्रचारप्रसार बढ्दै गएको पाइएको छ । विशेषतः आन्तरिक पर्यटनमा बढोत्तरी भएको छ ।
शिवसताक्षी नगरपालिका–१० मा पर्ने दोमुखा पूर्वपश्चिम राजमार्ग माईधार गैडेँ बजारबाट उत्तर तीन किलोमिटरमा छ । धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित दोमुखामा नवदम्पतीको फोटो खिच्न, विभिन्न म्युजिक भिडियो, चलचित्र छायाङ्कन र टिकटक बनाउन आउनेहरू पछिल्लो समय अत्यधिक बढेको छ । दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले पर्यटन प्रवर्द्धन गर्न वर्षैँपिच्छे नयाँ योजना कार्यान्वयन गरेका छौँ र फलस्वरूप पर्यटकको मनोभावना बुझेर त्यहीअनुसारका संरचना निर्माण गरेको बताए ।
दोमुखामा आकर्षक बुद्धपार्क, व्यवस्थित वनभोजस्थल, बाल उद्यन, बहुसांस्कृतिक सङ्ग्र्रहालयलगायत संरचना छन् । दोमुखा सडकको प्रवेशद्वार माईधारमा आकर्षक द्वार निर्माण गरिएको छ । यहाँ आउने पर्यटकलाई मध्यनजर गरी ३० वटा बढी सानाठूला होटेलसमेत सञ्चालनमा छन् । नगरपालिकाले यस क्षेत्रका सडकका दुवैतिर सडकबत्ती जडान गरेर झिलीमिली बनाउने कार्यलाई अघि बढाएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ लिम्बूले जानकारी दिए ।
सुरक्षाको प्रबन्ध गरेर दोमुखामा साँझमा पनि पर्यटक आउने वातावरण बनाउन सन्ध्याकालीन कार्यक्रम पनि आयोजना गरिने योजना नगरप्रमुख लिम्बूले बताए । कनकाई नदीबाट बाँध बाँधी कनकाई नहर बनाइएको र चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा हिउँदमा पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बङ्गाल, सिक्किम, विहारलगायत स्थानबाट पर्यटक आउने गरेका छन् । वार्षिक एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा आउने गरेका छन् र यो सङख्या बढाएर एक लाख पचास हजार कटाउने लक्ष्य राखेको शिवसताक्षी नगरपालिका–१० का वार्डअध्यक्ष हर्कबहादुर सिगुले बताए ।
महारभारत पर्वत शृङ्खलाबाट उत्पति भई चुरे पहाड हुँदै पूर्व मोहडा बनाई निस्कने कनकाई नदीको दक्षिणतर्फ नहर निर्माण गरी नदीलाई दुई मुखमा विभाजन गरेको हुँदा यस क्षेत्रको नाम दोमुखा रहेको हो । दोमुखालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २०६२ सालमा दोमुखा धार्मिक तथा पर्यटकीय विकास समिति गठन भएको हो । हाल सो समितिमार्फत नगरपालिका, प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा दोमुखामा कैयौँ भौतिक संरचना निर्माण भएका छन् । योजना निर्माण र सहयोग जुटाउने कार्यमा सङघीय सांसद एलपी साँवाले विशेष पहल गरिरहेका छन् ।
दोमुखामा टाढाटाढाबाट वनभोज खाने समूहको घुइँचो लाग्ने गरेको दोमुखा पर्यटन विकास समितिले जनाएको छ । कनकाई नदीको पूर्वी तटमा रहेको धनुषकोटी वनभोजस्थल पनि आन्तरिक पर्यटकका लागि आकर्षक स्थल बन्दै गएको छ ।