पार्थ मण्डल,झापा ।
आन्तरिक तथा बाह्रय पर्यटकीय भित्राउने उदेश्यले झापाको हल्दिबारीमा १० दिने दोस्रो भेलागढी महोत्सव सुरु भएको छ ।
हल्दिबारी गाउँपालिका–२ स्थित भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा सुरु भएको महोत्सवको कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले आज उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री मण्डलले भेलागढी सीमसार क्षेत्रमा आन्तरिकसँगै बाह्रय पर्यटक भित्राउने प्रवल सम्भावना रहेको र यसको लागि कोशी सरकारले सक्यो सहयोग गर्ने बताएका छन् ।
पुस २१ गतेसम्म सञ्चालन हुने महोत्वसमा घरेलु उत्पादनलाई विशेष प्रथामिकता दिएको आयोजक संस्थाका सचिव खकेन राजवंशीले जानकारी दिए । स्थानीय खाद्य परिकार भाक्का, घुगी, गंगटा, सिदल र माछाका लगायतका २० वढी प्रकारका स्टल रहने उनको भनाई छ ।
महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकार प्रस्तुति रहने छ । साथै मन्त्र ब्यान्डको समेत प्रस्तुति रहनेछ । महोत्सवमा एकलाख वढी पर्यटक भित्राउने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ ।
भेलागढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुण्यप्रसाद लम्सालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कोशी प्रदेशका पूर्वाधार बिकास राज्यमन्त्री भुमिप्रसाद राजबंशी, प्रदेशसमा सदस्य छबिलाल चुडाल, हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), २ नम्बर वडा अध्यक्ष सुकलाल राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्य आयोजक संस्थाकी उपाध्यक्ष भीमादेबी पराजुलीले गरेकी थिइन् भने सञ्चालन सचिव खकेन राजवंशीले गरेका थिए । २०७६ साल फागुनमा आठ करोड लागत अनुमान बजेट स्वीकृत गर्दै गाउँपालिकाले बहुवर्षीय आयोजनाको रुपमा भेलागढी सिमसार काम अघि बढाएको थियो ।
करिब तीन बिगाहा फैलिएको सिमसारभित्र पोखरी विशेष आकर्षणको रुपमा रहेको छ । पोखरीमा काठबाट बनाइएको पुल आकर्षणको केन्द्र बनेको छ । ९१ दशमलव ५६ हेक्टरमा फैलिएका सामुदायिक वनमा १९ दशमलव ७ हेक्टरमा सिमसारसहितको पर्यटकीय स्थलको रुपमा विकास गरिएको छ ।
यहाँ भ्यू टावर, आधुनिक तालिम हल, टायलसहितको रिङरोड, पानीका फोहोरा (वाटर डान्सिङ फाउन्टेन), शिव भगवानको मूर्ति, काठे पुल, बालबालिका पार्क, खेलमैदान, पिकनिक स्थललगायतका संरचनाहरू निर्माण गरिएको छ । अहिले जाडोको मौसममा यहाँ पिकनिक खानेहरूको घुइँचो नै लाग्ने गरेको छ ।