कुनै पनि विषयलाई परम्परागत सोचबाट पर हटेर विचार गर्ने, बहस गर्ने र नवीन मार्ग अवलम्बन गर्न उत्प्रेरित गर्ने सिर्जनात्मक चिन्तन हो । कुनै पनि परिस्थिति वा परिदृश्यमा नयाँ विकल्पहरु सोच्नु र त्यसलाई वास्तविकतामा बदल्नु नै सिर्जनात्मक चिन्तन हो । सिर्जनात्मक चिन्तन गर्ने व्यक्तिले सदैव जिज्ञासु र खुलापनलाई बढावा दिन्छ । यस्तो चिन्तनले एउटै कामलाई पनि फरक सोच, ढङ्ग र तरिकाबाट गर्न मद्दत गर्छ । सिर्जना भनेको सृष्टि हो । सृष्टि भनेको उत्पत्ति, जन्म अथवा आविष्कार हो । कुनै पनि कुराको उत्पत्ति हुनु नै सिर्जना हुनु हो । यो पृथ्वी एउटा ठूलो सिर्जना हो । मान्छेहरू पनि सिर्जना नै हुन् ।
हावा, पानी, हिमाल, पहाड, तराई, वनजङ्गल, खोलानाला आदि सबै प्राकृतिक सिर्जना भनिन्छ । आफैँ उत्पत्ति भएका कुराहरू प्रकृतिका सिर्जना हुन् । पछि बनाइएका चिजहरू मान्छेका सिर्जना हुन् । भौतिक वस्तुको आविष्कार पनि सिर्जना हो र साहित्य लेखन वा कलाको निर्माण पनि सिर्जना हो । वैज्ञानिक आविष्कारका लागि मस्तिष्क पक्ष सबल हुनुपर्छ, कलाको आविष्कारका लागि हृदय पक्ष सबल हुनुपर्छ । तथ्यमा आधारित सूचना ज्ञान वैज्ञानिक आविष्कारहरूमा हुने गर्दछ भने कल्पनामा आधारित सिर्जना कला साहित्यिक रचनामा हुने गर्दछ ।
सिर्जनात्मक चिन्तनले मानिसको दिव्य ज्ञानचक्षु खोल्ने काम गर्छ । परम्परागत धारणाबाट टसको मस नहुने र भइरहेका कुरामा मात्रै सत्यता देख्ने सोच एकाङ्गी, सङ्कीर्ण र एक पाखे सोच हो । सिर्जना भनेको रचना गर्नु भन्ने बुझिन्छ । कुनै नयाँ कुराको प्रस्तुतिलाई सिर्जना भनिन्छ । सिर्जना नितान्त व्यक्तिगत हुने गर्दछ । कुनै कुराको सिर्जना गर्नमा मानव मस्तिष्कमा उत्पन्न हुने कल्पनाको विशेष महŒव रहेको हुन्छ । मानव मस्तिस्क कल्पनाको भण्डार हो, कल्पनाकै उपज यो सृष्ट्रिको पनि रचना भएको कुरा पनि पूर्वीय दर्शनमा पाइन्छ । आध्यात्मिक दर्शन अनुसार यो सृष्टिका आदिरचनाकार मानिने बह्माको कल्पना शक्तिको उपज यो संसार मानिन्छ । भौतिकरूपमा यो बह्माण्ड जति ठूलो छ ।
मानव मस्तिष्कको आयतन अझै यो भन्दा ठूलो हुनुपर्छ किनकि यो बह्माण्डमा नदेखेका कुराहरूको पनि हामी कल्पना गर्न सक्छौ । जुन कुरा यो बह्माण्डमा छैन त्यो कुरा मानव मस्तिष्कभित्र रहेको हुन्छ । यसका लागि मस्तिष्कको मन्थन हुनु जरुरी हुन्छ । मस्तिष्क जति मन्थन गरियो त्यति नै यसको क्षमता पनि बढ्दै जान्छ र जति खुम्चायो यसको क्षमता तथा गुण पनि लुप्त हुँदै जाने गर्दछ । जसरी एउटा कम्प्युटरले असीमित काम गर्न सक्छ त्यसको अर्बौैं गुना बढी मानव मस्तिष्कले काम गर्न सक्छ । मानव मस्तिष्कको क्षमता मापन गर्न सक्ने कुनै वैज्ञानिक आधार हुँदैन र हुन पनि सक्दैन । किनकि त्यो आधार तयार गर्नका लागि पनि मानव मस्तिष्ककै प्रयोग हुन्छ ।
एउटा व्यक्तिको मस्तिष्क भनेको अनन्त ब्रह्माण्डहरूको रचनाको आधार तयार गर्ने कल्पनाको मूल गुदी हो । यसकारण मानव मस्तिष्कमा अनन्त सिर्जनाशक्ति रहेको हुन्छ । यो सच्चाइलाई ग्रहण गरेर वस्तुगत जगत्लाई बुझ्नु र सोही अनुरूप नवीन सोच निर्माण गरेर मात्रै नवसिर्जना सम्भव छ । सोच र सिर्जनाको द्वन्द्वात्मक सम्बन्ध हुन्छ । त्यसअघि नगरिएको अर्थात् कुनै कुरालाई नौलो तरिकाले आफ्नोपन दिएर प्रस्तुत गरिने कलालाई सिर्जनात्मक कला भनिन्छ ।
सिर्जनात्मक कलाका विभिन्न भेदहरू हुन सक्दछन् । जसरी मानव मस्तिष्कको मापन गर्न सकिदैन त्यसरी नै सिर्जनात्मक कलाका भेदहरू पनि संख्यामा गन्न सकिँदैन । यी भेदहरू सिर्जनाकार अनुसार थपिँदै जाने गर्दछन्, यसैको उपज हो साहित्यका विविध भेद थपिँदै जानु, विज्ञानका विविध चमत्कार थपिँदै जानु, खेलहरू, नयाँ–नयाँ साजसज्जा, खानाका परिकार, ज्ञानका क्षेत्र तथा विषयहरू आदि जेजति पनि कुरा छन् ती दिनानुदिन बढ्दै जानु भनेको सिर्जनाका भेदहरू असीमित हुँदै जानु हो । यसकारण सिर्जनाका भेदहरूलाई पनि सङ्ख्यामा गन्नु उपयुक्त हुँदैन ।
नयाँ कुराको रचना मात्रै सिर्जना नभएर पुराना कुरामा आफ्नोपन दिनु अर्थात् प्रस्तुतिको तरिका फरक गर्नु पनि सिर्जना नै हो । जसरी मानव मस्तिष्कको क्षेत्र व्यापक छ त्यसरी नै सिर्जनाको क्षेत्र पनि व्यापक छ । धर्म, संस्कृति, ज्ञान, विज्ञान, दर्शन जे जति कुराहरू छन् यी सबै मानव मस्तिष्कमा भएको कल्पनाशक्ति र सिर्जनात्मकताकै उपज हुन् । सामान्य अर्थमा मानिसको मस्तिष्कमा उत्पन्न विविध भावहरूलाई विभिन्न माध्यमबाट व्यक्त गरिने कलालाई सिर्जनात्मक कला भनिन्छ । यस्तो कला बोलेर, अभिनय गरेर, लेखेर तथा विभिन्न वस्तुहरूको सहायताले नयाँ रूप दिएर व्यक्त गरिन्छ । मानव मनका भावहरूलाई भाषाका माध्यमबाट लेखेर व्यक्त गरिने कलालाई लेखन कला भनिन्छ । आफ्ना मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमले अरुसमक्ष पु¥याउने कला नै सिर्जनात्मक लेखन कला हो । लेखन सामान्यतयाः दुई किसिमको हुन्छ, साहित्यिक लेखन र साहित्य इतर लेखन । यी दुबै लेखन लेखन कलाभित्र नै पर्दछन्, तर लेखन सिर्जनात्मक हुनका लागि यो मौलिक हुनु जरुरी हुन्छ ।
अर्को अर्थमा भन्दा अरुले प्रस्तुत गरेका विचारभन्दा भिन्न अथवा फरकशैलीमा लेखिन्छ भने त्यो सिर्जनात्मक लेखनभित्र पर्दछ । लेखिएका कुरालाई फरक तरिकाले लेख्नु पनि सिर्जनात्मक कला नै हो । विभिन्न अनुसन्धानमूलक लेखहरू, विभिन्न विचार तथा दर्शन, साहित्यका विविध विधा कविता, कथा, गीत, गजल, नाटक, निबन्ध, समालोचना आदि सम्पूर्ण कुराहरू सिर्जनात्मक लेखनभित्र पर्दछन् । हाम्रो समाजमा जीवनलाई सजिलोसँग सञ्चालन गर्नका लागि मानिसहरूले विभिन्न पेशाहरू अपनाएका हुन्छन् । पाइलट, इञ्जिनियर, डाक्टर, शिक्षक, विभिन्न व्यापार व्यवसाय आदि । यिनै पेशाहरूका आधारमा विद्यालय तथा महाविद्यालयका पाठ्यक्रम पनि बनेका छन् ।
नेपालमा अनुयायीको सङ्ख्या ठूलो छ । चाकरी र चाप्लुसी झाँगिदो छ । नेपालका गाउँघर वृद्धाश्रम बन्दैछन् । आज मानिस भयङ्कर स्वार्थी र आत्मकेन्द्रित हुँदै गएको छ । त्यागी र निस्वार्थीको कुनै स्थान छैन । रुढीवादी सोचले अझैसम्म पनि बुर्कुसी मारिरहेका छन् । हामी कसैको दासता स्विकार्दै आफ्ना दास सङ्ख्या बढाउन उद्दत छौँ । कसैको हनुमान बन्ने वा कसैलाई आफ्नो हनुमान बनाउने हाम्रो इरादा हुने गरेको छ । मानव विकासको सबैभन्दा उत्कृष्ट कला सिर्जनात्मक चिन्तनको कला हो । हुन त अरुलाई पछ्याउनु सजिलो छ । नकारात्मक सोच बनाउनु र नराम्रो कल्पना गर्नुमा पनि आनन्द नै होला । हामीले सकारात्मक चिन्तनको महŒव बुझ्न आवश्यक छ । चिन्तन गर्नु चिन्ता गर्नु होइन । यो मनोरञ्जनको साधन पनि होइन । अहिलेको युग बौद्धिक युग हो, शारीरिक रूपमा पसिना बगाएरमा मात्र सबै कुरा हुन्छ भन्ने होइन । मानिसका चाहना तथा समाजको आर्थिक अवस्थाको ज्ञान प्राप्ति मात्रै सबथोक हुँदैन ।
माक्र्सवादका प्रणेता कार्ल माक्र्स भन्छन्– ‘आज सम्मका विद्वान र दार्शनिकहरूले संसारको व्याख्या गरेका छन्, तर मूल कुरा संसारलाई बदल्नु हो ।’ दुःख देखाएर मात्रै हुँदैन, त्यसको समाधान पनि चाहिन्छ । समाधान दिनका लागि संसार बुझ्न जरुरी छ । समाजको आर्थिक अवस्था, त्यहाँको राजनीतिक अवस्था, त्यहाँको भूगोल तथा जनताहरूको आवश्यकताको पहिचान गरी अन्तरविरोध पहिचान गर्न जरुरी छ । जनचाहना बुझ्न तथा समाजका मानिसले कस्ता पीडा भोगिरहेका छन् सो कुरा बुझन, नीतिनिर्माणकर्ताले समाजको अवस्था बुझेर नीतिनिर्माण गर्न, इतिहास, संस्कृति आदि बुझ्न सिर्जनात्मक चिन्तनको जरुरी हुन्छ । चिन्तनशील हुनका लागि अध्ययनशील हुनु जरुरी छ भने साथै आफ्नो सिर्जनालाई आफैले सम्मान गर्नसक्ने हुनु जरुरी पनि छ ।
सिर्जनात्मक चिन्तनले मानिसमा खोजी गर्ने बानीको विकास हुन्छ । यसले मानिसमा तार्किक क्षमताको विकास गर्दछ । लेखक एक मार्गदर्शक भएकाले समाजमा उसलाई सम्मान गर्ने मानिस बढी हुने भएकाले आफूलाई लेखक वा चिन्तकले कहिले पनि हलुको रूपले लिनु हुँदैन । उसले बढीभन्दा बढी बौद्धिक तथा प्राज्ञिक व्यक्तिहरूसँग मात्र सङ्गत गर्नुपर्छ । विद्वान व्यक्तिका कुरा ध्यान दिएर सुन्ने, विभिन्न कार्यक्रम तथा समाजको अवलोकन गर्ने, कम बोल्ने, तार्किक कुरा मात्र बोल्ने जस्ता प्रज्ञिक गुणहरू आफूमा विकसित गराउनुपर्ने हुन्छ ।
अहिलेका मानिसलाई धेरै गन्थनमन्थन सुन्ने वा पढ्ने फुर्सद हुँदैन । धेरै अध्ययन र अनुसन्धानपछि मात्रै लेखेको लेख तथा सिर्जनात्मक रचनाले लोकप्रियता हासिल गरेको हुन्छ । सिर्जनात्मक चिन्तन पद्धतिले इतिहास, संस्कृति, सभ्यता लगायत ज्ञानगुनका कुराहरु जीवित राख्नमा महŒवपूर्ण भूमिका खेलेको हुन्छ । यसले एकातिर मस्तिष्कलाई मन्थन गर्नमा सहयोग गर्दछ भने अर्कोतिर मस्तिष्कको निर्मलीकरणमा विशेष भूमिका खेलेको हुन्छ । यसकारण सिर्जनात्मकताले सकारात्मकतालाई जन्म दिन्छ । नेपालमा सिर्जनात्मक चिन्तनको खडेरी छ । लोकरिझ्याइँ र लोकप्रियतावादी सोच हावी हुँदै गएको छ ।
समाजका नकारात्मकताको सूची बनाएर त्यसको जगमा दल गठन गर्ने र सामाजिक सञ्जालको सहायताले मतदातालाई प्रभावमा लिने क्रम बढ्दो छ । जसले समाजको समग्र हितको कुरा गर्छ, दिगो विकासको कुरा गर्छ र दूरदृष्टि राखेर योजना र कार्यक्रम गर्छ, त्यो पछाडि पर्छ । नवीन चिन्तन फगत चितासम्म पुग्ने चिन्ताजस्तो हुन्छ । गौतम बुद्धले भने झैं संसारलाई सुन्दर बनाउन जाग्रत मनुष्यको काम हो । अन्धविश्वासी, चाकरीबाज, पदलोलुप, सत्यलाई सत्य भन्न नसक्ने र गलत भन्ने बुझेर पनि विरोध गर्न नसक्ने काम जाग्रत मानिसले गर्दैन । एकजना भए पनि सत्यको पक्षमा उभिने शक्ति सिर्जनात्मक चिन्तनले दिन्छ र यसले चेतना, विवेक र हृदयको आँखा एकैपटक खोल्दछ । tirthakharel2028@gmail.com