पथरीशनिश्चरेमा भूमि समस्या समाधान आयोग मोरङद्वारा अभिमुखीकरण

0
13

छविराज ढकाल
पथरीशनिश्चरे ।

पथरी शनिश्चरे नगरपालिकामा भूमि समस्या समाधान आयोग मोरङ्गको आयोजनामा एक दिवसीय भूमि समस्या समाधान आयोगका कार्यविधि तथा प्रक्रिया सम्बन्धी स्थानीय तहहरूको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार पथरी शनिश्चरे नगरपालिकासंग भूमि समस्या समाधान आयोग जिल्ला समिति मोरङको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा आयोजित उक्त कार्यक्रममा भूमि समस्या समाधान आयोग मोरङका प्रमुख नवीन पौडेलले निवर्तमान सुशीला घिमिरेको नेतृत्वमा रहेको यस अघिको भूमि आयोगले गरेका कार्यहरूलाई वर्तमान भूमि आयोगले पनि निरन्तरता दिंने र थप बाँकी कार्यहरूलाई सम्पादन गर्दै अगाडि बढ्ने बताउनुभएको छ।

उहाँले उक्त प्रयोजनका लागि केही दिन भित्रमा १ जना सर्वेक्षक र २ जना अमिनहरू पथरी शनिश्चरे, मिक्लाजुड , कानेपोखरी, जस्ता पालिकाहरूमा पठाउने तयारी भइरहेको उल्लेख गर्नुभयो। साथै , उहाँले आयोगले थालेका कार्यका लागि पथरी शनिश्चरे नगरभित्रका सबै राजनीतिक दल र पालिकाका जनप्रतिनिधिहरूले पनि निरन्तर सहयोग पुर्याउने विश्वास लिनुभएको थियो।

सोही क्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पथरी शनिश्चरे नगरभित्र इलामको चुलाचुली, झापाको बेलडांगी दुम्से, कोशी टप्पु जग्गा सम्बन्धीको सट्टा भर्ना , भूमिहीन दलित ,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको जग्गा सम्बन्धी थुप्रै समस्याहरु रहेको उल्लेख गर्नुभयो।

नगर प्रमुख तुम्बापोले पथरी शनिश्चरे नगरको वडा नं १ मा राष्ट्रिय वन सँग सम्बन्धित समस्या रहेको उल्लेख गर्नुभयो भने विशेष रूपमा वडा नं ३ ,४, ७ ,८, ९ र १० मा भूमि समस्या जटिल रहेको उल्लेख गर्नुभयो। उहाँले वडा नम्बर २, ५ र ६ मा पनि भूमिसम्बन्धी समस्या रहेको जनाउनुभयो। त्यस्तै, उहाँले सर्वोच्च अदालतद्वारा कतिपय पुर्जावालाहरूको पक्षमा फैसला भएको तर वर्षौंदेखि भोगचलन भने अर्कैले गर्दै आएको जग्गा सम्बन्धी पनि समस्या रहेको उल्लेख गर्नुभयो।

उक्त अवसरमा भूमि आयोगका कर्मचारी धीरेन्द्र यादव र कृष्णकुमार मण्डलले भूमि समस्या समाधान आयोगका कार्यविधि र प्रक्रियाबारे अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा भूमि समस्या समाधान आयोग मोरङ समितिका विज्ञ सदस्य विजय डाँगी तथा सदस्य गणेश खड्का , पथरिशनिश्चरे नगरपालिकाकी उप मेयर देवी माया काफ्ले, नगर प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष नवीन कार्की, वडाध्यक्षहरू क्रमशस् भीम कुमार राई, नैना राई, लोक नाथ न्यौपाने, उद्धवराज बस्नेत वीरबहादुर राई, जीवन खतिवडा , कार्यपालिका सदस्य वीरध्वज शिवा, लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here