चन्द्रगढी।
झापाको भद्रपुरमा लोकसेवा आयोग तयारी कक्षा शुरु भएको छ । भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले तयारी कक्षाको उदघाटन गरेका हुन् ।
विरेन्द्र माविको सभाहलमा भएको कार्यक्रममा भद्रपुर नगर क्षेत्र भित्रका २१ पुरुषसहित ६८ जनाको सहभागिता रहेको थियो भने सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले स्वागत गरेकी थिइन् ।
भद्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा नोभा फाउण्डेसन प्रालिको आयोजनामा भएको तयारी कक्षा दुई महिना अर्थात ६० दिन सम्म सञ्चालन हुने फाउन्डेसनका प्रवन्ध निर्देशक प्रकाश पराजुलीले बताए ।
फाउन्डेसनका प्रवन्ध निर्देशक पराजुलीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्य, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौलाको विषेश आतिथ्यमा सम्पन्न भएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौलाले लोक सेवा आयोग तयारी गर्ने विषयमा आफ्नो अनुभव सुनाएका थिए । सामाजिक विकास समिति प्रमुख सीता गुरागाइले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन अनिशा खनालले गरेकी थिइन् ।
यसैबीच गत वर्ष नोभा फाउण्डेशनले सन्चालन गरेको शिक्षक सेवा आयोगमा तयारी गरी नाम निकाल्न सफल दुई जना परीक्षार्थीहरु निर्मिता थापा र रुबि सहनीलार्इ सम्मान गरिएको थियो ।