अर्जुनधारा ।
सञ्चालनमा आएको नौ वर्षपछि चारपाने–नारायणचौक–हात्तीकिल्ला सडकसँग जोडिएको झापाको अर्जुनधारा–७स्थित एक सहायक मार्गको नामकरण गरिएको छ ।
अर्जुनधारा–७ नं. वडा कार्यालय दक्षिणमा रहेको अर्जुनधारा उद्योग वाणिज्य संघको कार्यालय, अर्जुनधारा जेसीज शनिश्चरेको भवनलगायत त्यस क्षेत्रका बस्तीका लागि मुख्य मार्गको रुपमा रहेको उक्त सहायक मार्गको नाम ‘जेसीज मार्ग’ घोषणा गरिएको हो ।
जेसीज सप्ताह–२०२४को कार्यक्रम अन्र्तगत जेसीजका अध्यक्ष वसन्त बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गोविन्द खतिवडाले मार्गको नाम घोषणासँगै उद्घाटन गरेका थिए ।
दुई सय मिटर बढी लम्बाइ रहेको सो मार्गमा गत आर्थिक वर्ष २०८०÷०८१ मा अर्जुनधारा नगरपालिका र उपभोक्ता समितिको संयुक्त लगानीमा स्तरोन्नतीको कार्य शुरु भएको छ । अर्जुनधारा नगरपालिकाको आठ लाख ६० हजार रुपैयाँ अनुदान र उपभोक्ता समितिको पाँच लाख ७३ हजार सात सय ७२ रुपैयाँसहित जम्मा १४ लाख ३३ हजार सात सय ७२ रुपैयाँको लागतमा मार्गमा प्लम्ब निर्माण तथा पेभर्स लगाइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जेसीजका संस्थापक अध्यक्ष इन्दिवर खड्काले विभिन्न संघ–संस्थासँगै बस्ती रहेको त्यस क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै आवश्यकता अनुसार सीसी क्यामेरा तथा सडक बत्ती जडान गर्न वडाध्यक्ष खतिवडासमक्ष माग गरेका छन् ।
यता कार्यक्रमका प्रमुख अतिथि खतिवडाले माग भएका कुराको सम्बोधन गर्न आफूले आवश्यक पहल गर्ने बताए । जेसीजका सदस्य एवम् कार्यक्रम संयोजक अर्जुन बस्नेतको संयोजकत्वमा आयोजित कार्यक्रममा स्वागत कार्यकारिणी उपाध्यक्ष एवम् समारोहका मूल संयोजक भवानी बरालले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव गौरव भण्डारीले गरेका थिए ।