अर्जुनधारा ।
झापाको अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयको ६७औं वार्षिकोत्सवको अवसरमा बिहीबारदेखि दोस्रो कृष्णप्रसाद डाँगी स्मृति नगरस्तरीय आधारभूत तह विद्यालय नकआउट फुटबल प्रतियोगिता–२०८१ शुरु भएको छ ।
“हामीहरु बालबालिका लेख्न पढ्न पाउनुपर्छ, हामीहरु हाँस्न खेल्न र रमाउन पाउनुपर्छ” भन्ने मुख्य नारासहित स्थानीय अरुणकुमारी डाँगीको प्रायोजन र महारानीगञ्ज बाल क्लबको आयोजनामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले उद्घाटन गरेका थिए ।
जुनकिरी आधारभूत विद्यालय, बालकल्याण आधारभूत विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, आधारभूत विद्यालय, महारानीगञ्ज माध्यमिक विद्यालय, भानु आधारभूत विद्यालय, जनता माध्यमिक विद्यालय, गणेश आधारभूत विद्यालय, भानु माध्यमिक विद्यालय, कालिस्थान माध्यमिक विद्यालय र सिंहदेवी माध्यमिक विद्यालयसहित जम्मा ११ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कार क्रमश २० हजार र १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, फाइनल खेलको उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट गोलकर्ता खेलाडीलाई जनही नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरिने प्रतियोगिताको फाइनल खेल यही माघ २५ गते रहेको छ ।
सोही कार्यक्रममा अर्जुनधारा–११ वडा खेलकुद विकास समितिका अध्यक्ष अर्जुन लम्जेलले आयोजक क्लबकी अध्यक्ष सुहानी राजवंशीलाई दुई थान फुटबल हस्तान्तरण गरेका थिए । क्लबकी अध्यक्ष राजवंशीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार संयोजक लक्ष्मी तामाङ राई, पूर्व प्रधानाध्यापक हस्त परियारलगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइरालाले प्रतियोगिताको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक मणिलाल खड्काले गरेका थिए । त्यस्तै कार्यक्रममा महारानीगञ्ज मावि र स्थानीय एभरग्रीन बोर्डिङ स्कूलका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
यसैबीच सोही दिन सम्पन्न पहिलो उद्घाटन खेलमा स्थानीय जुनकिरी आधारभूत विद्यालयले अर्जुनधारा–६स्थित बालकल्याण आधारभूत विद्यालयलाई ५–० गोल अन्तरले पराजित गरेको छ । जुनकिरीको जीतका लागि खेलको ११औं, १९औं, २५औं र २८ औं मिनेटमा रोशन हस्दाले चार गोल र खेलको २४औं मिनेटमा दिवस दर्जीले एक गोल गरेका थिए ।