संकटमा समाजवादी आन्दोलन

0
26

विश्व ब्राह्मण्डका सम्पूर्ण वस्तुको विकास र विनाश अनिवार्य हुन्छ । यो प्रकृतिको अकाट्या नियम हो । पृथ्वीमा मानव उत्पत्ति भएसँगै क्रमशः मानव समाज निर्माण भयो र विभिन्न चरणहरु पूरा गर्दै विश्व मानव समाज आज यो अवस्थासम्म आइपुगेको छ । भनिन्छ मानिस संसारको सर्वश्रेष्ट र असन्तोषी प्राणी हो । आज मानिस अनेकौं खोज अध्ययन अनुसन्धान त्याग समर्पण निरन्तरको संघर्ष र प्रयासले मानव समाज आज भुमण्डिकृत पुँजीवादसम्म आइपुगेको छ । यो मानव समाज हिजोभन्दा सयौं गुणा सुविधासम्पन्न छ । यसको मूल कारण विज्ञान, प्रविधि, मानव खोज, अध्ययन अनुसन्धानबाट मानिसले हासिल गरेको ज्ञान र मानव चेतनाले यो कुराको पुष्टि गर्छ । यो बिषयको गम्भीरताबाट पनि हामी सहजै अनुमान लगाउन सक्छौं कि मानिस कै कारण मानव समाज कहिले पनि यथास्थितिमा रहिरहन सक्दैन ।

हालको अवस्थाबाट परिवर्तित समाज कस्तो हुन्छ र हुनु पर्छ भन्ने चासो सबैमा रहनु स्वभाविक नै हो । त्यसको निम्ति के–कस्ता सचेत प्रयत्नहरु भइरहेका छन् र त्यसको प्रभाव नेपाली समाजमा कस्तो छ भन्नेबारे चर्चा गरौं । १८४८ फेब्रुअरी १२ मा कम्युनिस्ट घोषणापत्र जारी भएपछि यूरोपियन देशहरूमा समाजवादी विषय प्रवेश ग¥यो र यस विषयमा स्वयम् माक्र्सले भनेका छन्– ‘युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ, साम्यवादको हाउ । यसलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् ।’
समाजवाद भनेको सामान्य अर्थमा यसरी बुझ्न् सकिन्छ । समाजवाद एक राजनीतिक र आर्थिक प्रणाली हो । जहाँ उत्पादन, वितरण र विनिमयका साधनहरूको स्वामित्व वा नियमन सामुहिक रूपमा गरिन्छ, सामान्यतयाः राज्य वा जनताद्वारा समाजवादको लक्ष्य भनेको सामाजिक समानतालाई बढावा दिनु, वर्गभेदलाई कम गर्नु र सम्पत्ति र स्रोतहरूलाई जनसंख्यामा समान रूपमा वितरण गर्नु हो । विश्वमा नौ वटा देशमा समाजवादी भनिने पार्टीको सत्ता छ भने पाँच वटा देशमा कम्युनिस्ट सत्ता छ । जसमध्ये चार वटा (चीन, लाओस, क्युबा र भियतनाम) माक्र्सवादी–लेनिनवादी विचारधारामा आधारित छन् भने उत्तर कोरियाको फरक मान्यता छ ।

यसरी हेर्दा के देखिन्छ भने समाज परिवर्तनमा समय ठाउँ देश र परिस्थिति अनुसार आ–आफ्नै किसिमका विशेषताहरु हुन्छन् । युरोपियन देशहरू लगायत धेरै देशहरूमा सामन्तवादी सत्ता ढलेसँगै पुँजीवादी सत्ता विकसित हुँदै गयो, तर नेपाल भने सामन्तवादी सत्ता ढलेसँगै पुँजीवाद विकासित हुँदै गयो । सामन्तवादको अवशेषहरु पनि यथावत नै रहिरह्यो । यो सबै हिसाबले फरक किसिमको पुँजीवाद नेपालमा विद्यमान छ । यसले मानव समाजलाई सु–व्यवस्थित गर्न सक्ने कुरै भएन । राज्यसत्ता जनताबीचको अन्तरसम्बन्धको पर्खाल झनै चुलिँदै गइरहेको छ । शुलभ शिक्षा, स्वास्थ्य, वेरोजगारीबाट नागरिक वञ्चित छन् । युवा विदेश पलायन, भ्रष्टाचार, कालोबजारी, विदेशी ऋणको भार, विदेशी हस्तक्षेपको अवस्था कहालीलाग्दो छ ।

यो सबैबाट मुक्त गरेर समुन्नत समाज कसरी निर्माण गर्न सकिन्छ त ? धेरैलाई लाग्न सक्छ । हालसम्म सत्तामा भएका दलहरु र त्यसका नेताहरु पार्टी नीति, पद्धति र कानून पूर्णतः कार्यान्वयनमा इमानदार भए तमाम समस्यहरु हल हुन्छ र सबै समस्याको समधान हुन्छ । तर, यो कुरा आंशिक मात्रै सत्य हो । वास्तविकता के हो भने हालको सम्पूर्ण समस्या हल गर्न पहिलो कुरा त संविधान नै समाजवादी मान्यतामा आधारित हुनु पर्छ । नेपालको संविधान २०७२ समाजवाद उन्मुख भनेर उल्लेख गरिए पनि मुलभूत रुपमा संविधानमा समाजवादी मान्यतामा आधारित राज्यको कुनै पनि नीतिहरु अर्थनीति शिक्षा, स्वास्थ्य लगायत जनताका मौलिक अधिकार राज्यको पुनःसंरचना प्रष्टरुपमा समाजवादी नीति र मान्यतालाई अंगिकार गरेको छैन ।

आत्मनिर्भरता स्रोतसाधनमा समान्नातर वितरण प्रणालीको व्यवस्था छैन । किनकि यो समाजवादी संविधान होइन । अहिले कै संविधान र राज्यसत्ताको अभ्यासबाट स्वाधीन राष्ट्र र समुन्नत नेपाल सुखी नेपालीको परिकल्पनासम्म पनि गर्न सम्भव छैन । त्यसकारण अहिलेको निकास भनेको समाजवाद हो । यसको प्रप्तिका लागि जनताको उच्चतम् चेतना सचेत प्रयत्न अनि निर्णायक संघर्ष आवश्यक हुन्छ । कुनै पनि विद्रोह जनताको संगठित संघर्ष बिना सम्भव छैन । त्यसको नेतृत्व कुनै पनि संघ–संगठन राजनीतिक दल वा लोकप्रिय स्वाविमानी व्यक्तिले गर्नु पर्दछ । साथै समाजवाद स्थापनाका लागि सही नीति योजना कार्यक्रमहरु ठोस रुपमा आगाडि सरेको हुनु पर्दछ अनि मात्रै जनताको आवाजलाई केन्द्रिकरण गर्न सकिन्छ त्यसैले समाज र सत्ता बदल्न सकिन्छ ।

के नेपालमा समाजवादी आन्दोलनलाई ठिक ढङ्ले अगाडि बढाइरहेका संघ–संगठन वा राजनीतिक दलहरु छन् ? समाजवाद भन्ने शब्दको नेपालमा भ्रष्टीकरण यसरी गरिएको छ कि जो पनि समाजवादी भन्दिए हुने । मूल्य र मान्यता आधारित हुन नपर्ने । नेपाली कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्यो । यो आदर्शको जमिनमा टेकेर पञ्चायतबिरुद्धको लडाइँ लड्यो । २०४६ को परिवर्तनपछि नेपाली कांग्रेसले प्रष्ट बहुमत पायो र सकारको नेतृत्व पनि ग¥यो नीति तथा कार्यक्रम निर्माण पनि ग¥यो । तर, सरकारले खुला अर्थतन्त्र र निजीकरणको बाटो लियो । समाजवादी कार्यक्रमको कुनै ढाँचा प्रस्तुत गर्न सकेन । उसको आदर्श बहुदलीय प्रतिस्पर्धामा आएर टुंगियो । समाजवादलाई परिभाषित गर्दै नीति तथा कार्यक्रम तयार गर्नुको साटो बरु निजीकरणको नाममा सबै राष्ट्रिय उद्योग, कलकारखाना ध्वस्त पा¥यो ।

कम्युनिस्ट नामधारीको अर्को ठूलो पार्टी नेकपा (एमाले) जसले वि.सं. २०४९ सालमा (जबज)लाई पथ प्रर्दशक सिद्धान्त माने र दस्तावेजीकरण गरेसँगै माक्र्सवादी मूल्य, मान्यता, विचार, आचरण र दर्शनलाई चुनावी खाडलमा पु¥यो र सम्पूर्णरुपले पुँजीवादी पार्टीभन्दा पछौटे गतिविधिमा लिप्त भयो । यस्तो पार्टीमा समाजवादी आन्दोलन बच्न सक्ने कुनै सम्भावना नै भएन् । माओवादको हिमायती मान्ने प्रचण्ड नेतृत्वको माओवादी (केन्द्र) चुमबाङ बैठकको विचलनलाई बुटवल महाधिवेशनमा ल्याएर गरिएको २१औं शताब्दीको नौलो जनवाद संश्लेषण गरेसँगै सैद्धान्तिक, राजनीतिक, विचार, आचरण, दर्शन र संगठन सबै हिसाबले एमालेभन्दा फरक रहन सकेन यसको पुष्टि एमालेसँगै सत्ता स्वार्थका लागि गरिएको एकताले राम्रोसँग पुष्टि गरिसकेको छ । यो सबै गतिविधि हेर्दा समाजवादी आन्दोलनलाई पार्टीमा जिवित राख्न सकेन ।

माओवादी आन्दोलनको क्रान्तिकारी धाराको रुपमा आफ्नो छुट्टै परिचय निर्माण गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संशोधनवादी, यथास्थितिवादी जड्शूत्रवादी र संसदवादी जस्ता विचलनकारी धाराहरु नेपालका कम्युनिस्ट पार्टी र नेताहरूमा देखिन थालेपछि सबैसँग विद्रोह गरी गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत वैज्ञानिक समाजवादी आन्दोलनलाई विकास गर्ने र नेतृत्व गर्दै संघर्ष गर्ने प्रयास गरिएको थियो । जसको नेतृत्व विप्लवले गरेका थिए । १२ जना निहत्था नागरिकहरुले आफ्नो बलिदान गर्न पुगे, तर पनि यो संघर्ष खास कुनै पनि उपलब्धि बिना तीन बुँदे सहमतिमा टुङ्गियो । मुख्य कुरा त पार्टीको कार्यनीति अस्पष्टता नै हो । त्यो भनेको फरक–फरक प्रकृतिको संघर्षको स्वरुपलाई एउटै पार्टीले एकै समयमा सन्तुलन कायम गर्न नसक्नु थियो ।
एउटै समयमा एउटै पार्टीले सशस्त्र प्रकृतिको संघर्ष र जनक्रान्तिलाई नेतृत्व गर्ने बिषय वैज्ञानिक र वस्तुवादी थिएन । यो कुराको पुष्टि पार्टी प्रतिबन्धित भएपछि पार्टीले सञ्चालन गरेको केही सशस्त्र प्रकृतिको संघर्षले गर्दा पूर्णतः परम्परागत भूमिगत रुपमा मात्रै पार्टी सिमित हुन पुग्यो । कार्यनीतिले निर्देशित गरेको जस्तो जनपरिचालन र जनसंघर्ष अघि बढाउन सकेन त्यसकारण न त सशस्त्र प्रकृतिको संघर्षलाई नै गति दिन सक्यो, न जनक्रान्ति र जनसंघर्षलाई नै स्थापित गर्न सक्यो । यो सबै हेर्दा कार्यनीति अस्पष्टता नै तीन बुँदेको मूल कारण बन्न पुग्यो र त्यसपछि पार्टी नराम्रोसँग राज्यको कानूनी झमेलामा फस्यो । राजनीतिक उतारचडावका कारण सरकारको तर्फबाट तीन बुँदे सहमति पनि ठिक ढङ्गले कार्यान्वयन हुन सकेन ।

पार्टीले पनि उचित दबाब सिर्जना गर्न सकेन । यस्तो अवस्थामा एउटा क्रान्तिकारी पार्टीले क्रान्तिलाई बचाई राख्ने विषय सामान्य विषय थिएन । जनताकको आशा, भरोसा कायम राख्दै राज्य सत्ताको बिरुद्ध संघर्ष गर्नु, तस्कर, भ्रष्ट र विचौलियाहरुसँग लड्नु साथै देश र जनताको आवश्यकता अनुसार संघर्षको कार्यनीति लागू गर्न सके मात्रै समाजवादी क्रान्तिलाई जिवित राख्न सकिन्थ्यो । तर, पार्टीले यस्तो देश र जनताको आवश्यकता अनुसारको संघर्षको प्रष्ट खाका तयार गर्न र गतिविधि अगाडि बढाउन सकेन । बरु राज्य सत्ताको नीति, विधि र सीमाभित्र रहेर सहकारी, उद्योग, उत्पादनबाट आत्मनिर्भरताको रटान गरिरहेको छ ।

के राजनीतिक, संवैधानिक नीति र राज्य सत्तासहितको हस्तक्षेप बिना अहिलेको पँुजीवाद सत्तासँग लडेर पराजित गर्न सकिन्छ ? सकिन्न भने त राजनीतिक, संवैधानिक नीति र राज्य सत्ताप्रतिको संघर्ष मुख्य हुनुपर्ने हो । तर, पार्टीको कार्यनीति सत्ताको नियमभित्रबाट चुनाव, उत्पादन र आत्मनिर्भरताको फण्डा गर्नाले यो पनि दार्शनिक सैद्धान्तिक र नीतिगत रुपमा पनि समाजवादी क्रान्तिलाई ठिक ढ्ङले हिँडाउन सक्ने अवस्थामा देखिँदैन, बरु समाजवादी मोर्चा होस या संसदीय चुनाव र माओवादी केन्द्रसँग एकता लागि विप्लवले देखाएको हुटहुटी हेर्दा अन्य दलहरुलाई समाजवादी आन्दोलनमा समाहित गर्नुभन्दा पनि आफू पुरानो दल र प्रक्रियामा समावेश हुन हरातो गरेको देखिन्छ । यो कार्यले पनि समाजवादी क्रान्तितिर बाटो निर्देश गर्दैन ।

गम्भीर प्रश्न त यो छ कि ? समाजवादी मोर्चामा भएका दलहरु ठेकेदार र राज्य सत्ताको दुरुपयोगबाट चलेका छन् । विप्लव नेतृत्वको नेकपा आफ्नै पौरखमा टिक्ने नीतिसहित संघर्ष र उत्पादन गर्दै गरेको देखिन्छ । साथै संस्कृति, राजनीतिक पार्टी जीवन व्यवहारमा अन्य दलहरुभन्दा नितान्त फरक देखिन्छ । यो सबै बिषय माओवादी केन्द्रसँग एकता होस या कुनै कम्युनिस्ट घटकहरु नेकपाको नीति हावी गराएर एकता गर्ने अवस्था त देखिँदैन फेरि प्रगतिशील र क्रान्तिकारी नीतिहरु सबै लत्यार एकताको हुँयाले मात्रै त समाजवादी मूल्य र मान्यता स्थापित गर्न सकिन्न । मुलतः तीन बुँदेपछि जुन गतिविधि र दृष्टिकोणबाट पार्टी अगाडि बढेको छ । निश्चय नै यसको क्रमभंगता बिना पार्टीले समाजवादी आन्दोलनलाई जिवित राख्न सक्ने अवस्था देखिँदैन । धेरैको दृष्टिकोण के छ भने चुनावी नीतिलाई संसदवादी गतिविधिको कसीबाट मात्रै हेर्ने र संसदवादी बन्यो भन्ने जमात पनि छ । तर, वास्तवमा क्रान्तिकारी पार्टीले चुनावमा भाग लिने बित्तिकै संसदवादी भई हाल्ने दलाल पार्टी भई हाल्छ भने दृष्टिकोण पनि धेरै पछौटे दृष्टिकोण हो ।

मुख्य कुरा कुनै पनि कम्युनिस्ट पार्टीभित्र माक्र्सवादी मूल्य–मान्यता विचार राजनीतिक संगठन निर्माण भएको छ कि छैन । नेता, कार्यकर्ताको जीवन, व्यवहार, अनुशासन, नैतिकता, संघर्ष, पार्टी संरचना यो सबै मापदण्ड पूरा गरेको छ या छैन भन्ने कुरा मुख्य प्रश्न हो । यो सबै प्रक्रियाबाट पनि विप्लव नेतृत्वको नेकपाले स्थिरता कायम गर्न नसक्नु संगठनको संरचना पहिलाको बाट बद्लेर अहिलेकै सत्ताको संरचनामा जानु, वैज्ञानिक समाजवादबाट नेपाली विषेशताको समाजवादमा बदल्नु, हिजोको पार्टी र आज यूर्टनमा पुग्नु, १० वर्ष जनयुद्धलाई संविधान सभा मार्फत संसदवादमा पु¥याएको जस्तो फेरि १०औं वर्ष जनतालाई झुक्याएको कुरा किन आज नेपाली विषेशताको समाजवाद भन्दै छन् । यसलाई आफू अनुकुल व्याख्या गर्ने र पुराना शक्तिहरुसँग साठगाँठ गर्ने एक अर्को फण्डा त होइन ?

यस्तो भयो भने चाहिँ देश र जनताका लागि दुःखको कुरा हो । आज चुनाव लडेको पार्टीको भोलि देश र जनताको निम्ति लडाइँ लड्न पनि सक्छ । यो त राष्ट्रिय÷अन्तर्राष्ट्रिय विगतले पनि पुष्टि गरेको छ । तर, अन्य विषय पार्टीभित्र माक्र्सवादी मूल्य–मान्यताहरु, विचार दर्शन, संगठन संरचना, संघर्ष सबै कुराले यो कुराको पुष्ट हुनु पर्दछ र मात्रै समाजवादी क्रान्तिलाई जिवित राख्न सकिन्छ । विप्लव नेतृत्वको नेकपा यो कुरामा प्रष्ट गर्न नसक्नु पछौटे दृष्टिकोण भएका जनतामा परीक्षण भइसकेका दलहरूसँग पछाडि फर्केर एकताको कुरा गर्न बाध्य भएका छन् । त्यसकारण पनि भाषण गरेको जस्तो समाजवादी आन्दोलनलाई लिड गर्ने सम्भावना देखिँदैन । त्यसकारण समाजवादी आन्दोलन संकटको घडीमा छ ।

नेपालका तमाम समस्या समाधानका निम्ति समाजवाद अपरिहार्य सामाजिक व्यवस्था हो । समाजवादी क्रान्ति बिना समाजवादी व्यवस्था सम्भव छैन । तर, नेपालको सन्दर्भमा कुनै पनि राजनीतिक दलहरुले ठोस समाजवादी क्रान्तिको रोडम्याप र क्रान्तिको विधि प्रष्ट गर्न नसक्दा समाजवादी आन्दोलन संकटमा छ । माथि उल्लेखित राजनीतिक दलहरुसँगै अन्य पार्टीहरु माधव नेपालले नेतृत्व गरेको पार्टी, आहुतिको पार्टी, धर्मेन्द्रले नेतृत्व गरेको पार्टी लगायत अन्य स–साना कम्युनिस्ट नामका पार्टीहरुले पनि समाजवादी क्रान्ति र मालेमा वादको शाब्दिक व्याख्यामा रमाएको भए पनि पार्टी जीवनमा समाजवादी क्रान्तिको रोडम्याप प्रष्ट गर्न सकेको र राज्यलाई कुनै पनि दबाब सिर्जना गर्न सकेको पाइन्न । त्यसकारण उल्लेखित पार्टीहरुले पनि पार्टी जीवनमा समाजवादी आन्दोलनलाई जिवित राख्न सकेको छैन । समग्र समाजवादी आन्दोलन संकट ग्रस्त छ । सम्पूर्ण समाजवादीले समयमै ठिक दिशानिर्देश गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता बनेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here