स्वतन्त्र पत्रकारिताको खाँचो

0
11

देशका पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ । संघीय ढाँचामा हुने निर्वाचनले जिल्ला, प्रदेश र संघका पदाधिकारी तथा सदस्यहरुको चयन गर्नेछ । अभिव्यक्ति र प्रेस स्वतन्त्रताको पक्षपाती, मर्यादित तथा व्यावसायिक पत्रकारिताको रक्षा गर्ने पात्र र संस्थाको परिचय बनाएको महासंघ पछिल्लो समय विवादमा रहँदै आएको छ । आफ्नो खाएर आमजनतालाई सुसूचित गर्ने, निमुखा र अबोलाहरुको आवाज बन्ने, सत्य र न्यायको पक्षमा निर्भिकतापूर्वक उभिने मान्यता र दर्शनबाट अनुप्राणित पत्रकारहरु आज वाद र विचारबाट निर्देशित हुन थालेका छन् । त्यसकै कारण आवधिक निर्वाचन गर्न नसक्दा महासंघका पदाधिकारी पालैपालो राजीनामा दिएर हिँडेका छन् ।

गत २०७९ पुसमा सुर्खेतमा भएको महासंघको साधारण सभाले सदस्यता शुद्धीकरण गर्ने निर्णय गरेको थियो । त्यसकै आधारमा समिति पनि बनाइयो, जसले निजामति सेवामा रहेका, पत्रकारितामा निष्क्रिय, दलीय आबद्धता भएकाहरुलाई सदस्यता नदिने निर्णय ग¥यो । त्यसकै कारण धेरैको सदस्यता गुम्ने भएपछि शुद्धीकरणको विषय नै विवादित बन्यो । परिणाममा समयमा निर्वाचन हुन सकेन र महासंघ अग्रजहरुले निर्माण गरेको प्रतिष्ठा र गौरव जोगाउन अक्षम रह्यो । पछिल्लो समय सरकार सञ्चालनमा फेरबदल आएसँगै दलीय आबद्धताका हिसाबले गठीत पत्रकारजन्य संगठन समीकरण बदल्दै महासंघलाई कमजोर बनाउन उद्धत रहेको चित्र प्रकट भइरहेको छ ।

देशमा भएका राजनीतिक परिवर्तनदेखि अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको स्थापनामा महत्वपूर्ण–भूमिका निर्वाह गरिआएको पत्रकािरता जगतको गरिमा सुरक्षित राख्नु अहिलेको चुनौती हो । महासंघले विगतमा व्यावसायिक पत्रकारिता, क्षमता अभिवृद्धिका साथै स्वच्छ पत्रकारिताको पक्षमा गरेको पैरवी र संरक्षणका कार्य स्त्युत्य छन् । अग्रजहरुको त्यही योगदानको कदर गर्दै वास्तविक पत्रकारहरुको संस्था बनाउन, निष्पक्ष, निर्भिक, स्वतन्त्र र व्यावसायिक पत्रकारिताको प्रवद्र्धन गर्न, जिल्ला, प्रदेश र संघको नेतृत्व चयन गर्न आजको मतदानमा सहभागी मतदाताले गम्भीर हुनै पर्छ ।

अनेक प्रतिकूलताका वावजुद आफूहरुलाई संगठित गर्दै विमतिका बीच सहमति गर्दै आएका अग्रजहरुको भूमिकालाई स्मरण गर्नैैपर्छ । हामीकहाँ विद्यमान दलीय क्लबहरुको प्रतिनिधित्व गर्दै महासंघ गठन गर्नुपर्ने परिस्थितिले नै पटक–पटक सर्दै आएको निर्वाचन आज सम्पन्न हुने अवस्थामा छ । यद्यपि यो निर्वाचन पनि विवादरहित रहन सकेको छैन । प्रेस स्वतन्त्रता र मानव अधिकारका मूल्य–मान्यताहरु प्रतिस्थापन गर्न सबल नेतृत्व चयन गर्नु वर्तमानको आवश्यकता हो । त्यही अवसर झापाका मतदाताहरुको सामू आएको छ । विगतका भूमिका, योगदान र क्रियाशीलताको मूल्यांकन गरी झापाको विगतको गौरवको रक्षा गर्न विवेकको प्रयोग गरौं । वर्गीय हितको रक्षा गर्दै महासंघ झापालाई अग्रणी तुल्याउने चुनौतीलाई अवसरको रुपमा प्रयोग गरौं । यसले मात्र मर्यादित र स्वच्छ पत्रकारिताको रक्षा गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here