योगेन्द्र योगी,
विराटनगर ।
जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचा–५ गुरुङ टोल निवासी ६१ बर्षीया चन्द्रकुमारी लिम्बूको मृत्यु भएको छ । सुन्दरहरैंचा–५ का वडा सदस्य घनश्याम घले गुरुङका अनुसार सोमबार साँझ नमुना सामुदायिक वनको जङ्गलमा लिम्बूलाई हात्तीले आक्रमण गरेको थियो ।
उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए। साँझसम्म घर नफर्किएपछि बिहान खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको वडा सदस्य घले गुरुङले बताए। नमुना सामुदायिक वनमा १३ वटा जंगली हात्ती रहेको र स्थानीयहरुलाई रातभर दुख दिएको उनले बताए। हात्ती कराएर रातभर सुत्न समेत दिएको छैन।
जंगली हात्तीको त्रासले गर्दा उक्त स्थानका मानिसहरु रातभर जाग्राम बस्नु परेको बताए। मंगलबार राती नै जंगली हात्तीले सुन्दरहरैंचाकै प्रमुख पर्यटकीय क्षेत्र हसिना सिमसार उत्तर पट्टीको गेट पनि भत्काएको सिमसार तथा नमुना सामुदायिक वनका अध्यक्ष घनश्याम न्यौपानेले बताए। जंगली हात्ती वस्तीमा प्रवेश गरी स्थानीयाको घर भत्काउने,अन्न खाईदिने र अन्य भौतिक सामग्रीहरु नष्ट गरिदिने गरेको गाउँलेहरुले बताएका छन्।
करिव दुई साता अघिमात्र सुन्दरहरैंचा नगरपालिका–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएकी ४० वर्षीय गंगा श्रेष्ठको पनि हात्तीको आक्रमणबाट ज्यान गएको थियो। यता हात्ती प्रवाभित क्षेत्रको अनुगमन तथा राहत दिनु पर्ने बेलामा सुन्दरहरैंचाका नगर प्रमुख कदर गुरागाई भने स(साना कार्यक्रमको उद्घाटन गर्नमै व्यस्त देखिन्छन्। जनताको नजिकको सरकार भनिएपनि त्यो आभास हुन् नसकेको हात्ती प्रवाभित क्षेत्रका स्थानीयहरुको भनाइ छ।
झापा, मोरङ र सुनसरीमा वस्ती आसपास पुगेर हात्तीले मानवीय तथा भौतिक क्षति गरिरहेको गरिरहेको प्रहरीले जनाएको छ । केही समययता नियमितजस्तै देखापर्ने जंगली हात्तीले वितण्डा मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भइरहेका छन्। हात्तीको आक्रमणबाट २ साताको अवधिमा सुन्दरहरैंचामा मात्र दुई जनाको मृत्यु भइसकेको छ।
लस्करै हिँड्ने हात्तीको बथानले सर्वसाधारणको घर भत्काइदिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको वितण्डा मच्चाइरहेको प्रहरीले जनाएको छ। जंगल क्षेत्रमा हात्तीको आवतजावत बाक्लो भएकाले एक्लै हिँडडुल नगर्न, सचेत हुन र हात्तीबाट सुरक्षित रहन प्रहरीले सबैमा अनुरोध गरेको छ। झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा हात्तीको समस्या जटिल बन्दै गइरहेको छ ।