नेपाली जनताले प्रजातन्त्र प्राप्त गरेको दिन हो आज । राणाहरुको १०४ वर्षीय पारिवारिक शासनको अन्त्य भई प्रजातन्त्रको दीप प्रज्ज्वलित भएको यो दिनलाई राष्ट्रिय प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिएको छ । देशको शासन निरंकुशता र अधिनायकवादबाट होइन प्रजा अर्थात् जनताको अभिमतबाट चल्छ भन्ने मान्यता स्थापना भएको दिनको स्मरण गर्दै विविध कार्यक्रमका साथ यो दिवस मनाउने गरिएको छ । वि.सं. १९०३ मा भएको कोत हत्या काण्डपछि शासन हातमा लिएका जंगबहादर, कुँवर र उनका भाइ तथा नातेदारहरुको स्वेच्छाचारी शासनका बिरुद्ध विरोधी भारदारहरुले शासन फिर्ता लिने प्रयास पनि गरे तर सफल हुन सकेनन् । परिणाममा ‘प्रजा जसदेखि राजी रहन्छन् उसैलाई कज्याइँ दिनु’ भन्ने नेपाल निर्माताको भावना र मर्म विपरीत एकतन्त्रीय शासनको प्रारम्भ भयो ।
पारिवारिक बेमेलले कमजोर भएको दरवार र भारदारहरुका कारण गुमेको प्रजातन्त्र प्राप्तिका निम्ति भएका आन्दोलनहरु मध्ये वि.सं. २००७ सालमा भएको सशस्त्र क्रान्तिको बलमा जहानीया शासनको अन्त्य भयो । नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलनमा तत्कालीन राजा त्रिभुवनको समेत समर्थन थियो । यसले प्रजातान्त्रिक आन्दोलन सफल बनाउन निर्णायक हुन पुग्यो । प्रजातान्त्रिक आन्दोलनको पक्षमा रहेका राजाले देशको स्वतन्त्रता र जनताको हकअधिकारका निम्ति जीवन र गद्दी समेत परित्याग गरेकोले त्रिभुवनलाई राष्ट्रपिता भनियो । खोपीमा रहेका राजाले राणा प्रधानमन्त्री मोहन शम्शेरले पराजय स्वीकार गरेपछि निर्वासित राजा स्वदेश फिर्ता आए । आज त्यही दिन हो जुन दिन राजा त्रिभुवनले राणाहरुमा रहेको शासकीय अधिकार आफ्नो हातमा लिएर शाही घोषणा गरे । त्यही घोषणाबाट देशमा प्रजातन्त्रको स्थापना भई वैधानिक शासन व्यवस्थाको प्रादुर्भाव भयो ।
राजा त्रिभुवनले घोषणा गरे अनुसार विधान अर्थात् संविधान निर्माण नभएसम्मका लागि राणा र कांग्रेस सम्मिलित सरकार बन्यो । त्यही सरकारले हिजो राणा परिवारको मुठ्ठीमा रहेको शासकीय अधिकार मन्त्रिपरिषद्लाई दिइयो । यद्यपि प्रजातन्त्रकै लागि भन्दै त्यसपछि दुई पटक जनआन्दोलन भए । तत्कालीन राजा महेन्द्रले विद्यमान शासन व्यवस्थाको अन्त्य गरी पञ्चायती शासन व्यवस्थाको लागू गरे । तीस वर्षसम्म सञ्चालन भएको पञ्चायत दोस्रो जनआन्दोलन पछि पूर्णतः खारेज गरियो र बहुदलीय प्रजातन्त्रको प्रारम्भ भयो । त्यसले पनि जनतालाई सार्वभौम बनाउन सकेन भन्दै २०६२ बाट शुरु भएको तेस्रो आन्दोलनले प्रजातन्त्रको सट्टामा लोकतन्त्रमा परिवर्तित ग¥यो । यद्यपि नाम परिवर्तन भए पनि शासकीय शैली उस्तै निरंकुश र सर्वसत्तावादी कायम रहेको टिप्पणी हुन छाडेको छैन । विकासको प्रारम्भ गरेका राणाहरुले तयार गरेको पूर्वाधारलाई पछ्याइरहेको बेला राजाहरुको योगदानलाई पनि बिर्सनु हुँदैन । त्यसैले विश्वमा नेपाल र नेपाली भनेर गौरवको अनुभूति गर्ने र स्वाभिमान र गौरवको इतिहासको रक्षा गर्दै आजको प्रजातन्त्रको अनुभूति गर्न यो दिनले सामथ्र्य दिओस्, प्रजातन्त्र दिवसको शुभकामना ।