झापा।
प्रहरीले झापाको कांकरभिट्टाबाट गैडाको खाग र लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसको कोठा नं १०२ बुकिङ गरी बसेका भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामले लागूऔषध ल्याई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले कोठा तलासी लिएको थियो ।
त्यसक्रममा इन्टेक्स लेखिएको काटुनभित्र एक केजी सात सय ग्राम तौल भएको गैडाको खाग , प्लाष्टिकसहित तीन ग्राम ७६० मिलिग्राम ब्राउनसुगर, पाइइभोन स्पास प्लस लेखिएको ट्याब्लेट १८ पत्ता, डिजिटल तराजु र मोवाईल एक थान फेला परेको थियो ।
उनलाई तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिइन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।