भनिन्छ सफलता हासिल गर्नु हरेक मानिसको उद्देश्य हुन्छ । सफलता पाउनुभन्दा पनि पाएको सफलतालाई लामो समयसम्म जोगाइ राख्नु अरु कठिन हुन्छ । एउटा महान लक्ष्य लिनु, त्यसको प्राप्तिको लागि निरन्तर प्रयत्नशील हुनु र समयको निश्चित अन्तरालपछि त्यो महान लक्ष हासिल गर्नु नै सफलता हो । सफलताको मन चाहे उचाइ त आफ्नो क्षेत्रमा धेरैले छुन सक्लान्, तर सफलता को त्यही रुपमा सदैव कायम भइ राख्नु अझ महत्वपूर्ण हुन्छ । सफलता कसरी प्राप्त गर्न सकिन्छ ? अनि जीवनभर कसरी सफल व्यक्तित्वको रुपमा परिचित हुन सकिन्छ भन्ने बारेमा विश्व प्रसिद्ध लेखक तथा विचारकहरुको लेख, रचना र पुस्तकहरु अध्ययनबाट सारांस गरिएको केही ओजश्वी विचारहरु यस्ता छन् जुन हाम्रो व्यक्तित्व विकासमा सहयोगी बन्न सक्छन् ।
कृतज्ञ र आभारी रहौं :
जीवनमा आफूले प्राप्त गरेका र आफूसँग भएको हरेक सानो–ठूलो वस्तु, व्यक्ति र परिस्थितिप्रति कृतज्ञ रहौं । सोचौं आफूसँग जे छ धेरै छ । किनकि पूरा ब्रह्माण्डमा कयौं मानिस छन् जो सँग त्यो केही छैन जुन हामीसँग छ । बिहानै उठ्ने बित्तिकै ब्रह्माण्डलाई धन्यवाद दिनुहोस् पूरा दिनका लागि । सबै सही कार्यका लागि धन्यवाद । असल व्यक्तिहरुको साथ, माया, प्रेम, स्नेह, सफलता र खुशी जे–जे पाउनु भएको छ सबैका लागि धन्यवाद । आफूमा जे छ त्यसमा कृतज्ञ र आभार महशुस गर्ने बानीले तपाईको जीवनमा अझ असल चिज र परिस्थितिलाई आकर्षित गर्दछ ।
मानसिक विकार फालौं र सन्तोषी बनौं :
इन्द्रीयको आशक्तिबाट माथि उठौं र मस्तिष्कलाई सफा र शुद्ध राखौं । जबसम्म मनुष्यले भौतिक चाहनाको परित्याग गर्दैन तबसम्म उसमा स्थायी सुखको प्रवेश हुँदैन । घमण्ड र लोभको कारण व्यक्ति आफैंलाई पतित बनाउँछ । भौतिक भोग विलास र क्षणिक सुख प्राप्तिका लागि आफ्नो मानसिकता र नैतिकताको हत्या नगरौं । जस्तो प्रकारको जीवन तपाईले जिउनुभएको छ र जस्तो काम गरिरहनुभएको छ त्यसैमा सुख–सन्तोष पैदा गर्न सक्नु पर्दछ । आफू र आफ्नो वरपरका सानो–ठूलो हर चिजमा खुशी खोज्ने प्रयास गरौं । खुशी या सन्तोष जति महशुस गरिन्छ त्यति नै बढ्दै जान्छ ।
मीठो बोलौं र त्याग गर्न सिकौं :
सधैँ सुमधुर वाणी बोल्नु बौद्धिकता उदाहरण हो । वास्तवमा सफल मानिसहरु इष्र्या, द्वेष, कटुता र घमण्ड आदिबाट मुक्त हुन्छन् । साथै अरुको सफलता र समृद्धी देखेर प्रशन्न हुन्छन् । अरुले गल्ती गरे भने पनि कटुवचन र दुव्र्यवहार नगरौं । अरुको कुभलो चाहेर गरिएको हरेक कार्यले तपाईंको जीवनमा नराम्रो दुस्परिणाम ल्याउन सक्दछ । अरुमाथि बोलिएको तिखो बोलिले तपाईलाई सबैको शत्रु बनाइदिन्छ । दया, धर्म, ज्ञान र मानवताको मार्गमा चलौं । आफ्नो कमाइबाट केही हिस्सा दान गरौं । लिन मात्र होइन दिन पनि तत्पर रहौं ।
देखासिखी नगरौं र स्वयम् अनुशासित बनौं :
वास्तवमा सफल व्यक्ति त्यो हो जसले सर्वप्रथम आफूलाई नै जितेको हुन्छ । जो व्यक्तिले आत्मनियन्त्रण गरेको छ उसको लागि बाहिरी वस्तु र परिस्थितिले खासै असर गर्दैन । आफूले आफूलाई अनुशासनमा राख्न नसकेसम्म कुनै काम र लक्ष्य सफल बनाउन सकिँदैन । जो व्यक्तिलाई आफूप्रति नै भरोसा हुँदैन, उसलाई अरु कसैले पनि विश्वास गर्दैन । आफू–आफू मै हारेको व्यक्ति कुनै बाहिरी खेलमा कसरी बिजयी होला । अर्काको देखासिखी गर्ने बानी र अरुलाई देखाउन गरिने जीवनशैलीले हामीलाई सबैको नजरमा तुक्ष बनाउँछ । अर्कोले के भन्छ, के गर्छ भन्नुभन्दा आफ्नो लागि जे सही छ त्यो कार्य मात्र गरौं ।
कुनै कामलाई सानो नठानी लक्ष्यप्रति निष्ठावान बनौं :
हामी ठूला–ठूला काम गर्ने लालसाको कारण स–साना कामलाई लापरवाही गर्दछौं फलतः असफलता सामुन्ने देखा पर्छ । काम कुनै पनि सानो हुँदैन केबल हेर्ने दृष्टिकोण सानो हुने हो । सानो काम पनि निरन्तर गरिरहने हो भने त्यसले ठूलो परिणाम प्राप्त गर्न सकिन्छ । भन्छन् नि– निरन्तर खसिरहने पानीको एक–एक सानो थोपाले कडा चट्टानलाई पनि चिर्न सक्छ । जुन कार्य पूरा गर्न निश्चयपूर्वक लागिन्छ, त्यसलाई क्षणिक असफलताको कारण छोड्नु हुँदैन । लक्ष्य सफा, स्पष्ट र हासिल गर्न योग्य हुनुपर्छ । दैनिक आफ्नो महान लक्ष्य प्राप्तीको लागि अलि–अलि भए पनि कार्य गरिनु पर्दछ । जसले अन्ततः सफलताको उचाइमा पु¥याउँछ । आखिर ठूला–ठूला धरहरा पनि त एक–एक इँटाको निरन्तर जोडाइबाटै बनेको हुन्छ ।
आशावादी बनौं :
आत्मिक शक्ति नै निर्णय शक्तिको जननी हो । जीवनमा त्यस वस्तु मात्र प्राप्त हुन्छ जुन आशा गरिएको हुन्छ । निडर एवम् आशावादी बनेर आफ्नो अन्तरमनले जे भन्छ त्यो गरौं । आशा भनेको त्यो देख्नु हो जो कसैले देखेको छैन, त्यो महशुस गर्नु हो जो अदृश्य छ अनि त्यो प्राप्त गर्नु हो, जुन यसभन्दा अघिसम्म अस्तित्व मै रहेको थिएन । मस्तिष्कमा सधैँ सकारात्मक विचारको बिज रोपांै र कठिन परिस्थितिमा पनि धैर्य गरी सकारात्मक नतिजाको कल्पना गरौं । भनिन्छ, कुनै काम तबसम्म मात्र असम्भव लाग्दछ, जबसम्म त्यो काम कसैले गरेको हुँदैन । हरेक असम्भव काम पूरा गर्न सम्भव छ त्यसको लागि हाम्रो सोच, आशा र आत्मविश्वास मजबुत हुनुपर्छ ।
सधै स्वस्थ्य रहन ध्यान, योग र उचित खानपिन गरौं :
दुषित भावनाले शरीरको रक्त सञ्चालनको समस्त प्रक्रिया दोषपूर्ण बन्दछ । स्वास्थ्य शरीरमा नै स्वास्थ्य मन रहन्छ । स्वास्थ्यको लागि व्यायाम, पोषक खाना र विश्राम अत्यावश्यक हो । सुत्नु प्राकृतिक विश्राम हो । स्वास्थ्य निन्द्रा र सन्तुलित खानाका बानी बसालौं । भनिन्छ, ब्रम्हामुहुर्तमा गरिएका कसरत, व्यायाम, योग, प्रानायाम ध्यान आदिले शारीरिक, मानसिक र आध्यात्मिक शक्तिमा वृद्धि गराउँछ । धार्मिक र आध्यात्मिक जीवनशैली अपनाउन सके कठिन परिस्थितिको सामना गर्न आत्मबल र आत्मविश्वास प्राप्त हुन्छ ।
अवसर या समयको सही सदुपयोग गर्दै परिश्रमी बनौं :
समय नै अमूल्य धन या पुँजी हो । निरन्तर गरिने परिश्रमको प्रतिफल नै सफलता हो । जो व्यक्ति आफ्नो श्रममा विश्वास गर्छ ऊ सँग भगवान पनि दयावान हुन्छन् । जतिबेला बुद्धि र सृजनशिलताले कडा परिश्रमलाई हराउन सक्दैन, त्यतिबेला कडा परिश्रम र कठिन मेहनतले तिक्ष्ण बुद्धि र बौद्धिक सृजनशिलतालाई सहजै हराइदिन्छ । परिश्रम नगर्ने व्यक्तिको जीवन निरर्थक, तुक्ष र मूल्यविहीन हुन्छ । हामीले आफ्नो फाइदाको लागि समयको उपयोग गर्न सकेनौं भने समयले पछि हामीलाई अरुको फाइदाको लागि उपयोग गर्नेछ ।
साहसी जीवन रोजौं :
साहस नै सफलताको सिढी हो । सफलताको शिखरमा त्यही व्यक्ति पुग्छ जो साहसी हुन्छ । साहसी व्यक्ति कहिल्यै पनि डरको कारण आफ्नो पाइला रोक्दैन अनि उसको लागि बाधा र संघर्षको कुनै अर्थ हुँदैन । जनावरको साम्राज्यको बादसाह सिंह र पंक्षीको साम्राज्यको राजा चीलको जीवनप्रतिको दृष्टिकोण अपनाउनु जरुरी छ । पूरा मानव साम्राज्यको एकमात्र साहसी ‘म’ नै हो भन्ने सोच राख्नेले मात्र जित हासिल गर्छ भन्ने भनाइ छ । सोचौं पूरा सृष्टिमा म जस्तो कोही छैन । मेरो भूमिका म बाहेक अरु कसैले निभाउन सक्दैन अनि म एक महान उद्देश्यको साथ धर्तीमा आएको छु ।
जीवनको पाठशालाबाट सिकौं :
हामी आफैंले हर दिन मूल्यांकन गर्नुपर्दछ कि हामी के गल्ती गर्दैछांै एवम् दोस्रोको गल्तीबाट के पाठ सिक्न सकिन्छ । समय फर्केर आउँदैन । अतः विचार गरौं कि बितेको दिनको कति सदुपयोग ग¥यौं । विगत र भविष्यमा भन्दा पनि वर्तमानमा जिउनु उत्कृष्ट कला हो । भन्छन् नि– कुनै गन्तव्य र लक्ष्य प्राप्तिभन्दा पनि त्यो गन्तव्य र लक्ष्य प्राप्तितर्फ गरिएको यात्रा, संघर्ष र सपना ज्यादै आनन्ददायी हुन्छ । प्रत्येक गल्ती र त्यसबाट लिइने शिक्षा नै ठूलो कमाइ हो । कसैले जीवनकालमा कुनै गल्ती नै गरेको छैन भनेर कहिले यदि भन्छ भने स्पष्ट छ कि उसले जीवनमा नया र साहसिक कार्य केही गरेकै छैन ।
गरिबीको चिन्ताबाट उम्कौं :
जबसम्म हामी गरिबी र निर्धनताको चिन्ता छाड्दैनौं तबसम्म हामी धनी बन्न सक्दैनौं । गरिबी एक मानसिक विचारधारा हो न कि कुनै आर्थिक अवस्था । पैसा नहुनु गरिबी होइन । पैसा या धन भए÷नभए पनि गरिबी सोच र गरिबी जीवनचर्याले हामीलाई गरीब बनाउँछ । म गरीब छु भनेर तन, मन र कर्मले स्वीकार गर्नु नै गरिबी हो । म यो काम गर्न सक्दिनँ भनेर स्वीकार गर्नु गरिबी हो, जबकी मैले यो काम जसरी पनि गर्नैपर्छ भन्ने दृष्टिकोणले सम्पन्नतातर्फ आकर्षित गर्दछ । आकर्षणको सिद्धान्त अनुसार अभाब गरिबी र असफलता तर्फ मात्र ध्यानकेन्द्रीत गरिरहने बानीले अझ बढि अभाव, गरिबी र असफलतालाई आकर्षण गर्दछ ।
पुस्तक पढ्ने बानीको विकास गरौं :
सफल लेखकहरुद्वारा लेखिएका जीवन उपयोगी पुस्तक, लेख, रचनाहरु पढ्ने बानी बसालौं । यदि सामाजिक सञ्जाल र मनोरञ्जनको दुनियाँबाट टाढा रहेर आफ्नो व्यक्तित्व विकास गर्ने हो भने पुस्तक हाम्रो असल साथी, सहयात्री र मार्गदर्शक बन्न सक्दछ । महान व्यक्तिहरुले भोगेका जीवनका समस्या, त्यसको समाधान र सफलता प्राप्त गर्न अपनाइएका फरक–फरक उपाय र अनुभवहरुले हामीलाई सफल हुन प्रेरित गर्दछ । फेसबुक, टिकटक र युट्युवमा मात्र आफ्नो अमूल्य समय बर्बाद गर्नुको सट्टा दैनिक एक घण्टा भए पनि पुस्तक पढ्ने हो भने हामीमा सृजनशिलता र सकारात्मक सोचको विकास हुन्छ ।