क्षेत्राधिकार नमिच

0
19

पत्रकारले प्रश्न गरेकै कारण दुई जना पत्रकारको प्रेस पास निलम्बन गरेको विषय यतिबेला चर्चाको शिखरमा छ । पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीले गत फागुन ४ गते प्रतिनिधिसभाबाट बाहिरिँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए । प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासन उल्लंघन भएको भन्दै संघीय संसद सचिवालयले प्रश्न सोध्ने पत्रकारहरुको पास निलम्बन गरेको थियो । उक्त विषयले प्रतिनिधिसभाको नियमित बैठकमा पनि प्रवेश पायो । प्रतिपक्षी दलका सांसदहरुले सरकार निरंकुश हुँदै गएको भन्दै सरकारको आलोचना मात्र गरेनन् तत्काल निलम्बन फुकुवा गर्न माग गरेका छन् ।

संसद संचिवालयले पत्रकारलाई प्रतिनिधिसभाको अधिवेशनका विषयमा रिपोर्टिङ गर्न प्रवेश पास उपलब्ध गराउने गर्दछ । सोही प्रवेश पास महासचिव स्तरीय निर्णयबाट निलम्बन गरिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका थिए । पत्रकारहरुको प्रेस पास निलम्बनको विरोध गर्दै पत्रकारजन्य संगठनहरुले बिरोध जनाएका छन् । नेपाल पत्रकार महासंघले विज्ञप्ति मार्फत पत्रकारले आचारसंहिता उल्लंघन गरे÷नगरेको मापन गर्ने अधिकार प्रेस काउन्सिललाई भएको भन्दै क्षेत्राधिकार ख्याल गर्न संघीय संसद समक्ष आग्रह गरेको छ । त्यसैगरी अनलाइन टीभी पत्रकार संघले पनि प्रेस पास निलम्बनको बिरोध गरेको छ । संसद सचिवालयको यो कदम प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको र प्रश्न सोध्ने लोकतन्त्रको आधारभूत अधिकार भएको जनाएको छ । प्रश्नहरुलाई निषेध गर्ने प्रवृत्ति तानाशाही भएको भन्दै संघले निलम्बनको निर्णय फिर्ता लिन चेतावनी दिएको छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि प्रश्न सोधेकै आधारमा कारवाही गरिएको प्रति असहमति जनाएको छ । कांग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जहिल्यै दृढ रहेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन् । त्यसो त नेकपा एमाले र उसको भ्रातृ संगठन माथि आलोचना सहन गर्न नसक्ने आरोप लाग्ने गरेको छ । जसको उदाहरण खेल मैदानमा एमाले कार्यकर्ताले गरेको दुव्र्यवहारले पनि देखाएको छ । जुन विषय संघीय संसदमा पनि प्रकट भइसकेको छ । सरकारमा रहँदा अत्यन्त संयमित, शान्त र धीर हुन नसकिए जनतामा वितृष्णा बढ्ने खतरा रहन्छ । सबैले सधैँभरी आफ्नो प्रशंसा मात्र गरुन् भन्ने चाहना जनताप्रतिको सेवा र समर्पणले मात्र पूरा हुन्छ । सत्ताको उन्माद र दम्भले कसैलाई पनि चिरस्थायी बनाउँदैन । आलोचनाकै बीचबाट आफूलाई लोकप्रिय बनाउने अवसर पाइन्छ भन्ने राजनीति गर्नेहरुले अनुभूत गर्नैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here