बिर्तामोड ।
पराजुली समाज नेपाल झापाले श्रीमद् महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।
समाजले चैत २१ देखि २७ गतेसम्म धार्मिक तथा पर्यटकीय स्थल कनकाई–४ कोटीहोमस्थित समाजको भवनमा महायज्ञ आयोजना गर्ने भएको हो । पराजुली कैडिन्य पितृहरुको उद्धार तथा सम्पूर्ण सन्ततीहरुको कल्याणार्थ साथै विन्ध्यवासिनी मन्दिरमा अक्षयकोष स्थानापना गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।
चैत २१ गते कलश यात्रा, पूर्वाङग मण्डप पूजा एवं पाठ आरम्भहुने र २२ देखि २७ गतेसम्म प्रात ७ः०५ देखि ५ः०० बजेसम्म पूजा, आरती, बाल भोग विहान ९ः०५ देखि १०ः०५ बजेसम्म, पाठ पारायण तथा कथा आरम्भ विहान १०ः०५ देखि १२ः३० बजेसम्म, मध्यान्ह विश्राम १२ः३० बजेदेखि १ः३० सम्म, पाठ पारायण तथा कथा प्रवचन १ः३० देखि ३ः३० सम्म र साँझ ६ः०५ देखि ५ः०५ सम्म सन्ध्या आरती, महात्म्य पाठ तथा कथा प्रवचन, ज्ञान मन्च तथा भजनकीर्तन चैत २६ गते साँझ लक्ष्यदीप प्रज्वलन र चैत २७ गते हवन, पूर्णाहुति एवम् तिलकप्रसाद वितरण हुने पराजुली समाज नेपाल झापाका अध्यक्ष गणेश पराजुलीले जानकारी दिए ।
महायज्ञका प्रमुख वाचक पण्डित आचार्य पारसमणि पराजुली रहने छन् भने पं. दीपक गौतमबाट पाठपारायण हुने भएको अध्यक्ष पराजुलीले बताए । समाजले ६० वटा जिल्लाहरुमा समिति गठन गरिसकेको केन्द्रिय सदस्य काशीनाथ पराजुलीले जानकारी दिए । उनका अनुसार झापाका ६०० घरधुरी पराजुलीहरु रहेका र देशभर करिव १५ लाख जनसंख्या रहेको बताएका छन् ।
२०५७ साल फागुन २१ ग्ते स्थापना भएको समाजको झापा जिल्ला कार्य समिति २०५८ साल भदौंमा स्थापना भएको उनले बताए । यसअघि आयोजना गरिएको महापुराणबाट ६४ लाख संकलन गरी १२ लाख खर्च गरेर रहेको रकममा थपेर कोटीहोममा आफ्नै भवन निर्माण गरिएको बताइएको छ ।
यस बर्ष आयोजना गरिने महायज्ञबाट २५/३० लाख संकलन हुने र अनुमानित १२ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । खर्च गरी रहेको संकलित रकमबाट भवन सञ्चालनका लागि अक्षयकोष स्थापना गरिने अध्यक्ष गणेशले जानकारी दिए । उनका अनुसार महायज्ञमा ब्रतबन्ध, गून्यूचोलीलगायतका कार्यक्रम पनि गरिनेछ ।
पत्रकार सम्मेलनमा झापा कोषाध्यक्ष हरिहर पराजुली, झापा सदस्य चन्द्र पराजुली, नविन पराजुली, केशव पराजुली, लगायतको उपस्थिति रहेको थियो । स्वागत झापा सदस्य टंक पराजुलीले गरेको कार्यक्रमको सञ्चालन समाजको बिर्ताअर्जुन सल्लाहकार सदस्य प्रकाश पराजुलीले गरेका थिए । सोही कार्यक्रमकाबीच पराजुली समाज झापाले प्रकाशन गरेको भित्तेपात्रो बिमोचनसमेत गरिएको थियो ।