
नेपालमा पछिल्ला वर्षहरूमा युवाहरूको राजनीति प्रति चासो घट्दै गएको स्पष्ट देखिन्छ । सामाजिक सञ्जाल, चुनावी सहभागिता र सर्वेक्षणहरूले पनि पुष्टि गर्छन् कि नयाँ पुस्ता सक्रिय राजनीतिक संलग्नताभन्दा वैकल्पिक माध्यमहरूतर्फ केन्द्रित भइरहेको छ ।
राजनीतिक उदासीनताको मुख्य कारणहरूमा राजनीतिक अस्थिरता र विश्वासको कमी मुख्य हो । नेपालमा बारम्बार सरकार परिवर्तन, नेताहरूको आश्वासन पूरा नहुनु र राजनीतिक दलहरू भित्रको आन्तरिक कलहले युवाहरूमा निराशा पैदा गरेको छ । नेताहरूको भाषण र व्यवहारबीच ठूलो अन्तर देख्दा युवाहरू राजनीतिप्रति वितृष्ण भएका छन् । रोजगारीको अभावका कारण विदेश पलायन हुनु युवाको बाध्यता बनेको छ ।
धेरै युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । नेपालमा पर्याप्त रोजगारीका अवसर भए पनि अनुत्तरदायी राजनीतिक व्यवहारका कारण उनीहरू आफ्नो भविष्य सुरक्षित बनाउन आर्थिक रूपमा स्थिर देशहरूतर्फ आकर्षित भएका हुन् । तर, सबै दोष राजनीतिलाई मात्र दिएर हुँदैन । आफू र घरपरिवारको पनि देशप्रतिको दायित्व हुन्छ भन्ने कुरा अनुभूत हुन आवश्यक हुन्छ । परम्परागत राजनीतिकशैली र युवाहरुको सहभागिताको अभावले नेपालको राजनीति अझै पनि पुरानो पुस्ताका नेताहरूको नियन्त्रणमा छ । नयाँ पुस्तालाई उचित अवसर नदिने, उनीहरूको आवाज दबाउने प्रवृत्तिले युवाहरू राजनीतिबाट टाढिएका हुन् ।
नेपालमा भ्रष्टाचारको प्रभाव र पारदर्शिताको अभाव उच्च छ । युवाहरूले नीति निर्माणमा प्रभाव पार्न सक्दैनन् भन्ने भावना बलियो बनेको छ । हाम्रो राजनीतिक प्रणालीमा भ्रष्टाचार व्याप्त भएकाले सक्षम र इमानदार व्यक्तिहरूले अवसर पाउने सम्भावना न्यून देख्छन् र पलायन या बिद्रोही बन्छन् युवाहरु ।
दलीय राजनीतिप्रति अहिले अभिव्यक्तिहरु कठोर देखिएका छन् । पहिलेका पुस्ताले भौतिकरूपमा आन्दोलन, विरोध र सक्रिय सहभागिता जनाउँथे, तर अहिलेका युवाहरू सामाजिक सञ्जालमा असन्तुष्टि पोखेर चित्त बुझाउँछन् । डिजिटल माध्यममा बहस त चलेका छन्, तर ती भौतिक रुपमा परिणत हुन सकेका छैनन् । अहिलेको डिजिटल आन्दोलन सिर्जनशीलभन्दा पनि बढी विनाशक बन्दै गइरहेको छ मुलुकका लागि । व्यक्ति, पार्टी र व्यवस्थाबिरुद्धका अभिव्यक्ति सुन्न, ग्रहण गर्न र प्रतिक्रियाका लागि सौम्य छैनन् ।
हो, अहिलेको राजनीतिक परिवेशमा युवा पुस्ताको आक्रोश प्रष्ट देखिन्छ । सामाजिक सञ्जालमा स्थापित नेताहरूप्रति नकारात्मक धारणा बढ्दै गएको छ । युवा पुस्ताको असन्तुष्टि केही हदसम्म स्वाभाविक हो, किनभने उनीहरू सुशासन, पारदर्शिता र अवसरको खोजीमा छन् । तर, यस आक्रोशले लोकतान्त्रिक आन्दोलनका योगदानकारी नेताहरूलाई नै बदनाम गर्नु उचित मान्न सकिँदैन । लोकतान्त्रिक आन्दोलनका लागि संघर्ष गर्ने नेताहरूलाई सम्मान गर्नुपर्छ । तर, उनीहरू माथि आलोचना गर्दा तथ्यपरक हुन आवश्यक छ ।
अहिले भइरहेको नकारात्मक प्रवृत्तिले गलत सन्देश दिन सक्छ– जसले गर्दा योग्य नेतृत्व समेत हतोत्साहित हुन सक्छ । बरु, लोकतान्त्रिक आन्दोलनलाई अझै मजबुत बनाउनका लागि युवापुस्ताले सक्रिय भूमिका खेल्नुपर्छ । आलोचनात्मक चेतना जरुरी छ, तर त्यो सकारात्मक परिवर्तनका लागि हुनुपर्छ, अराजकता सिर्जना गर्न होइन ।
लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक अर्को छैन, शास्वत तर्क हो यो । युवा राजनीति प्रति उदासीन बन्छन् भने लोकतन्त्र कमजोर हुन्छ त्यो स्थान गैर–जिम्मेवार वा अवसरवादी नेताहरूले ओगट्छन् । मुलुकको हितको निर्णय प्रक्रियामा युवाको संलग्नता नभए नीतिनिर्माणमा नयाँ सोच र नवीनता आउन कठिन हुन्छ । सामाजिक असमानता बढ्ने सम्भावना बढ्छ । जब राजनीतिक प्रक्रियाबाट बहुसंख्यक युवा अलग रहन्छन्, तिनीहरूलाई असर गर्ने नीतिहरू गलतरूपमा तर्जुमा हुन सक्छन् ।
यो अवस्थालाई चिर्न युवालाई राजनीतिकरूपमा सक्रिय बनाउन सक्नुपर्छ । नीतिनिर्माणमा युवा सहभागिता बढाउन दलहरूले आन्तरिक लोकतन्त्र मजबुत बनाउनुपर्छ । विद्यार्थी संगठन र अन्य युवापुस्ताको प्रतिनिधित्व गर्ने निकायहरूलाई प्रभावकारी बनाइनुपर्छ । विद्यालय र विश्वविद्यालयस्तरमा राजनीतिक सचेतना अभिवृद्धि गर्ने पाठ्यक्रम समावेश गर्नुपर्छ । लोकतन्त्र, संविधान, र समाजवादका विषयमा युवालाई जानकारी दिने कार्यक्रमहरू चलाइनुपर्छ । नयाँ पुस्ताका नेताहरूलाई अगाडि ल्याउनुपर्छ । नेतृत्व लिने अवसर नपाएसम्म उनीहरू राजनीतिप्रति आकर्षित हुँदैनन् ।
वृद्ध नेताहरूको निरन्तर पुनरावृत्तिलाई रोक्न आन्तरिक प्रतिस्पर्धा र निर्वाचन प्रणाली मजबुत बनाइनुपर्छ । पारदर्शिता र सुशासनको प्रवद्र्धन हुनुपर्छ । भ्रष्टाचार नियन्त्रणका लागि स्वतन्त्र निकायहरूलाई प्रभावकारी बनाईनुपर्छ । राजनीतिक निर्णय प्रक्रियामा जनताको प्रत्यक्ष संलग्नता बढाउन प्रविधिको प्रयोग गर्न सकिन्छ ।
नेपालमा युवाहरूले राजनीतिबाट विमुख हुनु भनेको लोकतन्त्रकै लागि खतरा हो । राजनीतिलाई परिवर्तनको माध्यमका रूपमा हेर्नुपर्छ, बहिष्कारको विषय होइन । त्यसैले, युवा पुस्ताले चासो राख्नुपर्छ, भाग लिनुपर्छ, र सुधारको नेतृत्व गर्नुपर्छ । जब युवा शक्ति संगठित हुन्छ, तब मात्र सुशासन, समानता र समृद्धि सम्भव छ ।
भुल्नै नहुने कुरो हाम्रो लोकतान्त्रिक आन्दोलनमा अग्रजहरूको योगदान अतुलनीय छ । नेपालमा प्रजातन्त्र स्थापनादेखि हालसम्मका परिवर्तनहरूमा उनीहरूको संघर्ष, त्याग, र नेतृत्वले महत्वपूर्ण भूमिका खेलेको छ । २००७ सालको क्रान्तिमा नेपाली कांग्रेसका नेताहरू–विशेषगरी वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर लगायतका अग्रजहरूले ठूलो योगदान दिए । उनीहरूको नेतृत्वमा राणा शासनको अन्त्य भयो र नेपालमा प्रजातन्त्रको शुरुवात भयो ।
२०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूको संघर्ष महŒवपूर्ण रह्यो । उनीहरूको नेतृत्वमा नेपालमा बहुदलीय व्यवस्था पुनः स्थापित भयो । २०६२÷०६३ को जनआन्दोलनमा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, प्रचण्ड लगायतका नेताहरूले निर्णायक भूमिका खेले । यस आन्दोलनले राजतन्त्रको अन्त्य ग¥यो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको बाटो खुल्यो ।
लोकतान्त्रिक समाजवादको मार्गमा नेपाललाई अघि बढाउने अभियानमा विशेषगरी वीपी कोइरालाको विचारधारा मार्गदर्शक बन्यो । उनी लोकतन्त्र, समाजवाद र राष्ट्रियता (म्झयअचबअथ, क्यअष्बष्किm, ल्बतष्यलबष्किm)को त्रिसूत्रीय सिद्धान्तको प्रवर्तक थिए ।
हाम्रा अग्रजहरूको बलिदान र योगदानकै कारण हामी आज लोकतान्त्रिक व्यवस्थामा छौं भन्ने भुल्नु हुन्न । नयाँ पुस्ताले उनीहरूको सपना पूरा गर्दै लोकतान्त्रिक समाजवादलाई संस्थागत गर्न अझ सक्रिय हुनुपर्छ । अन्त्यमा, ‘हामीले राजनीति बहिष्कार ग¥यौं भने हामीमाथि अयोग्यहरूले शासन गर्छन् ।’ –प्लेटो
सुवेदी नेपाली कांग्रेस झापाका सूचना, सञ्चार तथा प्रचार संयोजक हुन् ।


























