अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि जनता माविलाई

0
22
अर्जुनधार ।
झापाको अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयमा जारी दोस्रो कृष्णप्रसाद डाँगी स्मृति नगरस्तरिय अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिता–२०८१को उपाधि जनता माध्यमिक विद्यालय(अर्जुनधारा–३)ले जितेको छ ।
विद्यालयको ६७औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलमा भानु माध्यमिक विद्यालय(अर्जुनधारा–५)लाई ०–१ गोल अन्तरले पराजित गर्दै जनताले उपाधि जितेको हो ।
जनताको जितको लागि एक मात्र निर्णायक गोल जीवन राईले गरेका थिए ।
प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।  त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी भानु माविका गोपाल मोहोरा, फाइनल खेलको उत्कृष्ट खेलाडी जनता माविका जीवन राई, उत्कृष्ट गोलरक्षक जनता माविका उज्जवल विश्वकर्मा, उत्कृष्ट रक्षक भानु माविका सुशन्त राई र सर्वाधिक गोलकर्ता जुनकिरी आवि(अर्जुनधारा–११)का रोशन हस्दालाई जनही नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरिएको शिक्षक प्रदीपकुमार बस्नेतले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, प्रतियोगिताका प्रायोजक भक्तबहादुर डाँगी, अर्जुनधारा नगर खेलकुद विकास समितिका सल्लाहबार वीरबहादुर राई, दाताहरु खेम दहाल, धुव्रकुमार श्रेष्ठ, सागर बराललगायतले उक्त पुरस्कारहरु वितरण गरेका थिए । सोही कार्यक्रममा प्रायोजक डाँगीलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
गत बुधबारदेखि शुरु भएको वार्षिकोत्सव अन्र्तगत सोही दिन विभिन्न विधाका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । जसअनुसार गत शैक्षिक वर्ष २०८० का कक्षा नर्सरी देखि कक्षा–१०सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी, सदनस्तरीय खेलकुद, सांस्कृतिक, साहित्यिक र हाजिरी जवाफ प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी रहेका छन् ।
त्यसैगरी गत शैक्षिक वर्षका अनुशासित विद्यार्थी छात्रतर्फ विपिन थिङ र छात्रातर्फ सिर्जना लिम्बू तथा सरसफाईतर्फ छात्रा नूमा तामाङलाई प्रायोजक प्रशान्त स्टोर्सकातर्फबाट गिफ्ट ह्याम्पर वितरण गरिएको थियो । प्रधानाध्यापक मनबहादुर लिम्बूले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक मणिलाल खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here