झण्डै दुई तिहाईको सामथ्र्य भएको सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । सरकार वनेदेखि नै कुलमानलाई हटाउन सक्रिय प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्का अन्ततः सफल भए । विजुलीको अर्बौ बक्यौता उठाएरै छाड्ने अडान राखिरहेका कुलमान त्यही अपराध (!) का कारण चार महिना कार्यकाल बाँकी रहँदा बर्खास्त हुन पुगे । सरकारले ऊर्जा क्षेत्रका स्वार्थ समूह र बिचौलियाको इच्छा र प्रभावमा कुलमानलाई अपमानजनक ढंगले बर्खास्त गरेको भन्दै अहिले सत्तापक्ष, प्रतिपक्ष र सर्वसाधारणले आरोप लगाउँदैछन् । विचौलिया समूहको स्वार्थ पूरा गरिदिए वापत सर्वसाधारणले अँध्यारो त पाउलान् नै हटाउने शक्तिशाली सरकारले के पाउँछ, त्यो हेर्न आम जनता चाहिँ उत्सुक छन् ।
दिनको १८ घण्टा लोडसेडिङ व्यहोरेका सर्वसाधारणले उनलाई उज्यालोको नायकको उपाधि दिएका थिए । हुन पनि उनको पदस्थापनपछि लोडसेडिङ हटेको मात्र थिएन घाटामा रहेको प्राधिकरण नाफामा गएको थियो । अहिले त्यही लोडसेडिङ हटाउने, प्राधिकरणलाई नाफामा लैजाने र वक्यौता उठाएरै छाड्ने प्रतिबद्धता जनाउनु उनको क्षमा गर्न नसकिने अपराध सिद्ध भएको टिप्प्णी भइरहेको छ । लोडसेडिङका समय उद्योगीहरुले अविच्छिन्न विद्युत् सेवा उपयोग गरेका थिए । डेडिकेटेड र ट्रङ्क लाइनमार्फत उद्योगीले उपभोग गरेको बक्यौता आठ अर्बभन्दा बढी तिर्न बाँकी छ । राजनीतिक संरक्षणमा बक्यौता नतिर्ने लविइङ गरिरहेका उद्योगी र विचौलियाको सपना पूरा गरेर ऊर्जामन्त्री खड्काले गुन त लगाएकै छन्, त्यस बाहेक प्रधानमन्त्रीका इमान्दार सिपाही पनि बनिएका छन् ।
पटक–पटक स्पष्टीकरण सोधेर कुलमानको मनोबल गिराउन नसकेपछि सरकार अन्तिम हतियार चलाउन विवश भएको हुनुपर्छ । गठबन्धनका प्रमुख दुई दल एमाले र कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने केही मन्त्री बर्खास्त गर्नु अनुचित हुने बताएका सार्वजनिक भएका छन् । त्यस्तै कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले कार्वाहीको निर्णइ गलत भएको टिप्पणी गरेका छन् । ऊर्जा उद्यमी रहेका मन्त्री खड्का विवादमा छन् । सिंगो सरकार एउटा व्यक्तिको विरुद्धमा लाग्नुको कारण सरकारले खुलाउनुपर्छ । उनको अपराध अरु केही भए त्यो जान्ने र थाह पाउने अधिकार जनतालाई छ । कुलमानले देश र जनताविरुद्ध गरेका अपराधको विवरण नआउञ्जेल जनता उनलाई ‘उज्यालोको नायक’ नै मान्छन् । सरकारले काजी भीम मल्ल, भीमसेन थापाकै लहरमा राख्न नमिल्ने सावित गर्न सकेन भने उनीहरु सम्बद्ध दललाई भविष्यमा पनि पिरोल्ने छ ।