सुमन बस्नेत,
धुलाबारी ।
स्थानीय उत्पादनको र पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यले धुलाबारीमा मेची महोत्सव २०८१ हुने भएको छ ।
मेची चेम्वर अफ कमर्स मेचीनगरले आयोजना गर्ने महोत्सवका बारेमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
मेचीनगर क्षेत्रका कृषि उपज र उद्योगीहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणका साथै स्थानीय पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि माघ ४ गतेदेखि १२ गतेसम्म मेची महोत्सवको आयोजना हुने मेची चेम्बर अफ कमर्स मेचीनगरका अध्यक्ष रबिन बस्नेतले बताए ।
अहिले लागूऔषध दुव्र्यसनका कारण विद्यालय जाने उमेरका युवाहरुमा समेत नराम्रो असर परेको भन्दै बस्नेतले महोत्सवमै त्यस बिषयमा सचेतना र चिकित्सकको समेत परामर्श गर्ने व्यवस्था मिलाउने बताए ।
कुलतबाट जोगाउन विद्यार्थीहरुलाई महोत्सवमै सचेतना कार्यक्रममा सञ्चालन गर्ने तयारी समेत गरेको चेम्बरका उपाध्यक्ष शान्तिराम चिमरियाले बताए । मेचीनगर क्षेत्रका साना ठूला सबै खाले उद्योगलाई महोत्सवमा जोडेर लैजाने चेम्बरका अर्का उपाध्यक्ष भिम कँुवरले बताए ।
महोत्सवमा ३६ वटा स्टल रहने महोत्सव अवधिभर स्वास्थ्य शिविर, कृषि उपजको प्रर्दशनी तथा बिक्री, विभिन्न जातजातिको झाँकी प्रस्तुति, गीत–संगीत क्षेत्रका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती, विभिन्न खेलकुद र मेचीनगरका पर्यटकीय क्षेत्रको प्रर्वद्धन कार्यक्रम समेत राखिएको चेम्बरका महासचिव प्रकाश खड्काले बताए ।
धुलाबारी चोक उत्तरतर्फको खाली जमिनमा सञ्चालन हुने महोत्सवमा करीब छ लाख खर्च हुने प्रारम्भिक अनुमान गरिएको महासचिव खड्काले बताए । उनले संस्थाको २१ जना कार्यसमिति, आजीवन सदस्य र साधारण सदस्य गरी एक सय आठ जना रहेकाले सबैले एक हजारका दरले महोत्सव सम्पन्न गर्न सहयोग गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्यस्तै अन्य सहयोगीबाट करिब दुई लाख संकलन गरिने र मेचीनगर नगरपालिकाबाट न्यूनतम तीन लाखको अपेक्षा गरेको खड्काले बताए ।