झापा ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
उक्त प्रतियोगिता यही मंसीर २२ गतेबाट शरु हुने हिसान झापाका सचिव देबेन्द्र हुमागाँईले जानकारी दिए । हिसान झापामा आबद्ध २६ विद्यालयहरुमध्ये २३ वटा विद्यालयका १००० भन्दा बढी विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने सचिव हुमागाँईंले बताए ।
कार्यवाहक अध्यक्ष उत्तम खनालले विद्यार्थीहरुको क्षमतालाई अभिवृद्धि गर्दै खेलकुदप्रति रुची जगाउन प्रतियोगितामा सहभागी हुन विद्यालयहरुलाई आग्रह गरेका छन् ।
प्रतियोगितामा विजेता र उपबिजेतलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गर्नुका साथै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयले प्रमाणपत्र प्राप्त गर्ने हिसान झापाका कोषाध्यक्ष रञ्जित साहले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब सात लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको खेल तालिका अनुसार मंसीर २३ गतेबाट पुस ३ गतेसम्म भद्रपुरस्थित ग्यालेक्सी स्कुलमा पुरुष फुटबल हुने छ । यस्तै पुरुष भलिबलतर्फ पुस १० देखि १३ गतेसम्म ग्लोबल एजुकेशन एकेडेमीमा हुने बताइएको छ भने महिलातर्फ आदर्श कलेजको खेलकुद मैदानमा १४ र १५ गते हुनेछ ।
प्रतियोगितामा एभरेष्ट स्कुल भद्रपुर, मनकामना कलेज बिर्तामोड, धु्रवतारा स्कूल दूधे, वान्डरलेन्ड स्कुल केचना, प्रज्ज्वल एकेडेमी गौरादह, चिल्ड्रेन गार्डेन स्कूल जलथल, प्रजिता स्कूल दमक, झापा मोडल स्कूल दमक, कोहेड कलेज बिर्तामोडको सहभागिता रहने हिसान झापाका सचिव हुमागाँईले जानकारी दिए ।
त्यस्तै हिमालयन मावि धुलाबारी, न्युटन्स एजुकेसन एकेडेमी बिर्तामोड, गोमेन्द्र मावि बिर्तामोड, एमेटी मावि बिर्तामोड, बाल्मीकि मावि बिर्तामोड, निदि मावि बिर्तामोड, आदर्श कलेज एचम बिर्तामोड, इकोम बिर्तामोड, बाइटर मावि अर्जुनधारा, सिद्धार्थ मावि भद्रपुर, एचएस निकेतन भद्रपुर, ग्लोबल एकेडेमी दमक, आस्था एकेडेमी दमक, युनिक एकेडेमी दमक, होलिबेल मावि धुलाबारी, पशुपति मावि झिलझिले र इडन गार्डेन अंग्रेजी स्कुल बिर्तामोडले प्रतियोगितमा सहभागिता जनाउने उनले बताए ।
सचिव हुमागाँईंका अनुसार प्रतियोगिताका अन्य खेलहरु क्रिकेट, टेवलटेनिस र व्याडमिन्टन भने माघ र फाल्गुन महिनामा सञ्चालन हुनेछ । हिसान झापाले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । जस अन्तर्गत यसवर्ष भने खेलकुद प्रतियोगितको आयोजना गरेको हो ।