विद्यार्थीको सिकाइमा जलवायु परिवर्तनको असर

0
37

कुनै बेला मानव सभ्यतालाई थरर कमाउने गरी एचआइभी एड्स तगारोको रुपमा उभिएको थियो । धेरै अफ्रिकी मुलुकहरु यसबाट तहसनहस हुनेगरी गिजोलिएका थिए । बेला–बेला कोरोना, प्लेग जस्ता महामारीले मानव समाजलाई थिलथिलो बनाएको देखिन्छ । वर्तमान विश्व जलवायु परिवर्तनको चपेटामा परेको छ । यसले प्रभाव नजमाएको कुनै क्षेत्र पनि छैन । कृषि, उद्योग, स्वास्थ्य, रोजगारी, निर्माण हुँदै शिक्षाको क्षेत्र समेत प्रभावित भएको छ । आजको आलेखमा बालबालिकाहरूमा जलवायु परिवर्तनको असरले सिकाइमा पारिरहेको प्रभाव बारे खोजखाज गर्ने प्रयास गरिएको छ ।

बालबालिकाहरूले स्वतन्त्र ढङ्गबाट आ–आफ्नो भाषामा प्राथमिक तहदेखि उच्चतहसम्म निर्वाधरुपमा शिक्षा लिन पाउनु पर्दछ । आज यसलाई उनीहरूको नैसर्गिक अधिकारको रुपमा हेरिन्छ । बालबालिकाहरू बिहान उठेदेखि बेलुकीसम्म जति क्रियाकलापमा भाग लिन्छन् जलवायु परिवर्तनको असरको चपेटामा पर्दछन् । बिहानको पहिलो श्वासमा वायुमा भएका विकार तत्वहरू उनीहरूको फोक्सोमा पुग्दछ । जलवायु परिवर्तनको कारण बदली हुँदै गरेको हावापानीको असर बाल शरीरमा सबैभन्दा बढी पर्दछ । बेमौसमी चिसो, अति बढी तापक्रम, अम्लीय वर्षा, प्रदूषित वायु, दूषित पिउने पानीले उनीहरूलाई सुरक्षित बनाउने कुरै भएन । जलवायु परिवर्तनले बालबालिकालाई रोगको थप जोखिममा पु¥याउँछ ।

बढ्दो तापक्रमले लामखुट्टेको संख्यामा अत्यधिक वृद्धि भएको छ । यसको कारण मलेरिया उन्मूलन भए पनि डेङ्गु,जीका, वेस्टनाइल भाइरस आदिको संक्रमण बढ्दै गरेको देखिन्छ । यहाँ यसलाई एउटा सानो उदाहरणको रुपमा प्रस्तुत गरिएको हो । यस्ता कुराको असर बालबालिकामा अत्याधिक हुन्छ । किनकि उनीहरूको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता न्यून हुन्छ । कुनै बेला रोगको खासै असर नपरेका स्थानहरूमा अहिले मलेरिया, डेङ्गु, कालाज्वार जस्ता रोगहरू फैलिरहेका छन् । यसको कारण बालबालिकाहरूको स्वास्थ्यदेखि शिक्षा र मानसिक अवस्थामा पनि असर पर्दछ ।

प्रख्यात जर्नल ‘नेचर कम्युनिकसन’मा यसै वर्ष प्रकाशित एउटा अध्ययन अनुसार यस शताब्दीको पहिलो दुई दशकमा प्रति एक लाख नवजात शिशुमध्ये ३० जनाको मृत्युको कारण जलवायु परिवर्तन बन्न पुगेको छ । विश्वका ३० वटा देशहरूमा गरिएको उक्त अध्ययनको तथ्याङ्कमा नेपाल पनि परेको थियो । जस अनुसार नेपालमा प्रति एक लाख नवजात शिशुको मृत्यु हुँदै गर्दा १० जनाको मृत्युको कारण जलवायु परिवर्तन भएको उल्लेख गरिएको छ । युनिसेफ ग्याल अपको सर्वेक्षणका अनुसार औसतमा १५ देखि २४ वर्षका ८५% युवाले जलवायु परिवर्तनबारे सुनेका छन् । तर, ती मध्ये केबल ५० प्रतिशतमा मात्रै यसको सही अवधारणा रहेको छ । युनिसेफको प्रतिवेदनले समेत सन् २०५० को दशकमा सन् २००० को दशकको तुलनामा विश्वका आठ गुणाभन्दा बढी बालबालिकाहरूले जलवायु परिवर्तनको सामना गर्ने प्रक्षेपण गरेको छ ।

एउटा विश्लेषण अनुसार नेपालको जनसंख्या सन् २०५० मा तीन करोड ५० लाख जति पुग्ने र १८ वर्ष मुनिका बालबालिकाको संख्या त्यसको झन्डै ३५% हुने बताइएको छ । त्यसकारण पनि जलवायु परिवर्तनको असर परिरहेको बालबालिकाको संख्या आगामी दशकमा घट्ने होइन बरु बढ्दै जाने निश्चित जस्तै देखिन्छ । नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेशन सँग आबद्ध डाक्टर पुष्पराज पन्तले यस बारेमा अनुसन्धानत्मक लेख समेत प्रकाशित गरेका छन् । ‘विश्वका बालबालिकाको अवस्था’ भन्ने युनिसेफको २०२४ को प्रतिवेदनमा जलवायु परिवर्तन एवम् बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित कुराले उच्च प्राथमिकता पाएको छ ।

हालै मात्र हेगमा रहेको अन्तर्राष्ट्रिय अदालत इन्टरनेसनल कोर्ट अफ जस्टिसद्वारा आयोजित जलवायु परिवर्तनका सन्दर्भमा राज्यको दायित्व सम्बन्धी सार्वजनिक सुनवाईमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. आर्जु देउवाले आफ्ना भनाइहरू राखेकी थिइन् । उनले कहिल्यै नगरेका गल्ती र अपराधका लागि समेत नेपाल दण्डित हुनु परेको बताइन् । उनले नेपालका हिमताल र हिमनदीले विश्वको समग्र जलवायु सन्तुलन कायम गर्न पारिस्थितिकीय प्रणाली तथा जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आए पनि विश्वव्यापी तापक्रम वृद्धिको कारण यो क्षेत्र आक्रान्त बनिरहेको बताइन् ।

जलवायु परिवर्तनका सन्दर्भमा राज्यको मानव अधिकार कानूनसँग सम्बन्धित दायित्वबारे बोल्दै उनले आफ्नो भू–भागभन्दा बाहिर हुने कार्य र उत्सर्जनले पनि प्रभाव पार्ने भएकोले जोखिममा रहेका राष्ट्रहरुले अन्तर्राष्ट्रिय मानव अधिकार कानून अन्तर्गत विशेष अधिकार सुरक्षामा आफ्नो दायित्व पूरा गर्न नसकिरहेको तर्क प्रस्तुत गरेको कुरा बिर्सनुहुन्न । अब यस्ता अन्तर्राष्ट्रिय फोरमहरूमा यहाँका नेताहरूले जलवायु परिवर्तन को चपेटामा विद्यालयमा पढ्ने विभिन्न उमेर समूहका विद्यार्थीको स्वास्थ्य र सिकाइमा पर्न गएको असरको बारेमा बोल्न सक्नु पर्दछ ।

हालका वर्षहरूमा बैशाख ज्येष्ठ महिनामा अत्यधिक गर्मीका कारण वर्षे विदा अगावै गर्मी विदा गर्नुपरेको बाध्यता विद्यालयहरूले झेलेको केही वर्ष भएको छ । वर्षायाममा अत्यधिक वर्षा हुने, वर्षायामपछि पनि बेमौसमी वर्षाको कारण बाढी आउने भएबाट विभिन्न स्थानका विद्यालयहरू बन्द गर्नुपर्ने परिस्थिति देखिएको छ । कुनै–कुनै दिनहरूमा वायुमण्डलमा अत्याधिक धुलो, धुवाँ, तँुवालोको कारण विशेष स्थानका विद्यालयहरू केही दिनको लागि बन्द गर्नुपरेको घटना दोहोरिरहेका देखिन्छन् ।

अत्यधिक चिसो बढेर समेत विद्यालयमा आफ्नो शैक्षिक पात्रो नमिलेपनि छुट्टी गर्नुपर्ने बाध्यता परेको देखिन्छ । अब विद्यालयहरूले एवम् पालिकाहरूले पनि आफ्नो शैक्षिक पात्रो तयार गर्दा जलवायु परिवर्तनको कारण सिर्जित बेमौसमी असर पर्न सक्ने दिनहरूको समेत आँकलन गरी शैक्षिक पात्रो निर्माण गर्नुपर्ने हुन्छ । एकातिर यस्तो अवस्था बढ्दै गरेको छ भने अर्कोतर्फ बदलिँदो वातावरणको कारण बालबालिकाको स्वास्थ्यमा समस्या उत्पन्न भएर उमेर अनुसारको तहगत सिकाई को लक्ष्य प्राप्तिमा बाधा परेको देखिन थालेको छ ।

यसलाई शिक्षा तथा वातावरण क्षेत्रमा काम गर्ने विज्ञहरू तथा यसका सरोकारवाला हरूमा बेलैमा चिन्ता जाग्नु पर्ने देखिन्छ । जलवायु परिवर्तनको चपेटामा परेका बालबालिकाहरूको स्वास्थ्य , शिक्षा र मानसिक अवस्थाको बारेमा जनचेतनामूलक कार्यक्रमहरू गर्ने तथा तदनुरुपको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने कार्यमा स्थानीय सरकारहरू चनाखो बन्नुपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here