अर्जुनधारा ।
झापाको अर्जुनधारा–८ शनिश्चरेस्थित शनिश्चरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धामको श्रवणहलमा संस्था सञ्चालक समितिका अध्यक्ष भैरवबहादुर खड्काको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा समितिका अध्यक्ष खड्काले संस्थाको गत आर्थिक वर्ष ०८०/०८१को वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक भानु मिश्र, ऋण उपसमितिको प्रतिवेदन उपाध्यक्ष एवम् संयोजक नरेन्द्रप्रसाद अधिकारी, पशु सुरक्षण(बिमा) समितिको प्रतिवेदन संयोजक पशुपति घिमिरे र गत आर्थिक वर्षको प्रगति विवरण एवम् चालु आर्थिक वर्ष ०८१÷०८२को अनुमानित बजेट, नीति तथा कार्यक्रम प्रबन्धक भूमिनाथ बरालले प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा जम्मा शेयर पूँजी एक करोड १६ लाख ९१ हजार नौ सय रुपैयाँ, कुल निक्षेप चार करोड १२ लाख ७५ हजार पाँच सय ४८ पैसा, लगानीमा रहेको रकम आठ करोड १९ लाख ८२ हजार आठ सय ३० रुपैयाँ, जम्मा आम्दानी एक करोड ५१ लाख ७९ हजार एक सय ३६ रुपैयाँ २५ पैसा, जम्मा खर्च एक करोड १२ लाख ५९ हजार पाँच सय १६ रुपैयाँ ४९ पैसा र खुद नाफा ३६ लाख २८ हजार सात सय ७६ रुपैयाँ ३३ पैसा उल्लेख गरिएको छ ।
सोही कार्यक्रममा उत्कृष्ट अन्तर समूहतर्फ अर्जुनधारा–९ स्थित अन्तर समूह ९ (क), उत्कृष्ट कृषक पशुपालनतर्फ अर्जुनधारा–८ निवासी माधवी उपाध्याय तिम्सिना र तरकारी खेतीतर्फ अर्जुनधारा–१० निवासी भानु मिश्रलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक गणेशप्रसाद भट्टराई, झापा जिल्ला कृषि सहकारी संघका अध्यक्ष केशव सापकोटा, अर्जुनधारा नगर सहकारी समन्वय समितिकी अध्यक्ष कृष्णप्रसाद चापागाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका उपाध्यक्ष अधिकारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रबन्धक बरालले गरेका थिए ।