भ्रष्टाचारबिरुद्ध जनचेतना समेत फैलियोस् भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष डिसेम्वर ९ का दिन विश्वभर भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३, अक्टोबर ३१ मा यो दिवस मनाउने प्रस्ताव पारित गरे अनुरुप मनाउन थालिएको हो । भ्रष्टाचार आज विश्वको साझा समस्या बन्दै गएको छ । त्यसमा पनि राजनीतिक स्थिरता नभएको हाम्रो जस्तो देशमा भ्रष्टाचार असाध्य रोग नै बनिसकेको छ । सन् २०१५ मा गरिएको सर्वेक्षण अनुसार नेपाल एक सय अड्तिस देशमध्ये नेपाल एक सय तीसौं देशमा परेको तथ्यांक छ । पछिल्ला अध्ययनहरुले पनि नेपालमा नयाँ–नयाँ प्रकृतिका भ्रष्टाचारका घटना देखिन थालेका छन् ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले घुस लिने र दिने दुबै दोषी हुन् भनेका थिए । उनका दिव्य उपदेशहरु आज पनि त्यत्तिकै सान्दर्भिक छन् । तर, फरक यत्ति छ कि भ्रष्टाचार नगरेको, आरोप नलागेको व्यक्ति आज राज्य संयन्त्रमा प्रवेश पाउनै गाह्रो हुन्छ । सरकारको नेतृत्व गर्ने होस् वा मन्त्रिमण्डलमा रहने अथवा राष्ट्रसेवक वा भ्रष्टाचार नियन्त्रण गर्ने संस्थामा पदासीन व्यक्ति सबै कुनै न कुनै मुद्दामा आरोपित छन् । केही समयको चर्चा, विवाद र विरोधपछि साम्य हुने यस्ता मुद्दाका कारण अनियमित वा भ्रष्टाचार गर्ने भनिएकाहरुले उन्मुक्ति पाउँछन् । जसका कारण भ्रष्टाचार नगर्नेहरुमा हिनताबोध उत्पन्न हुन्छ र भ्रष्टाचार बलियो हुन्छ ।
भ्रष्टाचार आज सामाजिक समस्याका रुपमा विस्तार भइरहेको छ । यसले देशको आर्थिक, वैचारिक तथा राजनीतिक जीवनलाई नकारात्मक असर गर्छ । छिट्टै धन कमाउने लोभले मानिसमा नैतिकता, आदर्श, कर्तव्य र जिम्मेवारीबाट च्यूत गराउँछ । अन्ततः त्यही लाभ बढ्दा देशको शासक व्यवस्था कमजोर हुन्छ, सुशासन मर्छ । परिवर्तित राजनीतिक प्रणालीले गाउँ–गाउँमा सिंहदरवार पु¥याएपछि त भ्रष्टाचारको जरो झनै फैलिएको छ । महालेखाको प्रत्येक प्रतिवेदनले स्थानीय तहमा अनियमिततता बढेको प्रतिवेदन सार्वजनिक गर्छ । भ्रष्टाचारविरोधी संस्था ट्रान्सपरेन्सी नेपालले समेत त्यही प्रकृतिको प्रतिवेदन सार्वजनिक गर्छ, तर परिवर्तन देख्न र सुन्न पाइन्न ।
अहिले नै सरकारमा रहेका व्यक्तिहरु विभिन्न मुद्दामा आरोपित छन् । कतै स्वयम्सेवी संस्थाको सम्पत्ति हिनामिना गर्ने, कतै सरकारी जग्गा निजी बनाउने, कतै खरिद प्रक्रियामा त कतै जनताको करबाट संकलित रकम आफ्नो स्थार्थ अनुकूल प्रयोग गर्ने जस्ता आरोप सडकमा छताछुल्ला हुँदा पनि बुझपचाएर पदासीन भइरहने प्रवृत्तिले भ्रष्टाचारको अन्त्य हुन सक्दैन । यस्तोमा सुशासनको कुरा ‘सपनामा घिउ खाए’ सरह हुन्छ । कानूनले भ्रष्टाचार निवारणका लागि व्यवस्था गरेको भए पनि जिम्मेवार व्यक्तिहरुमा पारदर्शिता, जवाफदेहिता, नैतिक मूल्य, आदर्शको चेत नआएसम्म भ्रष्टाचारको अन्त्य हुन सक्दैन । तसर्थ आजको दिनले भ्रष्टाचारको उन्मुलन गर्न हामी सबैलाई हौसला र प्रेरणा दिनुपर्छ ।