उर्लाबारी।
मोरङको उर्लाबारीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा पथरीशनिश्चरे नगरपालिका–५ का ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बू रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । लिम्बुलाई झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको थियो । धिमाल र गुरुङको अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो भने लिम्बूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुई वटा मोटरसाइकलमा चार जना सवार थिए ।
प्रहरीका अनुसार ८४०६ नम्बरको मोटरसाइकलले अगाडि रहेको सवारी साधनलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकलसँग ठोक्किएको थियो ।
दुर्घटनामा पथरीशनिश्चरे–५ का ३० वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएको प्रहरीले बताएको छ । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ ।