सहिद विश्वनाथ मार्ग: आजदेखि काँकरभिट्टाबाट कालोपत्रे

0
54

मेचीनगर।

मेचीनगर नगरपालिकाको गौरवको योजना सहिद विश्वनाथ मार्गको आजदेखि काँकरभिट्टाबाट कालोपत्रे गर्ने काम सुरु भएको छ ।

विश्व बैंकको आयोजना अन्तरगत नगरपालिकाले काँकरभिट्टाको भट्टराई चोक नजिकदेखि बाहुनडाँगी बजार सम्मको साढे ८ किलोमिटर सडकको आजदेखि कालोपत्रे गर्ने काम सुरु भएको हो ।
विगतको सूर्योदय मार्गलाई परिवर्तन गरी सहिद विश्वनाथ घिमिरेको नाममा सहिद विश्वनाथ मार्गको रुपमा सडक विस्तार गरिएको छ ।

मेचीनगरको दुई ठुला सडकमध्ये विश्वनाथ मार्गको ठेक्का कनकाई इन्टरनेशनल विल्डर्स प्रालिले लिएको छ । नगरपालिकाका ईन्जिनियर जीवन भट्टराईले गत बैशाखमा सम्झौता गरेर उक्त कम्पनीलाई ठेक्का दिएको बताए । आजदेखि कालोपत्रे गर्न सुरु गरिएको उनको भनाई छ । उनका अनुसार सुरुमा ८०० मिटर कालोपत्रे हुने छ । क्रमशः कालोपत्रे हुँदै जानेछ ।

ईन्जिनियर भट्टराईका अनुसार आगामी सन १५ जुलाई २०२५ मा सक्ने गरी सहिद विश्वनाथ मार्गको ठेक्का ३० करोड ८७ लाख ५७ हजार ९१८ रुपैयाँ २० पैसामा सम्झौता गरिएको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले काँकरभिट्टादेखि बाहुनडाँगीसम्म साढे आठ किलोमिटर ड्रेनसहित गुणस्तरीय सडक बन्ने बताए । उक्त सडक निर्माणका लागि स्थानीय नगरवासीले सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।

आजदेखि सुरु भएको कालापत्रे सडकको नगर प्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, ६ नम्बर वडाका वडा सदस्यहरु ध्रुबकुमार राई र भविन्द्रराज सुब्बाले अवलोकन गरेका छन् ।

यस्तै नगरपालिकाको गौरवको योजना विश्व बैंकको सहयोगमा सहिद विरेन मार्ग धुलाबारीदेखी मेचीनगर–९ को थोप्लेविरान सम्म चार दशमलव ८ किलोमिटर सडक निर्माण हुँदैछ ।

उक्त ठेक्का एनएनटी डेभलोपर भारतको पटना कम्पनीले करिव ८७ करोडमा लिएको छ । त्यहाँको पनि कालोपत्रे गर्न काम अन्तिम चरणमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here