बिर्तामोड ।
साहित्य चौतारी बिर्तामोड झापा नेपालले संस्थाको रजत वर्ष विशेषाङ्क कृति पूर्ण लोकार्पण, पुस्तकालय शुभारम्भ, अक्षयकोष हस्तान्तरण, संस्थागत अभिनन्दन, श्रष्टा सम्मान लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा संस्थापक सल्लाहकार, मदन पुरस्कार बिजेता, अभिनन्दित वरिष्ठ साहित्यकार कृष्ण धरावासीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक संस्थाका उपाध्यक्ष हिम्मत नेम्बाङले स्वागतसहित औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा संस्थागत साहित्यिक संस्था सम्मान कार्यक्रम अन्तर्गत त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारी र देवकोटा स्मृति भवन भद्रपुर झापालाई सम्मान गरिएको थियो । त्यस्तै अध्यक्ष श्रेष्ठले अर्जुनधारा–१ साधुटारमा भएको सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायागमा संस्थाको तर्फबाट अक्षयकोषका लागि प्रदान गरिएको ५१ हजार एक सय ५१ रुपैयाँको चेक शंकराचार्य पीठ साधुटारका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडालाई हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा साहित्यकार हेम अधिकारी दम्पत्ती, वरिष्ठ चित्रकार डिल्लीकृष्ण आले, गायक तथा संगीतकार प्रदीप देवान दम्पत्तीलाई अभिनन्दन, स्वास्थ्यकर्मी लालबहादुर सुब्बा दम्पत्ती, गायक, संगीतकार तथा कलाकार मातृका संग्रौला दम्पत्ती र साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाको रजत वर्ष (२५ वर्ष) सम्मका विभिन्न गतिविधिहरुलाई समेटेर तयार पारिएको रजत बर्ष विशेषाङ्कको पूर्ण लोकार्पण गरिएको थियो । साहित्य चौतारी बिर्तामोड झापाले साहित्य चौतारी विशेषाङ्कको पहिलो र दोस्रो अंक समेत प्रकाशित भइसकेर यस वर्ष रजत वर्ष विशेषाङ्क प्रकाशित भएको छ । कार्यक्रममा श्रेष्ठ र संस्थाका संस्थापक, संरक्षक तथा वरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठको ३९औं वैवाहिक बर्षगाठ मनाइएको थियो ।