व्यापार घाटा कम गर

0
12

नेपालको वैदेशिक व्यापारघाटा निरन्तर बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको व्यापारिक अवस्थाको चित्रमा आठ खर्बभन्दा बढी घाटा भएको उल्लेख छ । आर्थिक वर्ष ०८१–०८२ को माघ महिनासम्म मुलुकले ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा ठूलो व्यापार साझेदार देश भारतसँग मात्र नेपालले यो अवधिमा करिब पाँच खर्ब घाटा व्यहोरेको तथ्यांक सार्वजनिक भएको छ । त्यस्तै अर्को व्यापार साझेदार चीनसँग एक खर्ब ९० अर्ब ४४ करोड बराबर व्यापार घाटा छ । यो तथ्यांकले नेपालको वैदेशिक व्यापारमा आयात र निर्यातबीचको अन्तरले यसबाट सिर्जित व्यापार घाटाको भयावहताको अनुमान गर्न गाह्रो छैन ।
त्यसो त आन्तरिक रुपमा सहजै उत्पादन गर्न सकिने कृषिजन्य उपजहरुको उत्पादनबाट व्यापार घाटा कम गर्न सकिन्छ । तर, नेपालीको प्रवृत्ति कृषि उत्पादनभन्दा बनि आयातित वस्तुको उपभोग गर्ने केन्द्रित हुन थालेको छ । त्यस्तै विलासिताका वस्तुहरुको बढ्दो आयातले पनि व्यापार घाटा बढेको छ । नेपालको उत्पादनमुखी संस्कृतिमा ह्रास आएको छ र उत्पादनशील जमिन बाँझो हुनेक्रम बढेको छ । कृषि व्यवसाय रहेको हाम्रो परिचय श्रमशक्ति विदेशी बजारमा जाने र त्यसबाट प्राप्त हुने बिप्रेषणले अत्यावश्यकीय वस्तु आयात गर्ने भएको छ । राज्यले पनि वैदेशिक रोजगारीमा श्रमशक्ति बेच्नुलाई गर्वको विषय बनाएको छ, यसले पनि व्यापार घाटा बढेकोबढ्यै छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अत्याशलाग्दो छ । आयात निर्यातको यस्तो तथ्यांकले वैदेशिक व्यापारको असन्तुलित अवस्था देखाउँछ । जसले देशको अर्थतन्त्रमा असर पु¥याउँछ । त्यसैले यस्तो नकारात्मक र अत्याशलाग्दो अवस्थाबाट जोगिन निर्यातलाई प्रोत्साहन र आयातलाई प्रतिस्थापन गर्नुपर्छ । त्यसका लागि सरकार नै जिम्मेवार ढंगले लाग्नुपर्छ । वैदेशिक व्यापारलाई प्राथमिकतामा राखेर स्पष्ट मार्गचित्रसहित रणनीतिक रुपमा अघि बढ्नु पर्दछ । सरोकारवाला मन्त्रालय, निकाय र पक्षसँग समन्वय गरी स्वदेशी उत्पादन वृद्धि गर्नेतर्फ लाग्नु पर्दछ । कृषि प्रधान देशमा कृषि वस्तुमै व्यापक रुपमा हुनु नै परनिर्भरतातर्फ उन्मुख हुनु हो । त्यसैले कृषिमा प्रोत्साहन कार्यक्रमसहित निजी क्षेत्रलाई कृषि तथा औद्योगिक क्रान्तिमा लाग्न उत्प्रेरित गर्नुपर्छ । विश्वका करिब दुई सय वटा देशसँग व्यापार हुँदा पैंतीस वटासँग मात्रै सामान्य नाफा रहेको अवस्थामा व्यापार सन्तुलन कायम राख्न सरकार नै गम्भीर हुनुपर्छ । उत्पादन वृद्धि गर्दै देशभित्रै रोजगारी सृजना नगरेसम्म व्यापार घाटा कम हुँदैन र देशले समृद्धिको यात्रा पनि तय गर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here