रत्नबहादुर बस्नेत
बिर्तामोड ।
झापाको बिर्तामोड -१०स्थित सैनिकबजारमा वडा खेलकूद विकास समितिको आयोजनामा आगमी चैत २४ गतेदेखि ३१ गतेसम्म पाँचौं वडाध्यक्ष टोलस्तरीय फूटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
आयोजम १० नम्बर वडा खेलकूद विकास समितिद्वारा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराइएको हो। वडा खेलकूद विकास समितिका अध्यक्ष सुरेन्द्र तुम्रोकले फूटबल प्रतियोगिताको विजेताले नगद रु.३१ हजार र उपविजेताले नगद रु २१ हजार प्राप्त गर्नुको साथै दुवै टीमलाई मेडल, ट्रफी र सम्मानपत्रले सम्मान गरिने जानकारी दिए।
उनले वडाभित्र रहेका खेलाडीको खेल क्षमता विकास गरि राष्ट्रिय स्तरको खेलाडी उत्पादन र खेलक्षेत्रको विकासमा मद्दत पुर्याउने उद्देश्यले आयोजित खेलमा वडाभित्र रहेका २७ वटै टोलहरुमा केही टोलहरुलाई संयुक्त टीम बनाई ८ टीमको सहभागिता रहने बताए।खेल स्थानीय महेन्द्रज्योति माविको खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको खेल सञ्चालनका लागि अनुमानित लागत रकम रु. ५लाख ६० हजार रहने बताइएको छ।
त्यस्तै प्रतियोगिताको फाइनलको दिन आगमी चैत ३१ गते बिर्तामोड -१० का महिलाहरुको सहभागिता रहने खुल्ला महिला म्याराथन दौड प्रतियोगिताको सम्पन्न गरिने समेत आयोजक समितिले जानकारी गराएको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई क्रमशः ६ हजार, ४ हजार, २हजार ५ सय र १ हजार ५ सय र मेडल प्रदान गरिने बताइएको छ।
वडा खेलकूद विकास समितिका अध्यक्ष तुम्रोकको अध्यक्षता तथा वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि गुरुङ, वडा सदस्य पृथ्वी बस्नेत, निवर्तमान नगरपालिका कार्यपालिका सदस्य गीता घिमिरे, कालीमनि तोरीबारी टोलका प्रतिनिधि उद्धप घिमिरलगायतले बोलेका थिए।
कार्यक्रममा वडा सदस्य धनमाया श्रेष्ठ, पूर्व जनप्रतिनिधि,अर्जुन सिटौला, भक्तसिंह राजबंशी, बिर्तामोड नगर खेलकूद विकास समितिका उपाध्यक्ष सन्तोष गुरुङ, विभिन्न टोल विकास समितिका अध्यक्ष, खेलप्रेमीलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन सचिव नरेन तामाङले गरेका थिए।