समकालीन समाजको यथार्थ र सुधारका प्रयास

0
12

६० को दशकका अमेरिकी अहिंसावादी नागरिक आन्दोलनका नेतृत्वकर्ता मार्टिन लुथर किङ जुनियरको एउटा भनाइबाट म आफ्नो विचार प्रस्तुत गर्न चाहन्छु । उनी एउटा प्रसङ्गमा लेख्छन्– ‘हामी एकअर्कालाई घृणा गर्छौं किनभने हामी एकअर्कासँग डराउँछौं, हामी एकअर्कासँग डराउँछौं किनभने हामी एकअर्कालाई चिन्दैनौं, हामी एकअर्कालाई चिन्दैनौं किनभने हामी सञ्चार गर्दैनौं, हामी सञ्चार गर्दैनौं किनभने हामी अलग्गिएका छौं वा कोहीद्वारा अलग्याइएका छौं ।’

मार्टिन लुथर किङ जुनियरले यहाँ नेर भन्न खोजेको कुरा के हो भने हाम्रो समाज एक प्रकारको विखण्डनमा छ, हामी समाजभित्र एकअर्कालाई विश्वास गर्दैनौं । एकअर्कालाई बुझ्ने चाहना गर्दैनौं, जसले गर्दा समाजमा अविश्वासको वातावरण रहेको छ । एकअर्कालाई हामी घोचपेच र षड्यन्त्र गर्ने गर्छौं र यसको फाइदा अरु कसैले लिइराखेको हामीलाई थाहा नै हुँदैन । वास्तवमा आज हाम्रो समाज ठिक मार्टिन लुथर किङ जुनियरले भने झैं भएको छ, हाम्रो सामाजिक, राजनीतिक अवस्था उनले भने झैं धेरै विखण्डित भएको देखिन्छ । हामी एकअर्कालाई घृणा गर्छौं अथवा विश्वास गर्दैनौं, जथाभावी बोल्ने वा लेख्ने गरिदिन्छौं । मुख्य विषयमा छलफल गर्नु र निर्णयमा पुग्नु अगाडि नै हामीले धेरै अनावश्यक कुराहरु गरिसकेका हुन्छौं । जसले समाजलाई एकजुट भन्दा विभाजनतिर धकेलिरहेको छ । अहिलेको यस अत्याधुनिक समाज, यति धेरै सञ्चारको विकास भएको समाज भएता पनि हामी सञ्चार गरिराखेका छैनौं अथवा हामीले गर्ने सञ्चार ले हामीलाई एकताबद्धभन्दा पनि विखण्डनतिर लागिरहेको अनुभूति हुन्छ ।

अझ हाम्रो देशको पछिल्लो समयको राजनीतिक वातावरण हेर्दा त सकारात्मक धारणा बनाउने अवस्था नै देखिँदैन । मैले यहाँनेर राजनीतिक कुरा किन उठान गर्न खोज्दैछु भने देश वा समाजको समग्र क्षेत्रहरू जस्तै सामाजिक, आर्थिक सांस्कृतिक तथा यससँग जोडिन आएका शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास आदि लगायतका धेरै विषयहरुलाई देशको राजनीतिले डो¥याउने गर्छ । यतिमात्र होइन राजनीतिले समाजमा शान्ति, सुरक्षा, स्थिरता कायम गर्नलाई पनि प्रत्यक्ष वा परोक्षरुपले भूमिका खेलिरहेको हुन्छ ।

शान्ति, सुरक्षा, स्थिरता कायम नभए नागरिकहरू कहिले पनि अगाडि बढ्न सक्दैनन् र समाजको विकास हुन सक्दैन, समाजमा एक प्रकारको डर, त्रास, भयको वातावरण रहिरहन्छ । यसले वातावरण धमिलिइरहेको हुन्छ, जसले गर्दा धमिलोमा माछा मार्न मन पराउनेहरूलाई सजिलो हुनेछ तर, आमनागरिकहरूको लागि यस्तो समय कष्टकर हुने गर्छ । हो, अहिलेको समय यस्तै देखिन्छ । तर, किन हाम्रो समाजमा यस्तो प्रकारको अवस्था देखिँदैछ भनेर विश्लेषण गर्ने र त्यसको सही निचोड निकाली लागू गर्ने राजनीतिक तहका नेतृत्व वर्गहरू आ–आफ्नै स्वार्थमा रुमलिरहेका देखिन्छन् । सर्वसाधारण आमनागरिकहरूमा राजनीतिप्रति वितृष्णा फैलँदो छ । कसैले म राम्रो इमान्दारपूर्वक काम गर्छु भनेर शुरु गर्ने प्रयास ग¥यो भने पनि शंखा उत्पन्न गरेर हतोत्साही बनाउने काम हुन्छ । यतिका सञ्चारको विकास भएको युगमा पनि मानिसहरु एकअर्कामा सञ्चार गरेर विषयको गाम्र्भीयतालाई बुझेर सहि निचोड निकाली लागू गर्ने साहस गरिराखेका छैनन्, आ–आफ्ना व्यक्तिगत स्वार्थ र कुण्ठाले समाज ग्रस्त देखिन्छ ।

हाम्रो देशको पछिल्लो समयको जल्दोबल्दो उदाहरण लिएर यहाँ चर्चा गर्ने हो भने पनि अहिले सर्वसाधारणले देख्ने गरी प्रतिशोधको राजनीति शुरु भए झैं देखिन्छ । यसभन्दा अगाडिका राजनीतिक अवस्थाले समाजलाई अग्रगामी कार्यदिशातिर लैजान दिएन, एउटा निश्चित गुट वा वर्गलाई मात्र स्वार्थ पूरा गर्न सहयोग गर्यो भनेर धेरै संघर्ष ्पछि संघीय गणतन्त्रत्मक व्यवस्थाको स्थापना भएको हो । तर, संघीय गणतन्त्रात्मक व्यवस्था झन् अस्पष्टतातिर जाँदै गरेको देखिन्छ । यसले नयाँ गुट तथा उपगुट निर्माण गरी स्वार्थमा रुमल्लिरहेको र आम नागरिकहरू यसलाई नियन्त्रण गर्न नसक्ने गरी पछाडि परेको अवस्था देखिन्छ । अहिलेको जल्दोबल्दो विषयलाई अथवा प्रष्ट भन्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अवस्थालाई विश्लेषण गर्ने हो भने प्रतिशोधको राजनीतिको गन्ध समग्र सर्वसाधारणले पनि थाहा पाउन थालिसके ।

हो, अपराधीलाई कानूनी दायरामा ल्याउनुपर्छ र सजाय गर्नुपर्छ । तर, अहिले जुन हर्कत देखाइँदैछ यो आफैमा स्पष्ट छैन, यसका पछाडि धेरै कुराहरु लुके झैं लाग्छ । एकातिर यही श्रेणीका अरु थुप्रै अपराधहरू पत्ता लगाउनमा कन्चुस्याई भइरहेको छ भने अर्कोतिर सम्भावित अपराधीहरूलाई जोगाउन धेरै तिकडमबाजी गरिएको महशुस भइराखेको छ । अलिकति इमान्दार र काम गर्नका लागि उत्साहित व्यक्तिहरुलाई सिंगो राज्य नै किन रोक्न उद्यत छ भन्ने कुराको तार्किक जवाफ नेतृत्वले दिनैपर्छ । काठमाडौंमा बालेन शाहको कुरा होस् वा रवि लामिछानेको होस् वा कुलमान घिसिङका कुराहरू हुन्, राज्यले वा राजनीतिक दलहरूले असहयोग गरेकै हो, यसलाई अतिरञ्जित गरिएको मानिँदैन । मानिसका व्यक्तिगत कमी कमजोरीहरू स्वभाविक रुपले रहन्छन् । तर, यसलाई गौंण मानेर इमान्दारपूर्वक राष्ट्रसेवा गर्न चाहनेलाई सबै राजनीतिक दल र राज्यले सहयोग गर्नुले राज्यको भलो हुन्छ । तर, अहिले यसको ठिक विपरीत देखिन्छ ।

आफूसँग विमति राख्ने व्यक्ति वा समूहलाई सिङ्गो राज्य नै लागेर किनारा लाउने प्रयासले मुलुकलाई यथार्थमा घाटा पार्छ । यसरी आफूसँग सैद्धान्तिक विमति राख्ने व्यक्ति वा समूहलाई सिङ्गो राज्य नै लागेर किनारा लाउने प्रयासले प्रतिशोधको आगो मात्र सल्कन्छ । यसले दीर्घकालीन अवस्थामा सिङ्गो समाजलाई नकारात्मक दिशातर्फ धकेल्छ । राज्य यसरी प्रतिशोधमा उत्रियो भने भोलि यही राज्य संयन्त्रले गर्ने आमचुनावलाई जनताले कसरी स्वतन्त्र र स्वभाविक भनेर स्वीकार्न सक्छन् ? यो आजको गम्भीर प्रश्न हो । जसलाई सबै तह र तप्काका राज्य संयन्त्रका तथा राजनीतिक दलका नेतृत्व वर्गले चित्तबुझ्दो उत्तर दिनैपर्छ ।

अन्त्यमा आजको यो सूचना तथा सञ्चारको युगमा विश्व एउटा सानो गाउँको रुपमा परिणत भएको सन्दर्भमा यो सूचना तथा सञ्चारको समझदार प्रयोग गर्दै समाजलाई यसको प्रयोगद्वारा एकताबद्ध बनाउँदै अगाडि बढ्नु हामी सबैको नैतिक दायित्व हो न कि यसको गलत प्रयोगले समाजलाई विखण्डनतिर धकेल्नु । सूचना तथा सञ्चारको प्रयोग गरी हरेक विषयलाई तार्किक निष्कर्षमा पु¥याउने प्रयास गर्नुपर्दछ । सूचना तथा सञ्चारको प्रयोग गरेर एकअर्काप्रति बुझ्ने प्रयास गर्नुपर्छ र सही निर्णय निकाल्न कुनै पनि दबाब वा प्रभावलाई पन्छाउँदै अगाडि बढ्नु आजको आवश्यकता हो ।
(निरौला विपद् व्यवस्थापन, पर्यटन तथा समकालीन राजनीतिका विषयमा कलम चलाउँछन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here