सामाजिक सञ्जाल विधेयकप्रति आपत्ति

0
13

सरकारले सामाजिक सञ्जाल सम्बन्धी संसदमा प्रस्तुत गरेको विधेयकप्रति नेपाल पत्रकार महासंघले असहमति प्रकट गरेको छ । सरकारले गत मंगलबार सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संसदमा दर्ता गरेको थियो । सामाजिक सञ्जाललाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन भन्दै यो विधेयक संसदमा लगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता गरेको छ । विधेयकमा सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्दै सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित तथा व्यवस्थित गर्ने र नियमन गर्ने सम्बन्धमा कानून निर्माण गर्न आवश्यक रहेको उल्लेख छ । प्रस्तुत विधेयकमा राष्ट्रहित प्रतिकूल हुने कार्य, मिथ्या सूचनाको दुष्प्रचार र सूचना तोडमोड गर्ने, कानूनद्वारा निषेधित विज्ञापन लगायतका प्रयोग गरेको पाइए करोड रुपैयाँमा जरिवाना गर्ने व्यवस्था छ ।

सरकारले विधेयक प्रस्तुत गरे लगत्तै सूचना प्रदायक संस्था नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा उल्लेख केही प्रावधानप्रति गम्भीर असहमति र आपत्ति प्रकट गरेको छ । महासंघले अगुवा नागरिक संस्था, महासंघ लगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफल समेत नगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि आघात पर्ने प्रावधान समावेश गरी विधेयक ल्याएको प्रति आपत्ति जनाएको हो । बुधबार विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसँग गहिरो संवाद मार्फत विश्वव्यापी मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य–मान्यता, संवैधानिक प्रावधान र अभ्यास विपरीत नहुने गरी सच्याएर मात्र विधेयक प्रस्तुत गर्न आग्रह समेत गरेको छ । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानून स्वीकार्य नहुने भन्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । यसअघि अन्तर्राष्ट्रिय महासंघले पनि विज्ञप्ति जारी गर्दै प्रस्तुत गरिएको विधेयकका प्रावधानप्रति आपत्ति प्रकट गरेको थियो ।

सामाजिक सञ्जाल पछिल्लो समयको सबैभन्दा प्रभावकारी सूचनाको माध्यम बनिएको छ । एक्काइसौं शताब्दीको प्रारम्भसँगै विकास भएको यो प्रविधि इन्टरनेटको माध्यमबाट प्रवाहित हुन्छ । नेपाली समाज पनि प्रविधिमा भएको तीब्र विकासले यसको पहुँचमा पुगिसेको छ । आफ्ना विचार, सिर्जना र अभिव्यक्ति गर्ने यो माध्यम नै सामाजिक सञ्जाल हो, जसमा फेसबुक, वाट्सएप, टिवटर, युट्युव लगायतका माध्यम प्रयोग गरिन्छन् । पहुँचको छोटो समयमै नेपालीको समेत हात–हातमा पुगिसकेको सञ्चारको यो माध्यम यदाकदा दुरुपयोग पनि भइरहेको छ । एकअर्काका बीच प्रतिद्वन्द्विता बढाउन पनि प्रयोग हुने यसको माध्यमबाट भएका अपराधका ठूला–ठूला घटनाहरु सार्वजनिक भएका छन् । यद्यपि यसको प्रयोग, सेवा प्रवाहदेखि आफ्ना भावना, विचार र अनुभव आदान–प्रदान गर्न, नयाँ सिकाइ ग्रहण गर्न, काममा श्रेष्ठता हासिल गर्न र समाजलाई सचेत गराउन बढी सहयोगी छन् । त्यही सञ्जाल कहिलेकाहीँ नकारात्मकता र अपराध हुर्काउने माध्यम बनिने गरेको छ । त्यहीकारण देखाएर नागरिक हक र स्वतन्त्रता कुण्ठित हुनेगरी नियन्त्रणका लागि कठोर प्रावधान राखिनु उचित हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here