झापा, झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालू १४ अर्ब ९७ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो निक्षेप आर्थिकको दोस्रो त्रयमास सम्मको हो ।
प्रादेशिक बैंकको रुपमा रहेको बैंकले कोशी प्रदेशका आठ जिल्लाका ४७ स्थानबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । सोमवार बिर्तामोडमा बैंकले १९ औँ वार्षिक साधारणसभा समेत सम्पन्न गरेको छ । साधारण सभाका अवसरमा सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको छैटौँ महिना पुस मसान्तसम्म बैंकले १२ अर्ब ९ करोड २६ लाख ५२ हजार रुपयाँ कर्जा लगानी गरेको उल्लेख छ ।
वैंक सञ्चालक समितिका अध्यक्ष गोयल र पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा उद्घाटन गरेको साधारणसभामा सञ्चालक सदस्य डक्टर रुपकप्रसाद खनालले स्वागत गरेका थिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत डक्टर इन्द्रकुमार कट्टेलले बैंकमा कर्जा असुली चुनौतिका रुपमा रहेकाले आक्रमक र संयमित भएर कर्जा असुली गर्नुपर्ने बताएका थिए । उनले बैंकमा दुई अर्ब रुपैयाँभन्दा बढी रकम तरलताका रुपमा थुप्रिएको बताए ।
कार्यक्रमको सञ्चालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष ढकाल, संस्थापक शेयरधनी सुरेशकुमार वंशलले बैंकका समस्याका बारेमा धारणा राख्दै उन्नति तथा प्रगतिका लागि शुभकामनासहितको मन्तव्य राखेका थिए ।