झापा, इन्टरनेट सेवाप्रदायक कम्पनीहरु मध्ये नेपालको ठूलो कम्पनी हो वल्र्डलिङ्क । हालैमात्र दुई विधामा एसियन टेलिकम अवार्ड २०२५ समेत प्राप्त गरेको यो कम्पनीको सेवा अब १० लाख ग्राहकबीचमा पुगेको छ ।
१० लाख घर धुरीमा इन्टरनेट सेवा प्रवाह गर्न वल्र्डलिङ्क सफल भएसंगै इन्टरनेट प्रदायक कम्पनी मध्ये देशकै पहिलो सेवाप्रदायक कम्पनी बन्न सफल भएको हो । यसै अवसर पारेर कम्पनीले १० जना भाग्यशाली ग्राहकलाई आईफोन १६ उपहारस्वरूप प्रदान गर्ने घोषणा गरिसकेको छ ।
कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत ग्राहकहरूप्रति आभार व्यक्त गर्दै भनेको छ– ‘हामी हाम्रा अमूल्य ग्राहकहरूसँग यो अविस्मरणीय उपलब्धि मनाउन पाउँदा अत्यन्तै उत्साहित छौँ । सहरदेखि ग्रामीण भेगसम्म तपाईंहरूको विश्वासले नै हाम्रो यात्रा सम्भव भएको छ ।’
नेपाललाई डिजिटल रूपमा सबल बनाउने वल्र्डलिङ्कको लक्ष्य छ । कम्पनीले अगाडि भनेको छ, ‘हाम्रो उद्देश्य सधैंभरि सबैलाई, जहाँसुकै, जस्तोसुकै समयमा पनि इन्टरनेट सेवामा जोड्नु हो । १० लाख घरधुरीसम्म पुग्नु हाम्रो डिजिटल नेपाल निर्माण गर्ने संकल्पको एउटा महत्वपूर्ण कोशेढुंगा हो ।’
कम्पनीले आफ्ना ग्राहकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
करिब ३५ प्रतिशत ब्रोडब्यान्ड बजार हिस्सा ओगटेको कम्पनीले पाँच हजार बढीलाई रोजगारी दिएको छ । देशका १४ हजार बढी स्थानमा वल्र्डलिंकले निःशुल्क सार्वजनिक वाई–फाई उपलब्ध गराइरहेको छ । इन्टरनेट सेवासँगै समाजमा योगदान गर्ने विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि आयोजना भइरहेका छन् ।