स्थानीय तहमा रिक्त भएका पदहरुको उपनिर्वाचन सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनबाट स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष लगायतका रिक्त पदमा भएको निर्वाचनको परिणाम भोलिपल्ट अर्थात् सोमबारसम्ममा आइसक्नेछ । त्यही परिणामले ०८४ मा हुने आवधिक निर्वाचनको परिणामको पनि संकेत दिनेछ । त्यसै पनि विगतमा भएको निर्वाचनले संघ र प्रदेशमा कुनै दललाई पनि बहुमत नदिएका कारण राजनीतिको स्थायित्व ग्रहण गरेको छैन । केन्द्रदेखि प्रदेशसम्म निरन्तर भइरहेको सरकारको फेरबदलले देशको विकासमा अवरोध पु¥याइरहेको छ ।
अहिले पनि झण्डै दुईतिहाईको गठबन्धन सरकारले जनहित र राष्ट्रहितमा काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । कतिपय प्रमुख मुद्दामा सत्तारुढ दलबीच नै मतैक्यता नभएका कारण सरकारको आलोचना र आरोप–प्रत्यारोप सत्तासीन दलभित्रैबाट भइरहेको छ । यस्तोमा सम्पन्न उपनिर्वाचनले राजनीतिक पार्टीको तल्लो इकाइ वडाध्यक्ष र सदस्यको निर्वाचन परिणामले उनीहरुको वास्तविक हैसियत पनि प्रकट हुनेछ । यतिबेला देशको केन्द्रमै सहकारी ठगीको मुद्दाले ठूलो बहस सृजना गरेको छ । एकथरी सहकारी मुद्दा प्रतिशोधको र अर्कोथरी कानूनी प्रक्रिया भन्दैछन् । यद्यपि सञ्जाल र सूचनाको पहुँचले सचेत नागरिकलाई यसले भ्रमित तुल्याएको छैन ।
निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुने निर्वाचन आयोगले जनाएको छ । विगतका निर्वाचनको अवस्थाले निर्वाचन स्वच्छ, स्वतन्त्र र पारदर्शी हुनेमा विश्वास गरिहाल्ने आधार छैन । अनि पनि परिणामको प्रतिक्षा नगरी गरिने अनुमान काल्पनिक मात्रै हुन्छ । तर, ०७९ मा सम्पन्न निर्वाचनको परिणामले मतदाता सचेत भए भने अनपेक्षित परिणाम आउने देखाइसकेको छ । राजधानीकै महानगरपालिकाको निर्वाचन स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले प्राप्त गरेको मतले नै युवाहरुको आक्रोशको प्रतिनिधित्व गरेको छ ।
देशभरका एकचालीस स्थानमा भएको उपनिर्वाचनले एक नगर प्रमुख, एक उपप्रमुख, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, वडाध्यक्ष ३३ जनालाई चयन गर्नेछ । आफूलाई मूलधार, ठूला र ऐतिहासिक भन्ने दलहरुप्रति आमधारणा सकारात्मक छैन । देशमा हुर्किएको विकृति, विसंगति, भ्रष्टाचार, युवाहरुको पलायन, गरिबी, दलहरुकै अकर्मण्यताको उपज हो । सत्ता केन्द्रीत राजनीतिले देशको छवि समेत धमिल्याएको छ । यस्तोमा सार्वजनिक भएका अनेक भ्रष्टाचारहरुको छानविन नहुनु, दोषीलाई उन्मुक्ति दिनु जस्ता कारणले दलहरु बदनाम पनि छन् । अनि पनि उपनिर्वाचनको परिणामले जन–जनको मन छाम्नेछ । दलरुलाई पनि सच्चिने कि यथास्थितिमै रहने सोच्न बाध्य पार्नेछ ।