बहुसंख्यक नेपाली कृषि कर्ममा आबद्ध रहेको देशमा प्रति महिना भान्सामा मसलाका रुपमा प्रयोग हुने लसुनको आयातमा प्रति महिना एक अर्ब रुपैयाँ खर्च गरिरहेको छ । यो तथ्यांकले हाम्रो कृषिमा आबद्धता र प्रधानता रहेको विशेषतालाई गिज्याइरहेको छ । पुगनपुग तीन करोड जनसंख्या भएको र झण्डै एक करोड देश बाहिरै रहेको अवस्थामा भन्सार विभागले नेपालमा अहिले औसतमा प्रति छ महिनाको अवधिमा छ अर्बभन्दा बढीको चिनियाँ लसुन भित्रिएको तथ्यांक सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा नेपालमा एकतीस करोड रुपैयाँको लसुन आयात गरेको थियो । त्यसपछि क्रमशः बढ्दै गएको लसुनको परिणाम र मूल्य आर्थिक वर्ष ०८०/०८१ मा दुई अर्ब बाइस करोड बाउन्न लाख पुगेको थियो ।
भन्सार विभागका महानिर्देशक तथा सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले चालू आर्थिक वर्षको छ महिनामा छ अर्ब अठार करोड रुपैयाँ पुगेको बताए । चीनबाट आयात गरिएको ठूलो परिमाणको लसुन सीमावर्ती नाकाहरुबाट भारतर्फ चोरी निकासी भएको आशंका गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा आर्थिक वर्ष ०७९–०८० यता लसुनको उत्पादन घट्दै छ । यहाँ उत्पादन गरिएको लसुनले यहीँको आवश्यकता अनुसार बजार पाइरहेको छ । यस्तोमा चीनबाट आयात गरिएको लसुन कहाँ खपत हुन्छ, बुझ्न कठिन छैन । तर, चीनबाट भएको आयातलाई भन्सार विभागका अधिकारीहरु ‘अस्वभाविक’ रहेको प्रतिक्रिया दिन्छन् ।
भन्सार विभागका अधिकारीहरुको प्रतिक्रियासँग मिल्दोजुल्दो प्रतिक्रिया कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरुले पनि दिएका छन् । अझ उनीहरुको भनाइ अनुसार चीनबाट आयात भएको लसुन अवैध माध्यमबाट भारततर्फ निर्यात भएको छ । भारतबाट लसुनको उत्पादन कम भएर माग बढेको समय नेपालबाट चिनियाँ लसुनको अवैध निकासी बढेको हुनसक्ने विभागका महानिर्देशक श्रेष्ठको अनुमान छ । बिरुवा तथा बिरुवाजन्य वस्तुको आयात–निर्यातलाई व्यवस्थित गर्न सीमानाकामा क्वारेन्टाइन कार्यालय स्थापित छन् । तिनले अनुमति दिँदा मात्र कृषि उत्पादन तथा कृषिजन्य वस्तुको आयात–निर्यात गर्न पाइने कानूनी व्यवस्था छ । यस्तोमा अस्वभाविक ढंगले आयात भएको चिनियाँ लसुन सम्बद्ध पक्षकै मिलेमतोबिना निर्यात सम्भव हुँदैन । भारतमा उत्पादन कम भएको र गुणस्तरका हिसाबले चिनियाँ लसुन ल्याउन रोक लगाएकै कारण उच्च मूल्यको लोभमा नेपाली व्यापारीले अवैध तरिकाले लसुन भारत निर्यात गरिरहेका छन् । यसले हाम्रो राजश्वमा असर पु¥याउने निश्चित छ । त्यसैले जिम्मेवार पक्षले अवैध व्यापार रोक्न तत्काल कारवाही गर्नुपर्छ । त्यसैगरी उत्पादन बढाएर रोक्ने उपाय खोज्नुपर्छ ।