बिर्तामोड।
नेपाली कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीले संविधान र पार्टी विधान संसोधनका विषयमा पार्टीले ठोस निर्णय लिनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति झापाले ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भ पारेर आयोजना गरेको सयदिने विशेष सांगठनिक अभियान समापन तथा जिल्ला भेला कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं सयदिने विशेष सांगठनिक अभियानका लागि झापा प्रतिनिधि गिरीले यस्तो धारणा राख्नुभएको हो ।
‘संयुक्त गठबन्धन सरकारको सहमतिको पहिलो बुँदा नै संविधानमा सुधार हो’–उहाँले भन्नुभयो–‘के के विषयमा संविधान संसोधन गर्ने हो, के के सुधार गर्ने हो ? त्यसमा कांग्रेसले ठोस निर्णय लिन जरुरी छ ।’
मिश्रित निर्वाचन प्रणालीका कारण अहिले कसैको पनि बहुमत आउने अवस्था नभएकाले निर्वाचन तथा सरकार सञ्चालनका लागि गठबन्धन गर्नुपरेको बताउँदै उहाँले भन्नुभयो–‘मिश्रित निर्वाचन प्रणाली ठिक कि बेठिक निर्णय लिन जरुरी छ, मिश्रित निर्वाचन प्रणाली फेर्दै गर्दा पार्टीको विधान के गर्ने ? यस विषयमा पनि पार्टीले निर्णय लिनुपर्छ ।’
पार्टीभित्र भातृ संघसंगठनलाई चलायमान बनाउने विषय जहाँ पनि उठ्ने गरेको बताउँदै उहाँले निर्वाचनका लागि निर्देशन समितिहरु बनिसकेकाले निर्धारित समयमा निर्वाचन हुने विश्वास दिलाउनुभयो ।
अर्को एक फरक प्रसंङ्गमा नेता गिरीले निर्माण ब्यवसायीहरुलाई निर्धारित समयभन्दा ६ महिनामात्रै समय थप गर्ने नीति कडाइका साथ लागु गरेर विकास निर्माणमा तिब्रता दिन सरकारलाई आग्रह गर्नुभयो ।
पार्टीका नेताहरुलाई गाली गरिएका लगभग ८० प्रतिशत सामाजिक सञ्जालहरु फेक आइडी बनाएर चलाइएको दावी गर्दै उहाँले यस्तालाई कारबाहीको दायरामा ल्याउन पनि माग गर्नुभयो । मास पार्टीमा अनुशासन सबैभन्दा ठूलो विषय भएको बताउँदै उहाँले सबै नेता कार्यकर्ता अनुशासित बन्न आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले मेलमिलाप नीति लिएर वी.पी. कोइराला नेपाल नफर्किएको भए देशमा प्रजातन्त्र आउँथ्यो कि आउँदैनथ्यो ? भन्ने आशंका रहेको बताउँदै नेपाली राजनीतिको अत्यन्तै महत्वपूर्ण घटना भएको बताउनुभयो । सोही योगदानका कारण गणतन्त्रसम्मको यात्रा सम्भव भएको उहाँको भनाई थियो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वय सुशिला ढकाल आचार्य र गोमा भट्टराई, नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, महासमिति सदस्य एवं कोशी प्रदेश समितिका सदस्य फूलवती राजवंशी, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, शिवसताक्षी नगर समिति सभापति अशोक बस्नेत, बुद्धशान्ति गाउँ समिति सभापति चक्र शेर्मा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा मन्तब्य राख्ने अधिकांश बक्ताहरुले सयदिने विशेष सांगठनिक अभियानले टोल, वडा र गाउँ/नगरका कार्यकर्तामा जागरण ल्याएको चर्चा गर्दै अब किसान, मजदुर, भातृ संघसंस्था केन्द्रित एवं जनमुखी कार्यक्रम ल्याउनुपर्ने, पार्टीभित्रको गुट–उपगुट छाडेर संगठन ब्यवस्थित बनाउनुपर्ने, औपचारिक कार्यक्रमको ढाँचा परिवर्तन गरेर कार्यकर्तामुखी बनाइनुपर्ने, कार्यकर्ता र नेतृत्व दुवै अनुशासित बन्नुपर्ने लगायतका धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले स्वागत, सचिव नवीन विमलीले सञ्चालन र उपसभापति शेरबहादुर भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।